कुन पुराणमा के छ ? अठार पुराणको सार

Read Time = 25 mins
A A- A+

✍️  नारायणप्रसाद निरौला
‘पुरा नवं पुराणम्’ अर्थात् सधैं नयाँ लाग्ने विषवस्तु समेटिएका ग्रन्थ विशेष नै पुराण हुन् । वेदले बताएका विषयवस्तुको सविस्तार व्याख्या पुराणमा गरिएको छ । ऋक्, यजु, साम र अथर्व पछिको पाँचौं वेदका रूपमा पनि पुराणलाई लिइन्छ । अठार पुराण रचीयता वेदव्यास हुन् । अठार पुराणहरूमा मद्वयं भद्वयं चैव व्रत्रयं व चतुष्टयम् । अनापकूष्कलिङ्गानि पुराणानि विदुर्बुधाः ।। (देवीभागवत) अर्थात् मत्स्य, मार्कण्डेय, भागवत, भविष्योत्तर, ब्रहृम, ब्रहृमवैवर्त, ब्रहृमाण्ड, विष्णु, वायु, वामन, वराह, अग्नि, नारद, पद्म, कूर्म, स्कन्द, लिङ्ग र गरुड पुराण पर्दछन् ।

सम्पूर्ण पुराणले परमात्मा परमेश्वर प्राप्त गर्ने विविध उपाय आख्यान र उपाख्यानका माध्यमले वर्णन गरेका छन् । सरल ढङ्गमा अनेकौं कथप्रसङ्गका साथ परमात्मा परमेश्वरको लीलाचरित्र गान गरी सबैलाई सत्मार्गमा लाग्न अभिप्रेरित गर्नु पुराणहरूको मुख्य ध्येय रहेको देखिन्छ । अठारवटै पुराणको संक्षिप्त चर्चा यहाँ प्रस्तुत गरिन्छ :

१.वायुपुराण : वायुपुराणलाई सबैभन्दा प्र्रचीन पुराण भनिन्छ । यो पुराण कुरुक्षेत्रमा श्रवण गरिएको हो । यहाँ वायु देवता (वातरणि ऋषि) ले पुराण सुनाएको प्रसङ् छ । यसलाई वायुप्रोक्त संहिता पनि भनिन्छ । सूतजी महाराजले सुरुमा सृष्टिको वर्णन गर्नुभएको छ । यसैगरी कल्पको निरूपण पनि यहाँ गरेको पाउन सकिन्छ । सम्पूर्ण सृष्टिका उत्पत्तिकर्ता महेश्वर नै हुनुहुन्छ भन्ने निष्कर्ष वायु पुराणको देखिन्छ । यसमा २४ हजार श्लोक छन् । शिवस्तुति, गुप्त राजाहरूको वंशवर्णन, विष्णु चरित्र, तीर्थ तथा तीर्थमा गरिने श्राद्धसम्बन्धी विधिको पनि यो पुरणमा निरूपण गरिएको छ ।

२. कूर्मपुराण : कूर्मपुराणमा पनि साम्बसदा शिवजीको महिमा गान पाइन्छ । यसका वक्ता कूर्म अर्थात् कछुवा छन् जसमा विष्णु भगवान अवतरित हुनुहन्छ । कूर्मरूप विष्णु भगवानले शिवजीलाई नै मुख्य देवता मान्नु भएको छ । यसैगरी शिव र विष्णुमा अभेदत्व पनि दर्शाइएको छ । सूत शौनकको संवादमा आधारित प्रस्तुत पुराणमा ऋषिगणको प्रश्नलाई लोमहर्षण ऋषिले कूर्म भगवानका बारेमा वर्णन गर्नुभएको छ । समुद्र मन्थनको कथा यहाँ मुख्य रूपमा प्रस्तुत भएको छ । भवानले कूर्म (कछुवा) का रूपमा दिएकोे निर्देशन विशेष नै यसको मुख्य षियवस्तु हो ।

