संसदमा प्रधानमन्त्रीका विश्वासपात्र गृहमन्त्री खाँणको चर्को आलोचना

Read Time = 5 mins

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणलाई प्रमुुख विपक्षी दल नेकपा एमालेका सांसदहरूले शान्ति सुरक्षासम्बन्धी सवाललाई लिएर बारम्बार जवाफ मागिरहेका छन् ।

जवाफ माग्ने सांसदहरूका अनुसार गृहमन्त्री खाँण शान्ति सुरक्षा कायम गर्न असफल हुनुभयो ।

बर्दिया, अछाम, रोल्पा, बाजुरालगायत जिल्लामा भएको घटनाबारे संसद् बैठकमा एमाले सांसदहरूले गृहमन्त्री खाँणसँग तीन जिल्लाहरूमा भएका घटनाबारे जवाफ मात्र मागेका छैनन्, उहाँको चर्को आलोचना पनि गर्दै आएका छन् ।

आलोचित गृहमन्त्री खाँण भने प्रधानमन्त्री शेरबहादुर देउवाका विश्‍वास पात्र हुनु हो । २९ असार २०७८ मा प्रधानमन्त्रीमा नियुक्त भएकै दिन देउवाले सानो आकारको मन्त्रिपरिषद् गठन गर्दा नै देउवाको रोजाइमा खाँण पर्नुभएको थियो ।

पहिले रक्षामन्त्री हुनुभएको उहाँलाई देशको शान्ति सुरक्षा कायम गर्ने सम्बन्धिको विभागीय मन्त्री देउवाले बनाए पनि सरकारका सर्वाधिक आलोचित मन्त्री हुन पुग्नुभएको छ ।

संसद् बैठकमा शान्ति सुरक्षाको विषयलाई लिएर गृहमन्त्री खाँणको आलोचना गर्नेमध्येका एक जना एमाले सांसद हुनु हो, यज्ञ बोगटी ।

सांसद बोगटीले अछामको पञ्‍चदेवल विनायक नगरपालिका–४ का विनोद शाहीको मृत्यु घटनालाई लिएर खाँणको आलोचना गर्दै सत्य तथ्य छानबिनको मङ्‍गलबार माग गर्नुभयो। उहाँले प्रहरीले उजुरीसमेत लिन नमान्‍नुलाई सामान्य ठान्‍न नहुने पनि बताउनु भयो ।

शाहीको प्रश्‍नको जवाफ दिँदै खाँणले प्रहरीले उजुरी लिने बताउँदै पन्छिनुभयो ।

एमालेकै सांसद गंगा चौधरीले बर्दियामा गोली लाग्दा भएको युवतीको मृत्यु घटनाबारे संसद्‍मै प्रश्‍न गर्नुभयो, ‘थारु गाउँमा सरकारको लाठीभन्दा गोली बढी किन चल्छ ?’

बर्दियामा प्रहरीको गोली लागेर नवीना थारुको मृत्यु भएपछि एमाले सांसद चौधरीले प्रतिनिधिसभाको बैठकमा सरकारको ध्यानाकर्षण गर्दै यस्तो प्रश्‍न गर्नुभएको हो ।

खाँणले जाति विशेषलाई लक्षित गरी प्रहरीले गोली नहानेको र गोली हान्‍न प्रहरीलाई आदेश पनि नदिइएको जवाफ दिनुभयो ।

घटनाको छानबिनका लागि उहाँले मन्त्रालयकै सहसचिव हरि घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गर्नुभएको छ ।

संसद् बैठक बसेपछि लगातारजस्तो गृहमन्त्री खाँणविरुद्ध एमाले मात्र नभई अन्य पार्टीका सांसदहरूले शान्ति सुरक्षाको विषयलाई लिएर निरन्तर आलोचना गर्दै आएका छन् ।

फेरि, उहाँ प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र प्रहरी महानिरीक्षक (आईजी) बढुवामा पनि विवादमुक्त हुन सक्नुभएन ।

गृह मन्त्रालयसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसमेतलाई विपक्षी बनाउँदै उमेर हदका कारण हाल सेवा निवृत्त अवस्थामा रहेका प्रहरी नायव महानिरीक्षकहरू घनश्याम अर्याल, ईश्‍वरबाबु कार्की, प्रकाशजंग कार्की र प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गर्नुभएको छ । रिटको टुङ्‍गो लाग्‍न भने बाँकी छ ।

गृहमन्त्री खाँण कांग्रेसका दोस्रो पुस्ताका प्रभावशाली नेता मानिनु हुन्छ । प्रधानमन्त्री देउवाका विश्वास पात्र भए पनि उहाँको ‘पर्फर्मेन्स’ भन्‍ने प्रशंसायोग्य नभएको उहाँका विवादास्पद कदमले देखाएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?