जातीय भेदभाव र छुवाछुत सभ्य समाजको कलंक हो : प्रधानमन्त्री

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जातीय भेदभाव र छुवाछुत सामाजिक रुपमा अनैतिक, अमानवीयसँगै गम्भीर अपराधजन्य कार्य भएको बताउनुभएको छ ।

उहाँले जातीय भेदभाव र छुवाछुतलाई एक सभ्य समाजको कलंकका रुपमा चित्रण पनि गर्नुभयो ।

भेदभाव र छुवाछुतको अन्त्य अनिवार्य रहेकोमा जोड दिँदै प्रधानमन्त्री देउवाले प्रत्येक नागरिकले न्याय, समानता र स्वतन्त्रताको अनुभूति हुनेगरी जीउन पाउने नैसर्गिक अधिकारको सुनिश्चित गर्न कानुन नै बनाएर समातामूलक समाज निर्माणको सार्थक प्रयास हुँदै आएको पनि बताउनुभयो ।

देश ‘छुवाछुत मुक्त राष्ट्र’ घोषणा भएको १६औँ वर्ष पूरा भएको अवसरमा शुभकामना सन्देशमार्फत देउवाले हरेक नागरिकलाई न्याय समानतासहितको मर्यादित जीवनको लागि शुभकामना पनि दिनुभएको छ ।

सरकारले २१ जेठ २०६३ मा देशलाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको थियो । तर, छुवाछुत अन्त्य समूल रूपमा भएको छैन ।

यसप्रति प्रधानमन्त्री देउवाले मानव सृष्टि र सभ्यताको विकासक्रमसँगै प्रारम्भ भएको विभेद, विकृति र विसंगतिले व्यक्ति, परिवार, समाज र राष्ट्रलाई नकारात्मक प्रभाव पारेको उल्लेख गर्नुभएको छ ।

समाजमा विद्यमान धर्म, परम्परा र संस्कृतिका नाममा मानव मानवकै बीचमा जातीय, क्षेत्रीय, लैंगिक विभेदका व्यवहार हुनु आफैंमा एक अपमानजनक कार्य भएको पनि प्रधानमन्त्री देउवाको धारणा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?