प्रतिनिधिसभाका लागि तीनवटा क्षेत्रमा उपनिर्वाचन सम्पन्न भयो । तीन निर्वाचन क्षेत्रमध्ये दुईमा अप्रत्यासित नतिजासमेत आयो । आफूलाई देशको सबैभन्दा ठूलो र आमजनताले रुचाएको पार्टी भनेर हुंकार गर्ने दलहरू अहिले बोल्न नसक्ने अवस्थामा पुगेका छन् । चुनावको परिणामपछि निकै फरक परिदृश्यहरू सतहमा आउन थालेका छन् । यसलाई लिएर विभिन्न धारणा पनि बनाइँदैछ ।
चितवन-२ को निर्वाचित सांसदको सांसद पद खारेजीमा परेको, तनहूँ-१ र बारा-२ का निर्वाचित सांसदहरू राष्ट्रपति र उपराष्ट्रपतिमा निर्वाचित भएका कारण तीन स्थानमा पुनः उपनिर्वाचन गरिएको हो । तीन स्थानमध्ये चितवन-२ र तनहूँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अप्रत्याक्षित मतसहित विजयी बन्यो । जसको जितलाई लिएर दुई दिनअघिसम्म विभिन्न टीकाटिप्पणी भइरहेका थिए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले त मतगणना सुरु भएर रास्वपाका उम्मेदवारहरूले अग्रता लिनासाथ अब ठूला दलहरूप्रति जनतामा निराशा देखिएको भनेर प्रतिक्रिया नै दिनुभयो । ठूला दल भन्नाले नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्रहरू नै हुन् र ती दलहरू ठूलामात्र नभएर पुराना पनि हुन् ।
नेपाली कांग्रेसले सात दशकभन्दा लामो समयदेखि नेपालको राजनीतिमा आफ्नो उपस्थिति कुनै न कुनै रूपमा देखाउँदै आएको छ । बीचमा पञ्चायत कालमा पनि नेपाली कांग्रेसको भूमिका गौण थिएन । त्यसबीच भएका प्रायः सबैजसो आन्दोलन तथा सशस्त्र क्रान्तिहरूको नेतृत्व कांग्रेसबाटै भएको थियो । पछिल्लो केही समयदेखि नैतिक र निष्ठाको राजनीतिबाट विमुख हुँदै गएका कारण हाल नेताली कांग्रेसप्रति नेपाली जनताको विश्वास गुम्दै गएको छ र नेपाली कांग्रेसकै एकजना होनहार प्रतिभाशाली युवा पार्टी परित्याग गरेर गई अर्को पार्टीबाट उम्मेदवार भएर सांसद पदमा विजयी बन्नुभएको छ । यसबाट कि नेपाली कांग्रेसले व्यक्तिको क्षमता र सामथ्र्यको कदर गर्न नसकेको भन्न सकिन्छ कि पार्टीका सदस्यहरूमा पनि धैर्यको कमी हो कि भन्ने पनि देखिन आउँछ ।
स्वर्णिम वाग्ले जो योजना आयोगको उपाध्यक्ष भइसक्नु भएको व्यक्ति हुनुहुन्छ । कांग्रेसले उहाँलाई रोक्न सकेन तर त्यति माथिल्लो तहको पद पाएको हुँदा उहाँको क्षमताको कदर भएको थिएन भन्ने चाहिँ होइन । उहाँले अरू धैर्य गर्न सक्नुभएन र पार्टी परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट टिकट लिएर उहाँ राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त भएको तनहूँ-१ बाट विजयी बन्नुभयो र आफ्नो कदम सही थियो भनेर प्रमाणित गरेर देखाउनुभयो । उहाँ विजयी बन्न नसक्नु भएको भए उहाँको राजनीतिक जीवनमा पूर्णविराम नलागे पनि अवरुद्ध चाहिँ हुने थियो भन्न सकिन्छ ।
उता चितवन-२ राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेकै ठाउँ हो । उहाँको नागरिकता विवादका कारण सर्वोच्च अदालतले उहाँको सांसद पद खारेज गरिदिएपछि रिक्त रहेको उक्त स्थानमा पुनः उहाँ विजयी बन्नुभएको छ । उहाँ पहिलेभन्दा पनि बढी मतान्तरले यहाँबाट विजयी हुनुभयो । यी दुवै परिणामलाई आश्चर्य मानिएन तर आश्चर्य यसलाई मान्नुपर्छ कि राष्ट्रिय स्वतन्त्र पार्टीमा जनताले के कस्ता सम्भावना भेटेर त्यस पार्टीलाई आमनिर्वाचनबाट यसरी एकाएक अगाडि ल्याए र हालैको उपनिर्वाचनमा समेत तीन ठाउँमध्ये दुई ठाउँमा अत्यधिक बहुमतका साथ उक्त पार्टीका उम्मेदवारहरू विजयी भए ? रास्वपामा जनताले सम्भावना देखेका हुन् वा ठूला पार्टीहरूप्रतिको वितृष्णा त्यहाँ पोखिएको हो ।
पार्टीको नेतृत्वमा कुनै राष्ट्रिय व्यक्तित्व (नेसनल फिगर)हरू पनि देखिएका छैनन् । बौद्धिक र तार्किकताले देशलाई नेतृत्व प्रदान गर्लान् भन्ने अपेक्षा राख्न सकिने अवस्था पनि त्यति धेरै छैन तैपनि त्यस पार्टीप्रति जनताको सम्मोहन आश्चर्यलाग्दो गरी स्थापित बन्दै गइरहेको छ । स्वर्णिम वाग्ले जस्तो बौद्धिक व्यक्तित्वले समेत बीपीको प्रतिछाया देखेका रविमा जनताले पनि त्यस्तै सम्भावना पाए तर भोलि त्यसलाई स्थापित गर्न पनि उहाँहरूले सक्नुपर्छ । यस उपनिर्वाचनबाट पनि त्यही कुरा स्थापित बन्न पुगेको छ, जुन गत मंसिरको आमनिर्वाचनबाट समेत स्थापित बन्नपुगेको छ ।
माओवादीले जस्तो लामो समयसम्मको विद्रोह र अन्य कुनै प्रकारको क्रान्ति वा आन्दोलनहरूको मार्ग अवलम्बन पनि नगरी पार्टी दर्ता गरेर निर्वाचनमा मतपेटिका खडा गर्नासाथ कुनै पार्टी एकाएक राष्ट्रिय राजनीतिमा उदाउँछ भने त्यसलाई ठूला पार्टीहरूले सोच्र्नुपर्ने रहेछ भनेर बुझ्नुपर्ने हुन्छ । चितवन-२ र तनहूँ-१ मा ठूला पार्टीहरूको यस्तो नाजुक अवस्थाको सिर्जना कसरी हुनपुग्यो त्यसको समीक्षा पनि ती ठूला पार्टीहरूले गर्नुपर्ने आवश्यकता देखिन्छ । यसरी नै नेपालको राजनीति अगाडि बढ्यो भने अब जनताले कांग्रेस र कम्युनिष्ट भन्दैनन्, जसमा सम्भावना देख्छन् त्यसलाई नै साथ र समर्थन गर्छन् भन्ने स्पष्ट चित्र हाल देखिन आएको छ ।