यसैगरी आद्यशक्ति लक्ष्मीको उपाख्यान पनि प्रस्तुत सन्दर्भमा जोडिएको पाइन्छ । यसैगरी इन्द्रद्युम्नको तपस्या पश्चात् मोक्षको प्राप्त गरको कथा पनि मुख्या रूपमा वर्णित छ । महेश्वरबाट सृष्टिको उत्पत्ति, हिरण्याक्ष, हिरण्यकशिपुको कथा, प्रहृलाद चरित्रसमेत यहाँ वर्णन पाइन्छ । यसैगरी सूर्यवंशको वर्णन, जाम्बवान जाम्बवती प्रसङ्ग, श्रीकृष्ण रुक्मिणी विवाह प्रसङ्गका साथै प्रयाग, रुद्रकोटितीर्थ, केदारतीर्थ, नर्मदातीर्थ, भृगुतीर्थ आदिको वर्णन पनि पाइन्छ ।

३.लिङ्गपुराण : लिङ्ग शब्दको अर्थ ‘लीनं गमयति’ अर्थात् गुप्त वस्तुको परिचय दिनु भन्ने हुन्छ । जुन तत्व इन्द्रियद्वारा प्रत्यक्ष हुन सक्दैन, जसलाई कुनै चिहृन दिएर अनुमानबाट जान्न सकिन्छ त्यस्तो चिहृनको नाम लिङ्ग हो । जुन शिवलिङ्गमा इन्द्रसहित सम्पूर्ण देवता लीन हुन्छन् र सम्पूर्ण देवता उत्पन्न पनि हुन्छन् । यस्तो शिवको अङ्गलाई पनि शिवलिङ्ग भन्ने गरिन्छ । प्रस्तुत पुराणामा लिङ्ग शब्दको अर्थ ओंकार भनी बताइएको छ । जुन परमात्मा परमेश्वरकै बीजाक्षर हो । भगवानको कृपाबाट मात्र ज्ञान प्राप्त हुन सक्छ भन्ने कुरा उल्लेख छ । यसमा एघार हजार श्लोक छन् । शिवजीको उपासनाविधिका साथै शैवतन्त्र र दर्शनको विशद् विवेचना पाइन्छ ।

प्रस्तुत लिङ्गपुराणमा महेश्वर भगवानका अनेकौं अवतारहरूको वर्णन गरिएको छ । श्वेत मुनि परमात्मा परमेश्वरको आराधनाले मुत्युञ्जय भएको कथा विस्तामा वर्णन पाइन्छ । यसैगरी दधिचि र क्षुप राजाको प्रसङ्गबाट शिवमहिमा गान गरिएको छ । यसैगरी शिलादपुत्रले शिवजीको आराधना गरेको फलस्वरूप नन्दीश्वर पद प्राप्त गरेको कथा पनि पाइन्छ । यसैगरी भगवानशङ्करका चार निवासस्थानको वर्णन पनि गरिएको छ । देवकूट पर्वत, कैलाशपर्वत, रुद्रप्रयाग र रुद्रपुुरको भव्य वर्णन लिङ्गपुराणको उत्तरार्धमा गरिएको छ । यस पुराणमा एघार हजार श्लोक रहेका छन् ।

४.श्रीमद्भागवत महापुराण : भक्ति, ज्ञान र वैराग्यको कथा प्रस्तुत श्रीमद्भागवत महापुराणमा वर्णन गरिएको छ । विशेषतः शुकदेवजी महाराजले राजा परीक्षितलाई मोक्षको उपाय बताउनु भएको कथा प्रसङ्ग मुख्य रूपमा वर्णन भएको छ । बाह्र स्कन्धमा संरचित प्रस्तुत महापुराणमा अठार हजार श्लोक रहेका छन् । अन्य पुराणभन्दा श्रीमद्भागवतको विशेष महिमा रहेको पाइन्छ । साक्षात् परमात्मा परमेश्वर श्रीकृष्णका लीगलागान मार्फत इहलोकको भुक्ति र परलोकको मुक्ति प्राप्त गर्ने सरल उपाय प्रस्तुत ग्रन्थमा बताइएको छ । भक्तिरसको पूर्ण परिपाक पनि यस पुराणमा पाइन्छ । विद्यावतां भागवते परीक्षा भन्ने उक्तिले पनि भागवतको गरिमा प्रष्ट्याएको छ । भगवान विष्णुका चौबीस अवतारको विस्तृत कथा वर्णन श्रीमद्भागवता पाउन सकिन्छ ।

