प्लानिङ ब्वाइज ‘बी’ डिभिजनमा बढुवा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । ओसिस क्लबमाथि सानदार जित निकाल्दै प्लानिङ ब्वाइज युनाइटेड क्लब शहीद स्मारक ‘बी’ डिभिजनमा बढुवा भएको छ । ‘बी’ डिभिजनमा उक्लन जित्नै पर्ने खेलमा ओसिसलाई ५-० को भारी अन्तरले तथा अर्काे खेलमा आरसी ३२ फुटबल एकेडेमीले स्पोर्ट्स एकेडेमी साँगासँग गोलरहित बराबरी खेलेपछि प्लानिङ ‘बी’ डिजिनमा उक्लन सफल भएको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शुक्रबार भएको खेलमा प्लानिङको जितमा फागु राम थारूले हृयाट्रिक पूरा गर्दा अर्जुनकुमार राना र ओमप्रकाश चौधरीले समान एक/एक गोल गर्नुभएको छ ।

फागु रामले खेलको तेस्रो, आठौं र १६औं मिनेटमा गोल गर्दै हृयाट्रिक पूरा गर्नुभयो । यस्तै अर्जुनकुमार रानाले ५३औं मिनेटमा तथा ओम प्रकाहले ८२औं मिनेटमा गोल गर्दै प्लानिङलाई ‘बी’ डिभिजनमा बढुवा गराउनुभयो । २०१२ मा स्थापित प्लानिङले ९ खेलमा जित र चार खेलमा अपराजित रहन सफल भयो । प्लानिङ सी डिभिजनमा अपराजित रहने एक्लो टोली हो । झापाले एक खेलमा हार व्यहोरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबारै भएको अर्काे खेलमा आरसी ३२ फुटबल एकेडेमीले स्पोर्ट्स एकेडेमी साँगासँग गोलरहित बराबरी खेल्यो । यो बराबरीसँगै आरसी ३२ ले ‘बी’ डिभिजनमा उक्लने अवसर पनि गुमाएको छ ।

जितसँगै प्लानिङले १३ खेलबाट ३१ अंक जोडेको छ । ओसिस चार अंक जोडेर पुछारमा रहृयो । अब यसअघि नै ‘बी’ डिभिजनमा बढुवा भइसकेको झापा फुटबल क्लबले अन्तिम खेलमा हार व्यहोरेको खण्डमा प्लानिङ ‘सी’ डिभिजन च्याम्पियन बन्नेछ । बराबरी या जितले झापा नै सी डिभिजन च्याम्पियन बन्नेछ । झापाको १३ खेलबाट ३१ अंक छ । ओसिससँगै वीरगञ्ज युथ एकेडेमी रेलिगेसनमा परिसकेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?