इस्माली जनताको इच्छा : निःशुल्क शिक्षा

हिमालय टाइम्स
Read Time = 5 mins

गुल्मी । गुल्मीको इस्मा गाउँपालिकाले गाउँ कार्यपालिकाको पहिलो बैठकमार्फत् विभिन्न विषयगत समिति गठन गरेको छ । बैठकमा गाउँपालिकाका आमजनताको मनोभावना बुझेर विभिन्न महत्वपूर्ण निर्णय गरिएको गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले बताउनुभयो । गाउँपालिकामा टपरी उद्योग स्थापना गर्ने बताउँदै अध्यक्ष खड्काले भन्नुभयो, ‘कक्षा १२ सम्म निःशुल्क शिक्षा प्रदान गर्नेछौँ । स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ताको व्यवस्था गर्नेछौँ ।’ अध्यक्ष खड्काले प्रत्येक वडामा विद्युत् र खानेपानीलाई व्यवस्थित गर्नका लागि कर्मचारीसमेत खटाइने र कृषि तथा पशु सेवा केन्द्र स्थापना गर्ने बताउनुभयो ।

साथै विपद् न्यूनीकरणका लागि पूर्वतयारीसम्बन्धी महत्वपूर्ण निर्णयहरू गरिएको अध्यक्ष खड्काको भनाइ छ । उहाँका अनुसार सडक÷कुलो मर्मतका लागि लेन्थवर्करको व्यवस्था गरिने निर्णय भएको छ । ‘शीघ्र सेवा : तीव्र विकास’ अनुसार सेवा प्रवाहमा नागरिकको सहजताका लागि कार्यालयमा सहायता कक्ष स्थापना गरिनेछ । कर्मचारी पदपूर्तिका लागि पनि छिट्टै विज्ञापन गर्ने उहाँले बताउनुभयो । गाउँपालिकाले हस्तिचौरमा प्रहरीचौकी निर्माणका लागि सिफारिस गर्ने निर्णयसमेत गरेको छ । गाउँपालिका उपाध्यक्ष पार्वती कुँवरलाई प्रवक्ताको जिम्मेवारी प्रदान गरिएको छ ।

यसपटक गाउँपालिकामा न्यायिक इजलासको स्थापना गर्ने निर्णयसमेत भएको अधिवक्ता समेत रहनुभएकी गाउँपालिका उपाध्यक्ष कुँवरले बताउनुभयो । उहाँले न्यायका लागि गाउँपालिकामा आउने सर्वसाधारणसँग बसेर कुरा गर्नेसमेत ठाउँ नभएकाले न्यायिक इजलासको स्थापना गर्ने निर्णय गरिएको बताउनुभयो ।

गाउँपालिकाको संस्थागत विकास, सेवा प्रवाह र सुशासन समितिको संयोजकमा कार्यपालिका सदस्य राजु बस्नेत र सदस्यहरूमा धनबहादुर कुँवर, रेनुका सारु रहनुभएको छ । विधेयक समिति संयोजकमा कार्यपालिका सदस्य वसन्त सुनार र सदस्यहरूमा टिका कुँवर र सुनिता बिक रहनुभएको छ । त्यस्तै, आर्थिक विकास समितिको संयोजकमा १ नं. वडाका अध्यक्ष शेरबहादुर कुँवर र सदस्यहरूमा देविराम घिमिरे, खगिश्वरा पोखरेल रहनुभएको छ । सामाजिक विकास समितिको संयोजकमा ६ नं. वडाका अध्यक्ष ढालबहादुर कुँवर र सदस्यहरूमा चित्रकला सुनार, वसन्त घर्ती रहनुभएको छ ।

पूर्वाधार विकास समितिको संयोजकमा ५ नं. वडाका अध्यक्ष झविन्द्र अर्याल र सदस्यहरूमा गोपाल बिक, रेनुका विष्ट रहनुभएको छ । साथै वातावरण तथा विपद् व्यवस्थापन समितिको संयोजकमा २ नं. वडाका अध्यक्ष लोकनाथ आचार्य र सदस्यहरूमा जंगबहादुर खत्री र नरमाया बिक रहनुभएको छ ।

त्यस्तै, गाउँपालिकाको न्यायिक समितिको संयोजकमा गाउँपालिका उपाध्यक्ष पार्वती कुँवर संयोजक र सदस्यहरूमा शेरबहादुर कुँवर, ढालबहादुर कुँवर रहनुभएको छ । त्यस्तै, राजस्व परामर्श समितिको संयोजकमा पनि गाउँपालिका उपाध्यक्ष पार्वती कुँवर र सदस्यहरूमा झविन्द्र अर्याल र रेनुका बिष्ट रहनुभएको छ । स्रोत अनुमान समितिको संयोजकमा गाउँपालिका अध्यक्ष भगत सिंह खड्का र सदस्यहरूमा पार्वती कुँवर, डोलबहादुर सार्की, शेरबहादुर कुँवर, ढालबहादुर कुँवर, लोकनाथ आचार्य रहनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?