तमानखोला गाउँपालिकाले अभिभावकविहीनलाई पालन पोषणसहित निःशुल्क पढाउने

Read Time = 4 mins

डम्मर बुढा मगर

बागलुङ। बागलुङको तमानखोला गाउँपालिकाले पालिकामा बालगृह सञ्चालन गर्ने जनाएको छ । पालिकाले बाबाआमा नभएका अनाथ बालबालिका र अति विपन्न परिवारका बालबालिकालाई लालनपालन र कक्षा १२ सम्म निःशुल्क अध्ययनको व्यवस्था गर्ने गरी यस शैक्षिक सत्रदेखि त्यस्ता बालबालिकाको खोजी गरी बालगृह सञ्चालन गर्ने निर्णय गरेको हो ।

गाउँपालिकाले गाउँमा स्वास्थ्य सेवाको पहुँच बढाउन विपन्न तथा जेहेन्दार विद्यार्थीलाई एमबिबिएस पढाउने भएको छ । गाउँपालिकाको पहिलो कार्यपालिका बैठकले तमानखोलामा आयातित डाक्टर ल्याएर स्वास्थ्य उपचार गर्न असम्भव भएको भन्दै गाउँमै डाक्टर उत्पादन गर्ने लक्ष्यअनुरूप गाउँपालिकाका तीन माध्यमिक विद्यालयमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई तीन जनालाई निःशुल्क रूपमा गाउँपालिकाले एमबिबिएससम्म अध्ययन गराउने निर्णय गरेको छ । पालिकाले एक वर्षमा पालिकाभरबाट एकजना गरी आगामी तीन वर्षमा तीन विद्यार्थीलाई एमबिबिएस अध्ययन गराउने भएको हो ।

गाउँपालिकाले दुर्गम गाउँमा अधिकांश विपन्न परिवारका नागरिक रहेको भन्दै एमबिबिएस अध्ययन गराएर गाउँमै स्वास्थ्य सेवामा रोजगारी दिने उद्देश्यले तीन माध्यमिक विद्यालयमा उत्कृष्ट अंक ल्याउने तीन जनालाई निःशुल्क एमबिबिएस पढाउने तमानखोला गाउँपालिकाका नवर्निवाचित गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताउनुभयो । बुढा दोस्रो कार्यकालका लागि गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको छ । ‘दुर्गम गाउँ रहेको तमानमा सानैमा विद्यालय छोड्नेसमेत गरेको पाइन्छ, डाक्टर पढाइ गर्ने यहाँका नागरिकको सोचै हुँदैन, छोराछोरीलाई डाक्टर पढाउनुपर्छ भन्ने सन्देश दिनका लागि गाउँपालिकाले निःशुल्क एमबिबिएस पढाउने निर्णय गरेको छ’ बुढाले भन्नुभयो, ‘डाक्टर भइसकेपछि तमानखोलामै स्वास्थ्य सेवा दिनेगरी यो योजना ल्याएका हौँ ।’

बैठकले बेरोजगार युवालाई स्वरोजगार बनाउन जीविकोपार्जनका निम्ति गाउँपालिकाले सहयोग गर्ने भएको छ । पालिकाले बैंक र सहकारी संस्थासँग सहकार्य गरेर ऋण माग गर्ने र उद्यम गर्ने युवाले ऋण लगेबापतको ब्याज पालिकाले तिरिदिने गरी कार्यक्रम अगाडि सारेको छ । युवाहरूले गाउँमै उद्यम तथा कृषि उत्पादन गरी आत्मनिर्भर बन्न प्रोत्साहनस्वरूप ऋणको ब्याज गाउँपालिकाले तिरिदिने व्यवस्था गरेको अध्यक्ष बुढा मगरले बताउनुभयो । पालिकालाई उत्पादनसँग जोड्न र युवालाई गाउँमै आत्मनिर्भर बनाउनका निम्ति यस्तो अभियानको सुरुवात गरिएको हो ।

तमानखोला गाउँपालिको पहिलो बैठकले तमानखोला गाउँपालिकाको आफ्नै गानलाई समेत मान्यता दिएको छ । स्थानीय शिक्षक विमला पुन घर्तीले तयार पारेको गानलाई कार्यपालिका बैठकले मान्यता दिँदै तयार पारेको गानलाई संगीत भरेर गाउँपालिकाको गानको रूपमा गाउने निर्णय गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?