बजेटलाई लिएर संसद्मा सत्तापक्ष र प्रतिपक्षबीच जुहारी, बजेट कार्यान्वयन चुनौतीपूर्ण रहेको सांसदहरूको टिप्पणी

अनिल क्षेत्री
Read Time = 15 mins

काठमाडौं । गत आइतबार संसद्मा प्रस्तुत आर्थिक वर्ष २०७९/८० को बजेटमाथि प्रतिनिधिसभा र राष्ट्रियसभामा मंगलबारदेखि सैद्धान्तिक छलफल सुरु भएको छ । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको वार्षिक अनुमानित आयव्ययमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेपछि छलफल सुरु भएको हो ।

यस्तै, राष्ट्रियसभामा पनि मंगलबारदेखि नै आगामी आर्थिक वर्षको बजेटमाथि सैद्धान्तिक छलफल सुरु भएको छ । बजेटमाथिको छलफलको पहिलो दिन सत्तारूढ दल र प्रतिपक्ष दलका सांसदहरूबीच आरोप-प्रत्यारोप चलेको छ । सत्ता पक्षका सांसदहरूले बजेटको बचाउ गरेका छन् भने प्रतिपक्षका सांसदहरूले त्यसको चर्को विरोध गरेका छन् ।

यो बजेटले मुलुकको आर्थिक संकटमा थप जटिलता ल्याउँछ : पौडेल
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व-अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको लागि सरकारले ल्याएको बजेटले देशमा रहेको आर्थिक संकट अन्त्य गर्नुभन्दा पनि थप जटिलता थप्ने टिप्पणी गर्नुभएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा आर्थिक वर्ष २०७९÷०८० को राजस्व र व्ययको वार्षिक अनुमान माथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै पौडेलले बजेटले मुलुकको आर्थिक संकटलाई थप जटिल बनाउने टिप्पणी गर्नुभएको हो ।

बजेटले तीव्र गतिमा अत्याधुनिक विकास गरेर समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न नसक्ने जिकिर गर्दै पौडेलले सरकार राष्ट्रिय संकल्पबाट भागेको आरोपसमेत लगाउनुभयो । बजेटमा समग्रमा वित्तीय क्षमताभन्दा खर्च बढीको प्रस्ताव गरिएको, प्रस्ताव गरिएबमोजिम स्रोत जुट्ने आधार नरहेको दाबी गर्दै पौडेलले जनतालाई झुक्याउने गरी पूरा हुन नसक्ने आठ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य लिएको आरोप लगाउनुभयो ।

बजेट सपनाहरूले भरिएको, बजेटका प्रत्येक पाना तथा प्याराग्राफमा नारा मात्रै रहेको तर, अर्थतन्त्रका चुनौतीहरूलाई बेवास्ता गरेर सरकारले सस्तो लोकप्रियता आर्जन गर्न बजेट ल्याएको टिप्पणी गर्दै पौडेलले भन्नुभयो, ‘बजेट संकटमा पर्दै गएको अर्थतन्त्रलाई ठिक बाटोमा फर्काउन तत्काल चाल्नुपर्ने कदममा केन्द्रित हुनुपथ्र्यो । तर, विडम्बना अर्थतन्त्रका चुनौतीहरूलाई बेवास्ता गरिएको छ । सस्तो लोकप्रियताका लागि अनुकूल ठानिएका र बिना तयारी दीर्घकालीन प्रकृतिका योजनाहरूको चाङ लगाएको छ ।’

बजेटका प्राथमिकताहरू ठिक छन् : डा. रिजाल
नेपाली कांग्रेसका नेता एवं सांसद डा. मीनेन्द्र रिजालले पदीय भूमिका बदलिनेबित्तिकै अर्थतन्त्रका विषयमा गर्ने कुरामा आकाश र जमिनको भिन्नता नगर्न एमालेका उपाध्यक्ष तथा पूर्व-अर्थमन्त्री विष्णु पौडेललाई सुझाव दिनुभएको छ । आगामी आर्थिक वर्षको बजेटमाथि सामान्य छलफलमा सहभागी हुँदै डा. रिजालले विगतमा आफू मन्त्री पदमा हुँदा कस्ता कुरा र अंक राखेको थिएँ भनेर स्मरण गर्न पूर्व-अर्थमन्त्री विष्णु पौडेललाई सुझाव दिँदै भन्नुभयो, ‘पोहोर साल उहाँले बजेटको विवरण संसद् होइन संसद्बाहिर प्रस्तुत गर्दा आज बोलेकै कुरा सम्झिएर प्रस्तुत गरेको भए कति राम्रो हुने थियो । उहाँले त्यसबेला अर्थतन्त्र ६.५ प्रतिशतले वृद्धि हुनेछ भन्नुभयो । कोभिडले मुलुक थलिएको थियो । खोप लगाउन सुरु पनि गरिएको थिएन । आज आठ प्रतिशत भन्दाखेरि उहाँलाई अचम्म लाग्यो ? ६.५ प्रतिशतले मुद्रास्फ्रिति हुन्छ भन्नुभएको थियो, आज सात प्रतिशतले हुन्छ भन्दाखेरि उहाँलाई त्यतिले पनि पुग्दैन भन्ने लागेको छ । म यत्ति भन्छु, भूमिका बदलिएको छ । भूमिका बदलिएको छ भन्नेबित्तिकै हामीले भन्ने कुरा आकाश र जमिनले फरक हुनुहुँदैन ।’
नेता डा. रिजालले गठबन्धन सरकारले ल्याएको बजेटको मूल दिशा ठिक रहेको दाबी गर्दै भन्नुभयो, ‘बजेटको मूल दिशा ठिक छ । यो अवस्थामा योभन्दा पृथक् बजेट आउने अवस्था थिएन । बजेटका प्राथमिकताहरू ठिक छन् । कमसेकम यो बजेट संसद्भित्रबाट आएको छ । अघिल्लो वर्ष संसद्लाई छलेर बजेट ल्याउने साथीहरू धेरै आक्रामक हुन जरुरी छैन ।’

