जुम्लाका किसानलाई कालीमार्सी धान रोपाइँ भ्याइनभ्याइ

हिमालय टाइम्स
Read Time = 4 mins

-विजय रावत

जुम्ला । जुम्लामा मात्र उत्पादन हुने विश्वकै अति लोकप्रिय अर्गानिक धान हो कालीमार्सी । किसानलाई यो याममा कालीमार्सी धान रोपाइँमा बिहानदेखि रातीसम्म खेतमा भ्याइनभ्याइ भएको तातोपानी गाउँपालिका– ४ का स्थानीयवासी सत्यदेवी पाण्डेले जानकारी दिनुभयो । असार नलाग्दै यहाँका किसानलाई रोपाइँको चटारो छ ।

जिल्लाका आठवटै स्थानीय तहमा धानखेती हुने गरेको छ । यतिबेला चन्दननाथ नगरपालिका, तातोपानी, गुठीचौर र पातारासी गाउँपालिकामा जेठबाटै रोपाइँ सुरु भएको कृषि विकास कार्यालय जुम्लाका प्राविधिक सुकिराम नेपालीले जानकारी दिनुभयो । बाह्रैमास सिँचाइ सुविधा पुगेका र खोला आसपासका खेतमा रोपाइँ छिटो हुने गरेको छ । ‘सिँचाइ पुगेका ठाउँमा रोपाइँलाई सहज भएको छ,’ उहाँले भन्नुभयो, ‘असारसम्ममा जिल्लाका सबै ठाउँमा रोपाइँ सकिइसक्छ ।’

पछिल्लो समय मार्सी धानको चामलले बजार पाएपछि किसान मार्सी धान खेतीप्रति आकर्षित भएका छन् । जिल्लामा दुई हजार ८०० हेक्टरमा धानखेती हुने गरेको कृषि विकास कार्यालयको तथ्यांकले देखाउँछ । कृषि विज्ञका अनुसार चिसो हावापानीमा उत्पादन हुने खाद्यान्न र फलफूल निकै स्वादिला हुन्छन् । त्यसैले जुम्लालगायत हिमालको तल्लो भेग र उच्च पहाडमा फल्ने मार्सी धानको भात पनि स्वादिलो, अडिलो र स्वस्थकर हुन्छ ।

समुद्री सतहभन्दा १० हजार फिटको उचाइमा फल्ने मार्सी धान नेपालको उच्च हिमाली जिल्ला जुम्लामा हुन्छ । यो धानको चामल रातो हुन्छ र भात पकाउँदा अरूभन्दा गिलो हुन्छ । यसमा प्रोटिनको मात्रा बढी हुने र भात खाँदा चाँडो भोक नलाग्ने र अडिलो हुन्छ । धानबाली विशेषज्ञका अनुसार यो धानको महत्वपूर्ण विशेषताका आधारमा नै काठमाडौंलगायत देशका विभिन्न शहरमा उच्च माग हुने गरेको छ । यो धान चैतमा रोपेर कात्तिकमा काटिन्छ ।

विश्वकै उच्च स्थानमा धान उत्पादन हुने जिल्लाको पातारासी गाउँपालिकास्थित छुमचौरमा कालीमार्सी धान रोपाइँ सुरु भएको छ । त्यहाँ सुधारिएको कालीमार्सी धान रोपिएको हो । दुई हजार आठ सय मिटर अग्लो स्थानमा रहेको सो स्थानमा आठ प्रकारका कालीमार्सी धान रोपिएको हो ।

कालीमार्सी धान संरक्षण तथा प्रवद्र्धनकर्ता कलीमान महताराका अनुसार २०२१ सालदेखि सो स्थानमा धान रोपिएको हो । चन्दननाथ मन्दिरको शेरा जिउलाबाट धानको बेर्ना ल्याएर छुमचौर जिउलोमा रोपाइँ सुरु भएको हो । कालीमार्सी धानको महत्वका विषयमा बुझ्दै गएपछि अहिले सो जिउलोमा २०० रोपनीजतिमा धान रोपेको कालीमार्सी धान संरक्षण तथा प्रवद्र्धनकर्ता महताराले बताउनुभयो । सरकारले कालीमार्सी धान संरक्षणका लागि ठोस योजना ल्याउन नसकेको यहाँका स्थानीय बासिन्दा बताउँछन् ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?