नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । नेपाल एसिसी महिला टी-२० क्रिकेट च्याम्पियनसिपको समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । समूहको अन्तिम खेलमा हङकङसँग सात विकेटले पराजित भएसँगै नेपाल समूह ‘बी’ को उपविजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेको हो ।

जितका लागि नेपालले दिएको ११० रनको विजयी लक्ष्य पछ्याएको हङकङले १५.५ ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य भेट्टाएको थियो । हङकङको जितमा प्रमुख ब्याटर मारिको हिलले ३२ बलमा नौ चौकासहित सर्वाधिक ४५ रन जोड्नुभयो । यस्तै बेल्ला पुन १० बलमा दुई चौकासहित नौ रन जोड्नुभयो ।

ओपनर पुन र हिलले तीन ओभरमा २८ रनको साझेदारी गर्दै हङकङलाई बलियो सुरुवात दिलाउनुभएको थियो । यस्तै दोस्रो विकेटका लागि नताशा मिल्स र हिलले ४३ रनको साझेदारी गरेपछि हङकङले जित सुनिश्चित गरेको थियो ।

मिल्स ३४ बलमा तीन चौकासहित २८ रनमा अविजित रहनुभयो । यस्तै कप्तान केरी चान १४ बलमा दुई चौकासहित १७ रन जोड्नुभयो । नेपालका लागि संगीता राईले दुई ओभरमा २० रन खर्चेर दुई विकेट तथा सीता रानामगरले एक विकेट हात पार्नुभयो ।

त्यसअघि मलेसियाको किनरारा ओभलमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०९ रन बनाएको थियो । नेपालकी कप्तान रुविना क्षेत्री बेलबासेले ३६ बलमा चार चौकासहित सर्वाधिक ३२ रन जोड्नुभयो । यस्तै ओपनर विन्दु रावलले २९ बलमा तीन चौकासहित २३ रन जोड्नुभएको थियो ।

सातौँ विकेटका लागि अप्सरी बेगम र रुविनाले ४४ रनको अविजित साझेदारी गर्दै नेपालको इनिङ्स उकास्नुभएको थियो । अप्सरी १६ बलमा दुई चौकासहित २२ रनमा अविजित रहनुभयो । नेपाललाई ओपनर सीता रानामगर र बिन्दु रावलले ३.४ ओभरमा १८ रन जोड्नुभएको थियो । सीता १० बलमा एक चौकासहित नौ रनमा आउट हुनुभयो ।

यस्तै इन्दु बर्माले १० बल खेल्दा खाता नै खोल्न सक्नुभएन, काजल श्रेष्ठ एक रनमा बोल्ड हुनुभयो । ममता चौधरी १० बलमा एक चौकासहित सात रनमा रन आउट हुनुभयो । त्यसबाहेक नेपालकी अलराउन्डर कविता जोशीले चार रन जोड्नुभयो । हङकङकी बेट्टी चानले चार ओभरमा १७ रन खर्चेर दुई विकेट लिनुभयो । एलिसा हब्र्बाडले चार ओभरमा २२ रन खर्चेर एक विकेट लिनुभयो । मर्याम बिबीले दुई ओभरमा १५ रन खर्चेर एक विकेट लिनुभयो ।

अंकतालिकामा नेपाल चार खेलमा ६ अंकका साथ समूह ‘बी’ को शीर्ष स्थानमा छ । हङकङ तीन खेलमा ६ अंकका साथ शीर्षस्थानमा छ । कुवेत तीन खेलमा तीन अंक जोड्दै तेस्रो स्थानमा छ । बहराइन तीन खेलमा दुईमा हारका साथ एक अंक जोड्दै चौथो र भुटान दुई खेलमा अंकविहीन हुँदै पुछारमा छ ।

युएई समूह ‘ए’ मा तीन खेलमा दुईमा जितका साथ पाँच अंक जोड्दै शीर्षस्थानमा छ । मलेसिया तीन खेलमा दुईमा जित र एकमा हारका साथ दोस्रो स्थानमा छ । कतार तीन खेलमा चार अंकका साथ तेस्रो स्थानमा छ । सिंगापुर चार खेलमा दुई अंकका साथ चौथो र ओमान तीन खेलमा एक अंकका साथ पुछारमा छ ।

अब असार १० गते सेमिफाइनल तथा असार ११ गते फाइनल खेलहरू हुनेछन् । समूह ‘बी’ मा रहेको नेपाल चार खेलमा ६ अंकका साथ दोस्रो स्थानमा छ । नेपालले भुटानलाई ५० रन, कुवेतलाई २५ रन र बहराइनलाई आठ विकेटले पराजित गरेको थियो । फाइनल पुग्ने दुई टोली एसिया कप महिला टी-२० क्रिकेट प्रतियोगिता खेल्न पाउनेछन् । जहाँ भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र थाइल्यान्ड हुनेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?