निशान र चन्द्रमालाई स्वर्ण

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । निशान थापा र चन्द्रमा थापा क्षेत्री पारा राष्ट्रिय खेलकुदअन्तर्गत उपत्यकाव्यापी पारा एथलेटिक्स प्रतियोगिताको होचा पुड्कातर्फ पहिलो हुनुभएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगितामा निशान पुरुष २ सय मिटर दौडमा पहिलो हुनुभएको छ । देवराज घिमिरे दोस्रो तथा मानबहादुर श्रेष्ठ तेस्रो हुनुभयो । चन्द्रमाले महिला १ सय मिटर दौडमा शीर्षस्थान हात पार्नुभयो । सिर्जना सेञ्चुरी दोस्रो तथा छोरीमाया थापा तेस्रो बन्नुभयो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा नेपाल पारा एथलेटिक्स संघको तत्वावधानमा सञ्चालित प्रतियोगिताको बहिरातर्फ महिला २ सय मिटर दौडमा जयन्ती विष्टले स्वर्ण, पूजा बास्तोलाले रजत र हिरामाया घलेले कास्य जित्नुभयो ।

सो स्पर्धाको पुरुषमा अजय कर्ण, सौगात पोखरेल र उर्गेन गुरुङ क्रमशः शीर्ष तीन स्थानमा रहनुभयो । पुरुष ४ सय मिटर दौडमा पनि अजयले स्वर्ण जित्नुभयो । उर्गेन दोस्रो तथा अनिश खड्का तेस्रो बन्नुभयो । उक्त स्पर्धाको महिलामा हिरामायाले पहिलो स्थान हात पार्दै व्यक्तिगत दोहोरो स्वर्ण चुम्नुभयो । विनिता थापा दोस्रो तथा सविता देउला तेस्रो हुनुभयो ।

हिृवलचेयरको पुरुष १ सय मिटर दौडमा विराट भट्ट प्रथम, रिले तामाङ द्वितीय र होमनाथ राई तृतीय हुनुभयो । सो स्पर्धाको महिलामा नरकुमारी कार्की पहिलो, कुमारी मगर दोस्रो र ईश्वरी न्यौपाने तेस्रो हुनुभयो ।

हिृवलचेयरकै पुरुष ज्याभ्लिन थ्रोमा श्यामबहादुर रावलले स्वर्ण, रिले तामाङ दोस्रो तथा गिरिराज थापा तेस्रो हुनुभयो । त्यसै स्पर्धाको महिलामा विमला खनाल पहिलो, कुमारी मगर दोस्रो र मनमाया भण्डारी तेस्रो हुनुभयो ।

आंशिक दृष्टिविहीनको पुरुष २ सय मिटर दौडमा दयाराम नारायण चौधरी पहिलो, हेम थापा दोस्रो र विपिन वस्ती तेस्रो बन्नुभयो । सो स्पर्धाको महिलामा सरिता घिमिरे पहिलो, कृष्ण ढुंगाना दोस्रो र रचना पराजुली तेस्रो हुनुभयो ।

पूर्ण दृष्टिविहीनको पुरुष २ सय मिटर दौडमा सन्तोष साउद पहिलो, रत्नबहादुर राई दोस्रो तथा सौगात बगाले तेस्रो हुनुभयो । उक्त स्पर्धाको महिलामा सुनिता नेपालीले स्वर्ण, संगीता घलेले रजत र रोजनी थापा मगरले कास्य जित्नुभयो ।

विजेतालाई राखेपका सदस्य-सचिव टंकलाल घिसिङ, नेपाल पारा ओलम्पिक कमिटीका अध्यक्ष दीपक कोइराला, खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्मालगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो ।

हरेक स्पर्धाका विजेतालाई एक हजार, दोस्रोलाई सात सय र तेस्रोलाई पाँच सय नगद पुरस्कार प्रदान गरियो । एकदिने प्रतियोगितामा ७४ खेलाडी सहभागी थिए । विभिन्न १२ खेल समावेश पारा राष्ट्रिय खेलकुदअन्तर्गत पारा एथलेटिक्ससहित ११ खेल सम्पन्न भइसकेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?