५.पद्मपुराण : पचपन्न हजार श्लोकमा आबद्ध दोस्रो ठूलो महापुराण पद्मपुराण हो । यसअन्तर्गत पाँच खण्डहरू विभक्त छन् । सृष्टि खण्ड, भूमिखण्ड, स्वर्ग खण्ड, पातालखण्ड र उत्तरखण्ड । सृष्टि खण्ड अन्तर्गत सृष्टि, प्रतिसृष्टि, वंश, मन्वन्तर र वंशानुचरित यी पाँच विषय समावेश गरिएको छ । सोम सूर्य वंशको विस्तारित वर्णन पनि यहाँ पाउन सकिन्छ । भूमिखण्डमा विशेषगरी विष्णुशर्मा, सुव्रत, वृत्रासुर, पृथु, उग्रसेन, नहुष, ययाति आदिको उपाख्यान रहेको पाउन सकिन्छ । ब्रहृमचर्य, दान आदि मानव धर्मको वर्ण पाइन्छ ।

स्वर्गखण्डमा स्वर्गादि लोकको वर्णन पाइन्छ । दुष्यन्त र शकुन्तलाको कथा विशेष प्रस्तुत रहेका पाउन सकिन्छ । नक्षत्र तारा वर्णन, धु्रवचरित्र, राजा उशिनर, मरुत्, दिवोदास, हरिश्चन्द्र, मान्धाता आदिको चरित्रगान पनि गरिएको छ । पातालखण्डमा रामचन्द्रभगवानको सम्पूर्ण लीलाचरित्र प्रस्तुत गरिएको छ । यसैगरी भगवान श्रीकृष्णको महिमाका साथै कृष्णतीर्थ, नारदका स्त्रीरूपको समेत कथा यहाँ पाउन सकिन्छ । भारतीय भूगोलको समेत वणर्न यस खण्डमा रहेको छ ।

पाँचौं उत्तरखण्डमा महेश र नारदको संवाद रहेको छ । जलन्धरको कथा पनि विस्तृत वर्णन छ । जलन्धर र शिवजीको युद्ध, शिवजीद्वारा जलन्धर वध आदिको उपाख्यान पनि पाउन सकिन्छ । यसैगरी ऋतु एवं बाह्र महिनाको माहात्म्य, एकादशी व्रत एवं तुलसी माहात्म्य पनि पद्मपुराणको उत्तर खण्डमा पाइन्छ ।

६. अग्निपुराण : प्रस्तुत पुराणमा पौराणिक विषयका साथै अन्य शास्त्रको पनि क्रमबद्ध वर्णन पाइन्छ । यसको आरम्भमा भगवान् विष्णुका मत्स्य, कूर्म र वराह अवतारको वर्णन छ । त्यसपछि रामायणका अलग अलग काण्डको संक्षिप्त वर्णन पाइन्छ । यसैगरी श्रीकृषण भगवानको वंशवर्णन (हरिवंश) एवं महाभारतका सबै पर्वको संक्षिप्त कथा पनि प्रस्तुत गरिएको छ । यसपछि सृष्टि विषयक चर्चा गरिएको छ । ३७३ अध्यायमा विभक्त अग्निपुराणमा विभिन्न व्रत उपासना विधिको पनि चर्चा गरिएको छ । गंगा, गया, काशी, प्रयाग, नर्मदा आदिको माहात्म्य वर्णन पनि पाइन्छ ।

यसैगरी सामुद्रिक शास्त्रको एवं रत्नहरूको लक्षणकोे पनि चर्चा पाइन्छ । आयुर्वेद र धनुर्वेदको चर्चा पनि पाइन्छ । काव्य लक्षण, छन्द, एवं अलङ्कारको पनि चर्चा अग्पिुराणमा गरिएको छ । व्याकरण शास्त्रको चर्चा, कोष विज्ञान एवं दर्शनको चिन्तन पनि प्रस्तुत गरिएको छ ।
७. मार्कण्डेय पुराण ः यसमा १३७ अध्याय रहेका छन् । जैमिनि ऋषिको प्रश्न र मार्कण्डेय ऋषिको उत्तर प्रस्तुत पुराणमा पाउन सकिन्छ । पछि जैमिनि र पक्षीको संवादमा कथा अघि बढेको देखिन्छ । भगवानका चारव्यूहको चर्चा, अवतार वर्णन पनि गरिएको छ । द्रौपदीका पाँच पतिको विस्तृत विवरण एवं पूर्वजन्मको प्रसङ्ग पनि बताइएको छ । राजा हरिश्चन्द्र एवं विश्वामित्रको कथा, योगशानस्त्रको निरूपण, दुर्गादेवीको महिमा गान यहाँ गरिएको छ । भगवती दुर्गादेवीको चरित्र वर्णनसहितको दुर्गासप्तशती यही पुराणअन्तर्गतको हो । यहाँ आद्य शक्ति भगवतीको अवतारको वार्णन, देवताको रक्षा र दानवको संहारको कथा छ । मात्र्तण्ड सूर्यको उत्पत्तिसँगै सूर्यवंशको विस्तारित कथा मार्कण्डेय पुराणमा पाउन सकिन्छ ।

