पर्यटन समृद्ध खोज्दै निसीखोला

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 8 mins

बागलुङ । समथर भू-भागदेखि उच्च पहाडसम्म फैलिएको निसीखोलामा अनगिन्ती धार्मिक तथा पर्यटकीय गन्तव्यहरु छन् । तर प्रचारप्रसार र पूर्वाधार निर्माण नहुँदा धेरै संभावना बोकेका गन्तव्यहरु पनि अझै ओझेलमा छन् । स्थानीय सरकार आएपछि केही परिवर्तन भने हुँन थालेको छ । १२ सयदेखि चार हजार उचाईसम्म रहेको निसीखोलामा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आगमनसमेत बढ्दै गएको छ ।

प्रचारप्रचारको अभावमा आझेलमा परेका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास तथा प्रवर्द्धनका लागि निसीखोला गाउँपालिकाले सक्रियतासमेत देखाएको छ । पालिका भित्र रहेका दर्जनौँ संभावना बोकेका पर्यटकीय गन्तव्य उजागर गर्नका लागि गाउँपालिकाले केन्द्र र प्रदेश सरकारसँग समन्वय गरिरहेको छ । गाउँपालिकाले रोल्पा, रुकुम र प्युठानसहित जिल्लाका विभिन्न पालिकासँग जोडिएका महत्वपूर्ण गनतव्यहरुको पहिचान र प्रचार गरि पूर्वाधार निर्माण गर्न थालेको छ ।

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले लोडिएपछि ओझेलिएका गन्तव्यहरु पनि प्रचारमा आउन थालेका छन् । पालिका भित्र रहेका धार्मिक तथा पर्यटकीय स्थलहरुको गुरुयोजना बनाउने र तिनीहरुको प्रचारप्रसार र विकासका लागि गाउँपालिका योजनाबद्ध रुपमा लागेको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्य बहादुर घर्ती मगरले बताउनुभयो ।

घर्तीले चर्चामा आएका गन्तव्यहरुको पूर्वाधारमा जोड दिने र ओझेलमा रहेका स्थलहरुको प्रचारप्रसारलाई तीव्रता दिने बताउनुभयो । उहाँले भन्नुभयाे- “निसीखोलामा अनगिन्त धार्मिक तथा पर्यटकीय क्षेत्रहरु छन्, कति हामीले पहिचान गरेका छौँ, कति पहिचान गर्न बाँकी छन्, हामी पहिचान र प्रचारको लागि निरन्तर लागि रहेका छौँ, पहिचान भई सकेका स्थलहरुमा पूर्वाधार निर्माण गर्ने र प्रचार गर्ने कार्यमा हामी जुटेका छौँ ।”

गाउँपालिकाले पूर्वी रुकुमसँग जोडिएको रिग ताल, रोल्पासँग जोडिएको जन्ते ढुङ्गा, प्यूठानसँग जोडिएको नाङ्गे धुरी, कोठेभिरलगायतका पर्यटकीय क्षेत्रहरुको पहिचान गरि प्रचारमा जुटेको अध्यक्ष घर्ती मगरको भनाई छ । गाउँपालिकाले प्यूठानको गौमुखी र निसीखोला गाउँपालिकाको सिमानामा पर्ने नाङ्गेको धुरीको विकासका लागि दुबै पालिका, जिल्ला र प्रदेश सरकारसँग सहकार्य गरेर विकास गर्ने उहाँको भनाई छ ।

“यहाँ थुप्रै परम्परागत धार्मिक कला, संस्कृतिसँगै प्राकृतिक सौन्दर्यले भरिएका ठाउँहरु छन्, निसीखोलामा रहेका धेरै जसो पर्यटकीय तथा धार्मिक क्षेत्रहरु विभिन्न जिल्लाका सिमानमा हरहेका छन्, त्यसले गर्दा दुबै पक्षले समन्वय सहकार्य गरेर विकास गर्दा राम्रो हुने हुँदा छलफल गरि रहेका छौँ, र आ-आफ्नो सिमानमा पर्ने स्थालको चाहीँ हामीले आफै योजना बनाएर काम सुरु गरेका छौँ” अध्यक्ष घर्तीले भन्नुभयो ।

