संसदमा गंगा चौधरीको प्रश्न: ५२ जिल्लाका महिलाले विवाहअघि नै स्थायी बन्ध्याकरण गर्छन् ?

Read Time = 2 mins

काठमाडौं । एमालेकी सांसद गंगा चौधरीले सरकारले स्वास्थ्य सेवा प्रदानमा विभेद गरिएको भन्दै आपत्ति जनाउनु भएको छ ।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उहाँले केही जिल्लाका लागि मात्र सीमित रोगी र सुत्केरीलाई भत्ता उपलब्ध गराउने कार्यक्रमले विभेद गरेको भन्दै आपत्ति जनाउनु भयो ।

जटिल रोगका बिरामीलाई दिइने पाँच हजारभत्ताले औषधि किन्न पनि नपुग्ने भन्दै उहाँले आफू सिकलसेल एनिमियाको रोगी रहेको दैनिक एक हजार रुपैयाँको औषधि खानेको गरेको जानकारी दिनुभयो ।

तर, गरिब तथा निम्न आय भएका सिकलसेल एनिमियाका रोगीले औषधि पनि खान नसक्ने अवस्था रहेको बताउँदै भन्नुभयो ‘क्यान्सर र मिर्गौला रोगीलाई मासिक पाँच हजार दिन अब बन्द गर्नुस् । भीआईपीले पाउने उपचार खर्च गरिब जनतालाई दिनुस् । तपाईंहरुले ३० लाख खर्च गरेर मिर्गौला प्रत्यारोपण र डायलासिस गर्ने, अनि गरिब जनतालाई पाँच हजारले ललिपप देखाउन खोजेको हो ?’

२५ जिल्लामा सुत्केरी भत्ता दिने सरकारको कार्यक्रमले पनि जनतालाई विभेद गरेको भन्दै उहाँले बाँकी ५२ जिल्लाका महिला विवाहअघि बन्ध्याकरण गरेका हुन्छन् वा उनीहरुले बच्चा नै जन्माउनु नपर्ने हो भन्दै प्रश्न गर्नुभयो ।

‘५२ जिल्लाका दिदीबहिनीहरुले विवाहअघि स्थायी बन्ध्याकरण गरेर विवाह गर्छन् ?, तिनीहरुले बच्चा जन्माउनु पर्दैन ? ५२ जिल्लामा गरिब, विपन्न महिला छैनन् ?, विभेदकारी तपाइँहरुको समाजवाद यही हो ?,’ चौधरीले प्रश्न गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?