८. विष्णुपुराण :  विष्णु पुराण छ अंश अर्थात् भागमा विभक्त छ । पराशर मैत्रेय संवादमा आरम्भको कथा वर्णित छ । पहिलो अंशमा सृष्टिको वर्णन गरिएको छ । सृष्टिसँगै प्रलयको वर्णन पनि प्रस्तुत अंशमा पाइन्छ । दोस्रो अंशमा भगोल एवं खगोलको चर्चा छ । यसैगरी सात लोकको पनि वर्णन पाइन्छ । जडभरतको उपाख्यानका साथै भगवान विष्णुको स्तुति गान पनि गरिएको छ । तेस्रो अंशमा मन्वन्तरको वर्णन छ । २८ व्यासहरूको विवरण पनि दिइएको छ । व्यासद्वार वेदको विभाजन, वेदको संक्षिप्त वर्णन, वर्णश्रम एवं नैतिक धर्मको कथन तथा बौद्धधर्मको उत्पत्तिको विवरण पनि प्रस्तुत गरिएको पाइन्छ । चौथो अंशमा राजवंशको उत्पत्तिको कथा पाइन्छ । पाँचौं अंशमा भगवानको कृष्णावतारको कथा पाइन्छ भने छैटौं अंशमा कलियुगको वर्णन गरिएको छ ।

९. वामनपुराण : यसमा भगवानका वामन अवतारका कथा मुख्यरूपमा वर्णन गरिएको छ । पुलस्त्य र नारदको संवादमा प्रस्तुत पुराणको कथा आरम्भ भएको देखिन्छ । भगवान शंकरका पनि केही कथा रहका छन् । शुम्भ निशुम्भआदिको उपाख्यान पनि यहाँ पाइन्छ । कुमार कार्तिकेयद्वारा तारकासुरको बध गरिएको प्रसङ्ग, राजा वलिको चरित्रका साथै भगवानको वामन अवतारको विस्तृत विवरण वामन पुराणमा पाउन सकिन्छ ।

१०. मत्स्यपुराण : यो पुराण मनु र विष्णु भगवानको संवादमा आधारित छ । आदिसृष्टि, देवसृष्टि, सूर्यवंश, पितृवंश, श्राद्धसम्बन्धी सपिण्डीकरणको विधि आदि आरम्भमा व्यक्त गरिएको छ । राजा ययाति चरित्र, शर्मिष्ठा एवं देवयानीको प्रसङ्ग, यदुवंशको वर्णन, श्रीकृष्ण भगवानका कथा त्रिपुर वर्णन, देवदानव संग्राम, भृगु, वशिष्ठ, अंगिरा, विश्वामित्र, कश्यप, पराशर, अगस्त्य आदि ऋषिको वंशवर्णन, सत्यवान् र सावित्रीबको उपाख्याका साथै भगवानको मत्स्य अवतारको मुख्य कथा प्रस्तुत पुराणमा रहेको पाउँन सकिन्छ । यस पुराणमा सत्र हजार श्लोक रहेका छन् ।

११. ब्रहृमाण्डपुराण : प्रस्तुत पुराण चार प्रकरणमा विभक्त छ : १.प्रक्रियापाद  २. अनुषंगपाद ३. उपोद्घात पाद र ४. उपसंहार पाद । प्रारम्भमा सृष्टिको वर्णन गरिएको छ । यसपछि योगको वर्णन, अरिष्ट लक्षण, ब्रहृमाको उत्पत्तिको कथा, कुमारोत्पत्ति, पर्वत नदी आदिको वर्णन, नौ द्विपको वर्णनका साथै ऋषिहरूको वंश विवरण समेत उल्लेख गरिएको छ । वरुण वंश, इक्ष्वाकुवंश, मिथिला वंशको विवरणका साथै परशुरामा चरित्र, सहस्रार्जुन चरित्र, समर चरित्र पनि पाइन्छ । यसमा बाह्र हजार श्लोक रहेका छन् ।