कृषिमा ३२ प्रतिशत बजेट वृद्धि क्रान्तिकारी छलाङ हो : पुन
सत्तारूढ दल नेकपा माओवादी केन्द्रका नेता एवं पूर्व-अर्थमन्त्री वर्षमान पुनले कृषिको बजेटमा ३२ प्रतिशतले वृद्धि हुनु उल्लेखनीय रहेको बताउनुभएको छ । सरकारको आगामी आर्थिक वर्षको बजेटमाथि सामान्य छलफलमा सहभागी पुनले कृषिमा गरिएको बजेट वृद्धिलाई क्रान्तिकारी छलाङको संज्ञा दिँदै भन्नुभयो, ‘वर्षभरि काम गर्ने तर खान नपुग्ने अवस्थालाई अन्त्य गर्नको लागि कृषि क्षेत्रको आधुनिकीकरणको कार्यक्रम आएको छ । कृषि क्षेत्रलाई वैज्ञानिकीकरण, उत्पादन र उत्पादकत्व वृद्धि गरी व्यवसायीकरण गर्दै संघ, प्रदेश र स्थानीय तहले जिम्मामा लिने विषय आएको छ । कृषिको संरचनागत रूपान्तरणको दिशा समातेको छ । कृषिमा ३२ प्रतिशत बजेट वृद्धि भएको छ, यो क्रान्तिकारी छलाङ नै हो ।’

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र पूर्व-अर्थमन्त्री विष्णु पौडेलले बजेटलाई चुनाव केन्द्रित र गठबन्धनको घोषणापत्र भनेर गरेको आलोचनाको जवाफ दिँदै पुनले भन्नुभयो, ‘गठबन्धनको घोषणापत्र हो भने कर्मचारी, सेना, प्रहरी सबै गठबन्धनका मान्छे भए, यसरी नै बुझ्ने ? झण्डै १२ लाख ज्येष्ठ नागरिक हाम्रा मान्छे भए, हामीले यसरी बुझ्नुपर्ने ? यो चुनावी घोषणापत्र र छरेको मात्रै भयो ? पाँच खर्बको कोष बनाएर किसानलाई राहत दिने, किसान पेन्सन छ, यी सबै किसान गठबन्धनका हुने भए ?’

कमिसन नआउने भएर शिक्षा र स्वास्थ्यमा बजेट घटाउनुभएको हो ? : भट्टराई
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचिव योगेश भट्टराईले कमिसन नआउने भएर शिक्षा र स्वास्थ्य क्षेत्रको बजेट कटौती गरेको हो भन्दै अर्थमन्त्री जनार्दन शर्मालाई प्रश्न गर्नुभएको छ । आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा मंगलबार भाग लिँदै सांसद भट्टराईले भन्नुभयो, ‘आज उहाँ स्वयंले अर्थमन्त्रीको रूपमा यहाँ बजेट प्रस्तुत गर्नुभएको छ । शिक्षामा उहाँले कुनै उल्लेख्य बजेट राख्नुभएको छैन । २० प्रतिशतको कुरै छोडौँ । १० प्रतिशतको हाराहारी पनि पुगेको छैन । स्वास्थ्यको स्थिति हेर्ने हो भने गएको वर्षभन्दा बजेट घटाइएको छ । अब म अर्थमन्त्रीजीलाई नै सोध्न चाहन्छु, के साँच्चै कमिसन नआउने भएर शिक्षा, स्वास्थ्य जस्तो क्षेत्रमा बजेट कटौती गर्नुभएको हो त ?’

