भोट हाल्न खोटाङ हिँडेकी वृद्धाको बाटैमा हत्या, नातीविरुद्ध जाहेरी

Read Time = 4 mins

खोटाङ । मतदानका लागि शहरबाट गाउँ लैजाने क्रममा हजुरमाको बाटैमा हत्या गरेको भन्दै नातीविरुद्ध कर्तव्य ज्यान सम्बन्धी किटानी जाहेरी दर्ता भएको छ ।

खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानी घर भइ हाल इटहरी उपमहानगरपालिका–१६ बालग्रामचोक बस्दैआएकी ७७ वर्षकी तुलसा खड्कालाई मतदान गर्नका लागि गाउँ लैजाने क्रममा बाटैमा हत्या गरेको भन्दै बिरुद्ध कर्तव्य ज्यान सम्वन्धी किटानीमुद्दा दर्ता भएको हो।

अभियुक्तविरुद्ध कर्तव्य ज्यान सम्बन्धी किटानी जाहेरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताउनु भयो ।

३० वैशाखको स्थानीय तहको निर्वाचनमा मतदान गर्न भन्दै वृद्धा गत २६ बैसाखमा नातीसँग सुनसरीबाट खोटाङतर्फ हिँड्नुभएको थियो । प्रहरीका अनुसार उहाँको बुधबार मात्र सनाखत भएको हो । गाउँ हिँडेकै दिनदेखि वृद्धा बेपत्ता बनेको भतिजेनी लक्ष्मी खड्काले बताउनु भयो ।

बृद्धाको शव ३१ बैशाखमा खोटाङको बराहपोखरी गाउँपालिका–५ पौवासेरामा सुनकोसी नदी किनारमा भेटिएको थियो । बेवारिसे अवस्थामा भेटिएको शवलाई प्रहरीले उठाएर उदयपुरको बेलटारमा लगेर पोष्टमार्टम गरेको थियो । तर पोष्टमार्टमपछि पनि आफन्त सोधीखोजीमा नपुगेपछि बेवारिसे बनेको शवको २ जेठमा सदगद गरिएको थियो ।

दाँत, साडी, चोलो लगायतका माध्यमबाट ठुलीआमाको पहिचान गरिएको लक्ष्मी बताउनु हुन्छ । “गत वर्ष डेण्टलमा लगेर ठुलीआमाको दाँत हालिदिएको थिएँ । उहाँले रातो पारी भएको पहेँलो साडी र राधे लेखिएको गेरु रंगको कपडा ओढ्नु भएको थियो,” उहाँले भन्नुभयो, “शव सडेर नचिनिने अवस्थामा भए पनि यही प्रमाणको आधारमा पहिचान गरेका हौँ । म घरमा नभएको बेला कोठाबाट हिँडाएछ । बेलुका घर आएर फोन गर्दा तीन घण्टी गयो र फोन काटियो ।” पारिवारिक बेमेल र हिंसा पिडित बृद्धालाई लक्ष्मीले आफ्नो घर नजिकै कोठा व्यवस्था गरेर एक वर्षदेखि रेखदेखमा राख्नुभएको थियो ।

शहरबाट मतदान गर्न गाउँ जाने मतदाताका लागि उम्मेदवारहरुले गाडीको व्यवस्था गरेको थियो । लक्ष्मीले ठुलीआमालाई त्यस्तै प्रायोजित गाडीमार्फत मतदान गर्न जान र फर्कन सुझाउनु भएको थियो। तर आफु विहेमा गएको बेलामा बृद्धालाई मतदान गर्न गाउँ लैजाने वहानामा बेपत्ता पारिएको लक्ष्मीको दावी छ ।

मतदान गर्न जाने क्रममा सँगै रहेका बृद्धा बेपत्ता भएपछि आफन्तले नातीलाई शंकास्पद नजरले हेरेका थिए । बृद्धाको बारेमा सोधखोज गर्दा उनले ‘आफन्तकोमा इन्डिया गएको र महिना दिनपछि आउने’ जवाफ दिने गरेका थिए । घटना थप शंकास्पद बन्दैगएपछि लक्ष्मीले ठुलीआमाको हत्या भएको र हत्यामा नातीकै संलग्नता रहेको सामाजिक सञ्जालमार्फत लाइभ बसेर दावी गर्नुभएको थियो ।

गत १० जेठसम्म सम्पर्कमा रहेका अभियुक्त १३ जेठदेखि सम्पर्क विहिन बनेको लक्ष्मी बताउनु हुन्छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको डिएसपी लम्सालले बाउनु यभो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?