१२. गरुडपुराण : यो पुराण दुई खण्डमा विभक्त छ । उत्तरखण्डलाई प्रेतकल्प भनिन्छ । पूर्वखण्डमा अनेक देवताको पूजनका पृथक पृथक् विधि बताइएको छ । गरुडको उत्पत्तिको कथा प्रसङ्ग मुख्य रूपमा वर्णन पाइन्छ । सामुद्र शास्त्र एवं रत्न परीक्षाको विषय पनि यहाँ पाउन सकिन्छ । सूर्य चन्द्र्रादि ग्रहहरूको विवरण पनि यहाँ प्रस्तुत गरिएको छ । यसैगरी पञ्चमहायज्ञ, द्रव्यशुद्धि, दानधर्म, श्राद्धविधि र गयातीर्थ, गयामा पिण्डदानादि धार्मिक कृत्यको वर्णन पनि यस खण्डमा गरिएको छ । रामायण महाभारतको कथा वर्णन पनि यहाँ पाइन्छ । योग एवं अयुर्वेदको चर्चा पूर्वखण्डमा गरिएको छ ।

उत्तरखण्ड (प्रेतकल्प) मा गरुड र नारायणको संवाद छ । पापकर्ममा रत हुने व्यक्तिले भोग गर्नुपर्ने यमयातानाको वर्णन, यममार्गको निरूपण, पापीजनले भोगनुपर्ने कठिन यम यातनाको वर्णन, पापचिहृनको निरूपण, पाप कर्मबाट सिर्जना हुने दुःख कष्टको वर्णन, अन्त्य कालमा गर्नुपर्ने कर्मको वर्णन, दाहसंस्कार विधि, दशगात्र विधि निरूपण, एघारौं दिनमा गर्नुपर्ने कार्यको वर्णन, सपिण्डीकरण शैया अन्य दानको महिमा वर्णन, धर्मराजको नगरको वर्णन, सत्कर्मको मार्ग निरूपणका साथै मोक्ष प्राप्तिको उपाय वर्णसहित मृत्युपश्चात् प्रेतरूपमा हुने र भोग्नु पर्ने अवस्थिति र मुक्तिको उपाय प्रस्तु खण्डमा व्यक्त गरिएको छ । समग्र गरुड पुराणमा उन्नाइस हजार श्लोक रहेका छन् ।

१३. वराहपुराण : सुत शौनकको संवादमा आधारित प्रस्तुत पुराणको सुरुमा सृष्टको वर्णन गरिएको छ । यसैगरी पृथ्वी र वराह भगवानको संवाद पनि यसअन्तर्गत रहेको छ । भगवानका दश अवतारको कथा, तिथिहरूको व्रत निरूपण, नैमित्तक एवं काम्य कर्मको व्रतकथासमेत वराह पुराणमा वर्णन गरिएको छ । यसैगरी भगवती वैष्णवीको प्रादुर्भाव एवं महिषासुर वधको प्रसङ्ग, धेनुदानको उल्लेख, वैष्णव दीक्षा विधि, तीर्थ माहात्म्य, प्रतिमास्थापना विधिको समेत सविस्तार वर्णन यसमा गरिएको छ । यसअन्तर्गत २४ हजार श्लोक छन् ।

१४. भविष्यपुराण : राजा शतानीकको प्रश्न र सुमन्त मुनिले उत्तर दिने शैलीमा प्रस्तुत भविष्य पुराणमा युगधर्म, वर्णव्यवस्था, संस्कार व्यवस्था, ब्रहृमाको पूजन एवं मन्दिर निर्माणको फल बताइएको छ । यस अन्तर्गत ब्रहृमा, विष्णु, शिव, सूर्य र प्रतिसर्ग नामका पाँच पर्व छन् । मंगल चतुर्थी व्रतको विधि, सर्पका विभिन्न जात जातिको वर्णन, कल्प वर्णनका साथै आदित्यहृदयस्तोत्र यहाँ पाउन सकिन्छ । यसैगरी भूमि आदि दानको महिमा गान पनि यस पुरणमा गरिएको छ । भविष्यपुराण २३ हजार श्लोकमा आबद्ध छ ।