वडा नम्बर ६ मा पर्ने रिगताल, वडा नम्बर ३ मा पर्ने नौ बहिनी छहरा, वडा नम्बर ५ मा रहेको कोठेभिर, वडा नम्बर ६ मा रहेको साइलीमाइली झरना, वडा नम्बर ७ को नरसिंहकोट, वडा नम्बर २ को अर्नाकोट, वडा नम्बर ५ को निसेलढोर, वडा नम्बर ३ मा रहेको बराह मन्दिर निसीखोला गाउँपालिकाको प्रमुख गन्तव्य हुन् ।

नरसिंहकोट, रिगताल, अर्नाकोट, नौ बहिनी छहरा, कोठेभिर, नाङ्गेधुरी, निसेल ढोरपाटनको विकासका लागि लागि गुरुयोजना तयार पारेको र केहीको काम सुरु भएको भन्दै अध्यक्ष घर्ती मगरले आगमी वर्षसम्ममा धेरै पर्यटकीय गनतव्य पहिचान हुने र प्रचारमा आउने बताउनुभयो । गाउँपालिकावासीको पर्यटनबाटै जिवनस्तर उकास्न सकिने भन्दै अहिले त्यसको लागि जग तयार गर्न आफूहरु लागि रहेको अध्यक्ष घर्ती मगर बताउनुहुन्छ ।

“पहिलो चरणमा संभावना बोकेका ठाउँहरुको पहिचान गरि रहेका छौँ, त्यसको विकास गर्ने हाम्रो दायित्व हो, भर्खरै यसबाट नतिजा नआउन सक्छ तर विस्तारै नतिजा आउनेमा हामी विस्वस्त छौँ,” उहाँले भन्नुभयो “यहाँका नागरिकहरुको पर्यटन व्यवसायबाटै जीवनस्तर उकास्ने कोसिसमा छौँ, त्यो अनुसारका कामहरु भई रहेका छन् ।”

पर्यटन प्रवर्द्धनका लागि यस वर्ष गाउँपालिकामा २५ लाखभन्दा बढी बजेट विनियोजन भएको गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा वडा वडा नम्बर ७ को नरसिंहकोटलाई प्राथमिकतामा रहेको भन्दै त्यसका लागि आठ लाख विनियोजन गरेको बताउनुभयो । पर्यटकीय ठाउँहरुमा संरचना निर्माणका लागि प्रदेश सरकारबाट पनि केही बजेट माग गरेको र गाउँपालिकाले थप बजेट व्यवस्थापन गरेर नयाँ गन्तव्यको प्रचारप्रसारमा जोड दिने बताउनुभयो ।

नरसिंहकोटमा अहिलेसम्म मन्दिर निर्माण, सत्तल, पदमार्ग लगायतका काम भइसकेको भन्दै अब पर्यटक आकर्षणका लागि संरचना तयार गरिने बताउनुभयो । उहाँ भन्नुहुन्छ- “गाउँपालिकाले रिगतााल, नरसिंहकोटमा निरन्तर बजेट पारि रहेको छ, पूर्वाधार निर्माण पनि भइरहेको छ, यसलाई थप विकास गर्न गाउँपालिकाले गुरुयोजना बनाएको छ, योसँगै पालिका भित्रका धेरै धार्मिक तथा पर्यटकीय क्षेत्रेको गुरुयोजना बनाएका छौँ र ४/६ वटा स्थलको काम हुन बाँकी छ, त्यो पनि केही समयमै सकिने छ ।”

गाउँपालिकाका प्रत्येक वडामा संभावना बोकेका धार्मिक तथा पर्यटकीय स्थलहरु रहेको खोजी गरि रहेको भन्दै पहिचान भएका ठाउँहरुमा सडक तथा पदमार्ग निर्माणका लागि बजेट व्यवस्थापन भएको उहाँले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?