मनसुनको प्रारम्भिक चरण र सतर्कता

हिमालय टाइम्स
Read Time = 5 mins

हाल मनसुन सुरु भइसकेको अवस्था छ । नेपालमा जेठको अन्तिम साताबाट मनसुन सुरु हुने गर्छ, लगभग चार महिना जति कायम रहन्छ । मनसुन प्रकृति, जीवजन्तु, मानव, वनस्पति तथा समग्र वातावरणका लागि वरदान हो । खेतीपाती गर्ने किसानका लागि मनसुनी वर्षा अमूल्य वरदान सावित हुँदै आएको छ । साथै बोटबिरुवा तथा प्राणीका लागि समेत पानी नभई हुँदैन । मनसुनी वर्षाबाटै यसको परिपूर्ति हुने गर्छ तर जुनसुकै कुराको पनि गुणका साथसाथै केही न केही दोषसमेत हुने गर्छन् । मनसुनी वर्षाका केही दोष रहने गरेको छन् । सन्तुलित रूपमा वर्षा नहुनु, अतिवृष्टि, अनावृष्टि र खण्डवृष्टि हुनुजस्ता दोष हामीले भोग्दै आएका छौं ।

कतै भलबाढी आएको त कतै खडेरी परेर खेती गर्न नसकिएको अवस्था वर्षेनी सिर्जना हुने समस्या हुन् । अनावृष्टि समस्यै हो र अतिवृष्टि पनि समस्यै हो । यी दुवै अवस्थामा प्रकृति विशृंखलित हुनपुग्छ र वनस्पति तथा प्राणीलाई प्रभावित बनाउँछ । यस्तो अवस्थाको सिर्जनामा केही हदसम्म भने हामी मानवकै हात छ भन्दा अत्युक्ति हुँदैन । जंगली जनावरको अनियन्त्रित सिकार तथा वनजंगलको फँडानीका माध्यमबाट हामी वातावरणको विनाश गरिरहेका छौं । वनजंगलमा डढेलो लगाउने गर्दा वन विनाशमात्र भइरहेको हुँदैन त्यहाँ बसोबास गर्ने अनगिन्ति जीवजन्तु तथा वनस्पतिको समेत विनाश हुन्छ ।

उत्पन्न हुने धुवाँले वायुमण्डल कार्बनयुक्त बन्न पुगेर अम्ल वर्षालगायत समस्या सिर्जना हुनपुग्छन् । समग्र वातावरणलाई नै प्रभावित बनाउँछ । जताततै जमिन खल्बल्याउने काम हामीबाट भइरहेको छ । हालको असारे विकास तथा सडक बनाउने सिलसिलामा जताततै डोजर प्रयोग गरी जमिन खल्बल्याउने गर्नाले मनसुन सुरु हुनासाथ हुने वर्षाले खल्बलिएको जमिन स्खलन गराउँछ र प्राकृतिक विनाशको समस्या निम्त्याउँछ । मनसुनी वर्षा सुरु हुनासाथ गतवर्ष हामीले धेरै ठूल्ठुला क्षति व्यहोर्नु पर्‍यो । भौतिक क्षतिका साथै मानवीय क्षति भए । यस वर्ष मौसम विभागबाट सरदरभन्दा बढी नै वर्षा हुने आकलन गरिएको छ । त्यस कारणले सतर्क हुनुपर्ने आवश्यकता छ ।

नेपाल भिरालो जमिनमा अवस्थिति देश हो । हिमाली तथा पहाडी भाग भिराला पाखा भित्तामा अवस्थित छन् । बर्खा लागेपछि त्यस्ता ठाउँमा पहिरोको भय हुन्छ । केही भाग, टार र उपत्यका पनि छन् । नजिकका पाखाभित्ताबाट खस्किने जमिनको माटो, गेग्य्रान र ढुंगा आएर थिच्ने डर हुन्छ । त्यस्ता फाँटहरूसमेत एकदमै सुरक्षित छन् भन्ने छैन । खोला, पहिरोको भय नहुने ठाउँहरू नेपालमा कमै छन् । तराई मैदानी भाग हो । तराईमा पहिरोको डर नभए तापनि त्यहाँ डुबानको डर हुन्छ । समथल ठाउँ भएकाले त्यहाँ पानीको प्रवाह कम हुन्छ र त्यसको बहाव कम हुनासाथ पानी भरिँदै आउँछ ।

डुबानको चपेटामा तराईका भाग पर्ने गरेका छन् । प्रकृति मानवभन्दा शक्तिशाली हुन्छ । मानवीय कारणबाटै हामी असुरक्षित बन्दै गएको अवस्थामा प्राकृतिक विपत्तिको सामना गर्नु पर्दा सुरक्षित हुन कठिन हुन्छ । मनसुनी वर्षा सुरु भएपछि यस्ता विपत्ति निश्चित रूपमा बढ्छन् । त्यसैले हामीले आफ्ना खेती किसानीलगायत कार्य गर्दा प्रकृतिको संरक्षाणतर्फ सचेतता अपनाउनुपर्ने हुन्छ । क्षणिक स्वार्थभन्दा दीर्घकालीन सोच राखेर अघि बढेको खण्डमा प्राकृतिक विपत्तिबाट बच्न सजिलो पर्छ । त्यसैले बर्खा लागेसँगै सतर्कता अपनाउन आवश्यक छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?