१५. ब्रहृमवैवत्र्तपुराण : यस पुराणको ब्रहृम खण्डमा परब्रहृमको निरूपण गरिएको छ । सुत शौनकको संवादमा आधारित कथामा सृष्टि उत्पत्ति, गोलोक वर्णन, रासेश्वरी राधाको वर्णन, देवीदेवताको उत्पत्ति, सरस्वती भगवतीको पूजा मूलमन्त्र एवं कवच विधि, भूमि दानको फल एवं गंगाास्तोत्र वर्णन पाइन्छ । भगवान् श्रीकृष्णको लीलाचरित्र, लक्ष्मीजीको उपाख्यान, दक्षिणास्तोत्र, दुर्गा भगवतीको उपाख्यान, गणेशजीको जन्मप्रसङ्ग, गणेशकवच एवं कुमार कार्तिकेयको जन्म प्रसङ्ग वर्णन पाइन्छ । परशुरामको कथा, दुर्गाकवच, दुर्गास्तोत्र, तुलसी, गणेशजीको वर्णन पनि यसअन्तर्गत पाइन्छ । ब्रहृमवैवर्त पुराणमा १८ हजार श्लोक छन् ।

१६.ब्रहृमपुराण : यस पुराणको आरम्भमा सूर्यको आराधना गरिएको छ । अदिति सूर्य संवाद, अदितिपुत्रका रूपमा सूर्यको जन्म, भगवती पार्वतीको आख्यान, शिव पार्वती विवाह प्रसङ्ग, गंगाको उत्पत्ति वर्णन, श्रीराम र श्रीकृष्णका चरित्रलीला एवं व्रतोपासना विधिको वर्णन पाइन्छ । जसमा दश हजार श्लोक रहेका छन् ।

१७. नारदपुराण : वैष्णव सम्प्रदायको विशेष ग्रन्थका रूपमा नारद पुराणलाई लिन सकिन्छ । तीर्थ माहात्म्य, पुरुषोत्तम माहात्म्य, अवन्ती माहात्म्य आदिको चर्चा पनि यस पुराणमा पाइन्छ । दुई भागमा संरचित प्रस्तुत पुराणमा वैष्णव धर्मको विशेष चर्चा छ । नारद पुराणमा २५ हजार श्लोक छन् ।

१८. स्कन्दपुराण : सबैभन्दा ठूलो नै स्कन्दपुराण हो । यसअन्तर्गत ८१ हजार एक सय श्लोक छन् । सम्पूर्ण पुराणको सार तत्व यस पुराणमा पाउन सकिन्छ । नीतिलाई मुख्य सारका रूपमा प्रस्तुत पुराणमा व्यक्त गर्न खोजिएको छ । माहेश्वर खण्डमा शिव पार्वती, गणेश एवं कुमार कार्तिकेयको विस्तृत कथा पाउन सकिन्छ । वैष्णव खण्डमा भूमिवराहको प्रसङ्ग, शिव महिमा, पञ्चाक्षर महिमा, गोकर्ण माहात्म्य र शिवरात्रि माहात्म्य रहेका छन् ।

नागर खण्डमा लिङ्गोत्पत्ति, हरिश्चन्द्रको कथाका साथै विश्वामित्रको माहात्म्य वर्णन पाइन्छ । प्रभास खण्डमा सोमेश, विश्वेश आदिको उपाख्यान, विविध व्रंत पूजाको वर्णन गरिएको छ । यसैगरी ज्ञानयोग खण्डमा ब्रहृमचर्या एवं गृहस्थाश्रमको चर्चा छ । मुक्तिखण्मा मुक्तिको उपाय बताइएको छ भने यज्ञ वैभव खण्डमा विभिन्न यज्ञको वर्णन गरिएको छ ।

उपपुराणको संख्या पनि अठार नै बताइएको छ । हरेक पुराणको महिमा आफूमै परिपूर्ण रहेको छ । श्रीमद्भागवत महापुराणलाई पुराणको पनि पुराण भन्ने गरेको पाइन्छ । यसरी सम्पूर्ण अठारवटै पुराणको सार व्यासले दुई वचनमा पनि व्यक्त गर्नुभएको छ : अष्टादशपुराणेषु व्यासस्य वचनद्वयम् । परोपकारपुण्याय पापाय परपीडनम् ।। परोपकारले पुण्य प्राप्त हुन्छ भने अरूलाई दुःख दिनाले पाप हुन्छ । अतः परोपकारले नै पुण्य प्राप्त हुने भएकाले सोही मार्गमा लाग्नु उपयुक्त देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?