बजेट २०४८ सालपछिकै उत्कृष्ट छ : विनोद चौधरी
नेपाली कांग्रेसका सांसद एवं उद्योगपति विनोद चौधरीले आगामी आर्थिक वर्षको बजेट २०४८ सालपछिको सबैभन्दा उत्कृष्ट भएको जिकिर गर्नुभएको छ । मंगलबार संसद्मा बजेटमाथिको छलफलमा भाग लिँदै बजेटलाई विकासको प्रस्थान विन्दुको रूपमा चित्रण गर्नुभएका चौधरीले भन्नुभयो, ‘पटक–पटकको हचुवा प्रयोगका कारण भत्किएको विकासको संरचना र त्यसलाई परिवर्तन ल्याउनका लागि एउटा अत्यन्त दूरगामी सोच भएको एउटा नयाँ दृष्टिकोण र एउटा नयाँ दृढता र एउटा प्रस्थान विन्दुको रूपमा देख्छु म यो बजेट । यो बजेट २०४८ सालपछि राज्यले कुरेर बसेको सेकेण्ड जेनेरेसनको रिफर्म बजेट हो यो ।’

आगामी आर्थिक वर्षको बजेट सन्तोषजनक : चौधरी
नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट सन्तोषजनक रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद चौधरीले बजेटले नेपाली समाजको सबै क्षेत्रलाई समेटेर ल्याएकाले यो धेरै महत्वपूर्ण रहेको दाबी गर्नुभयो ।

आगामी निर्वाचनलाई लक्षित गरी कार्यकर्ता केन्द्रित बजेट : झा
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद अनिलकुमार झाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेट वितरणमुखी भएको टिप्पणी गर्नुभएको छ । प्रतिनिधिसभा बैठकमा बजेटमाथिको सैद्धान्तिक छलफलमा बोल्दै सांसद झाले आगामी संघ र प्रदेशको निर्वाचनका लागि कार्यकर्तालाई केन्द्रित गरेर बजेट ल्याइएको टिप्पणी गर्नुभयो ।

राष्ट्रियसभामा पनि बजेटमाथिको छलफल सुरु
राष्ट्रियसभाको मंगलबारको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सुरु भएको सैद्धान्तिक छलफलमा प्रतिपक्ष दल नेकपा एमालेका सांसद खिमलाल भट्टराईले सरकारले ल्याएको ठूलो आकारको बजेटले जनतालाई सपना मात्र देखाएको टिप्पणी गर्नुभएको छ ।

सत्तारूढ दल नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले बजेटले कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, रोजगारीलगायत विषयलाई प्राथमिकता दिएको जनाउँदै कार्यान्वयनमा सहयोग गर्न आग्रह गर्नुभयो ।

सत्तारूढ दल नेकपा माओवादी केन्द्रकी सांसद उर्मिला अर्यालले मुलुकभित्र बढ्दो हवाई दुर्घटना नियन्त्रण तथा हवाई उडानलाई व्यवस्थित र सुरक्षित बनाउन सरोकारवालाको ध्यानाकर्षण गराउनुभयो ।

नेकपा एकीकृत समाजवादीकी सांसद जयन्तीदेवी राईले बजेट निरन्तरतामुखी भएको बताउँदै नीतिगत भ्रष्टाचारको अन्त्य, मूल्यवृद्धि नियन्त्रण गर्ने गरी बजेट आउन नसकेको टिप्पणी गर्नुभयो ।

नारायणकाजीको प्रश्नः ‘एमसिसी खारेज भएको हो ?’
सत्तारूढ दल नेकपा माओवादी केन्द्रका राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले एमसिसी पास गर्ने क्रममा संसद्ले पास गरेको १२ बुँदे व्याख्यात्मक घोषणाबारे अमेरिकाले एक शब्द नबोलेको बताउनुभयो । आगामी आर्थिक वर्ष २०७९÷०८० को बजेटमाथि मंगलबारदेखि राष्ट्रियसभामा सुरु छलफलमा भाग लिँदै श्रेष्ठले १२ बुँदे व्याख्यात्मक घोषणामा अमेरिकाले सहमति नजनाए स्वतः खारेज हुने उल्लेख रहेको जिकिर गर्दै भन्नुभयो, ‘अमेरिकाले अहिलेसम्म १२ बुँदे व्याख्यात्मक घोषणाको बारेमा एक शब्द बोलेको छैन । त्यसकारणले यो एमसिसी खारेज भएको अर्थमा बुझेर अर्थमन्त्रीले यसरी आफैँले गर्ने प्रस्ताव राख्नुभएको हो भने मेरो व्यक्तिगत तर्फबाट अर्थमन्त्री र सरकारलाई धन्यवाद छ । तर, यो के हो प्रष्ट हुनुपर्छ ।’

प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिनका लागि सभामुख अग्निप्रसाद सापकोटाले जेठ १७, १८ र १९ गतेको लागि समय तोक्नुभएको छ । यस्तै, राष्ट्रियसभामा बजेटमाथिको सैद्धान्तिक छलफल र त्यसमा उठेका प्रश्नको जवाफका लागि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जेठ १७ र १८ गतेलाई समय तोक्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?