फोहर व्यवस्थापनमा महानगरसँग सहकार्य गर्न सधैँ तयार छु : मन्त्री झाँक्री

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बन्चरेडाँडा ल्यान्डफिल्ड साइटमा वैज्ञानिक तरिकाले फोहर व्यवस्थापन गरिने बताउनुभएको छ । काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनका लागि प्रतिबद्ध भएर काम गरिरहेको बताउँदै उहाँले बन्चरेडाँडामा वैज्ञानिक तरिकाले फोहोर व्यवस्थापन हुने बताउनुभएको हो ।

बुधवार काठमाडौं महानगरपालिकाका नवनियुक्त प्रमुख बालेन्द्र साह र उपप्रमुख सुनिता डंगोललाई मन्त्रालयमा बधाई दिँदै मन्त्री झाँक्रीले काठमाडौंको फोहर व्यवस्थापनका लागि महानगरसँग सहकार्य गर्न सधैँ तयार रहेको समेत बताउनुभयो ।

उहाँले काठमाडौं महानगरपालिकाभित्र युटिलिटी करिडोर निर्माणको काम समेत मन्त्रालयले गर्न लागेकाले सहकार्य आवश्यक रहेको बताउनुभयो ।

काठमाडौं महानगरपालिकाका प्रमुख साहले बन्चरेडाँडामा ल्यान्डफिल्ड साइटमा फोहर विसर्जनका लागि मन्त्रालयसँग सहयोग गर्नुपर्ने भन्दै यस विषयमा मन्त्रालयले गरेका प्रतिबद्धता शतप्रतिशत कार्यान्वयन गर्न अनुरोध गर्नुभयो ।

यस्तै उहाँले काठमाडौंको फोहर बन्चरेडाँडामा तत्काल कसरी विसर्जन गर्ने भन्ने विषयमा स्थानीयवासीलाई सहमत गर्न सकिन्छ भन्ने विषयमा पनि सहजीकरण गरिदिनसमेत आग्रह गर्नुभयो ।

कार्यक्रममा बन्चरेडाँडा ल्यान्डफिल्ड साइटका आयोजना प्रमुख रबीन्द्र बोहराले बन्चरेडाँडामा तत्काल फोहर व्यवस्थापन गर्न सकिने गरी काम सम्पन्न भइसकेको जानकारी दिनुभयो । उहाँले बन्चरेडाँडाको दीर्घकालीन र वैज्ञानिक फोहर व्यवस्थापनका लागि घरघरमै फोहर वर्गीकरण गरेर संकलन गर्न आवश्यक रहेको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?