जुन उद्देश्यका लागि गठबन्धन बनेको थियो, त्यो उद्देश्य प्राप्त भएको छ : प्रचण्ड

Read Time = 3 mins

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशका १२२ स्थानीय तहमा पार्टीले प्राप्त गरेको जितले माओवादीलाई राष्ट्रिय राजनीतिमा निर्णायक शक्तिको रूपमा स्थापित गरेको दाबी गर्नुभयो । उहाँका अनुसार माओवादी पार्टी निर्वाचनबाट प्रभावशाली बनेको छ ।

‘हामी १२२ (स्थानीय तह)मा छौं । १२२ त्यस्तो १२२ हो, जो राजनीतिलाई प्रभावित पार्न सक्ने, देशलाई कता मोड्ने हो त्यतै मोड्नसक्ने तागतसहितको तेस्रो छौं हामी’, प्रचण्डले पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिने क्रममा बुधबार भन्नुभयो ।

उहाँले अलिक मिहेनत गर्न समय भएको भए र २०७४ सालमा मधेस र पहाडमा जितेका स्थानीय हार्ने स्थिति नभएको भए माओवादी दोस्रो दल हुने पनि बताउनु भयो।

पार्टी नेतृत्वको तहबाट आफूले पार्टीलाई दोस्रो दल बनाउन चाहेको उहाँको भनाइ छ ।

तर, गठबन्धन अपेक्षा गरेजस्तो नबन्नु र गाउँ/नगरपालिकामा भने माओवादी बलियो भएको ठाउँमा गठबन्धन नै नभएजस्तो भएको बताउनु भयो ।

‘तल (गाउँ/नगरपालिकामा) गएपछि त झण्डैझण्डै गठबन्धन नरहेको देखियो । जहाँ हामी बलियो छौं, त्यहाँ के कांग्रेस, के एमाले के विप्लव ? के–के सबै .. । गठबन्धनमा भएका पनि सबै । गठबन्धनमा नभएका पनि सबै मिलेर माओवादीलाई हराउने प्रयास गरियो’, उहाँले भन्नुभयो, ‘रोल्पा, कालिकोट, अरु पनि थुप्रै ठाउँमा । तर, पनि ती ठाउँहरूमा हामीलाई नै जनताले भरोसा गरे ।’

यद्यपि, प्रचण्डले गठबन्धन पूरै असफल भयो भन्न नचाहेको बताउनु भयाे । एमालेलाई पहिलो हुनबाट छेक्ने उद्देश्य पूरा भएको सङ्केत गर्दै  प्रचण्ड भन्नुभयो, ‘जुन उद्देश्यका लागि गठबन्धन बनेको थियो, त्यो उद्देश्य प्राप्त भएको छ ।’

अब हुने प्रदेश र सङ्घीय निर्वाचनमा भने गठबन्धनभित्र माओवादीको स्वरुप बदल्नुपर्ने बताउनु भयो । माओवादी यसअघि अलिक बढी उद्धार र अलिक बढी गठबन्धनप्रति भरोसा गर्ने दल बनेको प्रचण्डले बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?