जंगलमै खेर जाँदै जंगली फलफूल

हिमालय टाइम्स
Read Time = 5 mins

-ध्रुवसागर शर्मा

म्याग्दी । यतिबेला म्याग्दीका ग्रामीण भेगका पाखा र जंगलहरूमा ऐंसेलु, काफल, चुत्रो, जानमान्द्रो, मच्छ्यान्नोलगायतका जंगली फलफूलहरू पाकेका छन् । तर, गाउँघर युवाविहीन भएका र शहरबजारबाट मानिसहरू गाउँ नउक्लिएकाले पौष्टिकताले युक्त स्वाादिष्ट अग्र्यानिक जंगली फलफूल जंगलमा नै कुहेर खेर गइरहेका छन् ।

विगत पछिल्ला दुई वर्ष विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दीका कारण गाउँ पुगेका युवाहरू जंगली फलफूलको स्वादमा रमाएका भए पनि यस वर्ष भने ती फलफूलहरू चराको आहारा र कुहेर खेर गएका स्थानीयले बताएका छन् ।

गत दुई वर्ष विदेश र शहरबाट आएका युवाहरूको गाउँको बसाइले गाउँबस्तीमा चहलपहल बढाएको थियो । उनीहरूले जंगलमा गएर पाकेका जंगली फलफूलहरू खाएर समय बिताएका थिए । ‘यस वर्ष जंगलमा तीजु पाकेर खेर गए, अहिले चुत्रो र ऐंसेलु पाकेको छ तर खाने मान्छे नहुँदा ती फलफूलहरू त्यत्तिकै जंगलमा खेर गइरहेका छन्,’ गौश्वाराका चन्द्रकान्त रिजालले भन्नुभयो, ‘पछिल्लो समय गाउँका बस्ती सुनसान भएका छन् । जंगलमा पाकेका मौसमी फलफूलहरू त्यत्तिकै खेर गइरहेका छन् ।’

वनमा पाकेका ऐंसेलु, काफल, चुत्रो, जानमान्द्रो, मच्छ्यान्नोलगायतका फलफूलहरू चराचुरुंगीको आहारामा सीमित भएको उहाँको भनाइ छ ।

देखिँदै जलवायु परिवर्तनको असर

वनस्पति, कृषि र मानव स्वास्थ्यमा पछिल्लो समय जलवायु परिवर्तनका असरहरू प्रत्यक्षरूपमा देखिन थालेका छन् । सामान्यतया चैत-वैशाखमा फुल्ने लालीगुराँस यस वर्ष साबिकभन्दा पहिले नै फुले । त्यसैगरी काफल र ऐँसेलुजस्ता जंगली फल पनि बेमौसममै फल्न सुरु भएका वातावरणविद्हरूले बताएका छन् ।

फागुनको मध्यदेखि कोपिला लाग्न सुरु हुने लालीगुराँस यस वर्ष भने फागुनको दोस्रो सातामा नै ढकमक्क फुलेका थिए । जिल्लाका जंगलमा पुसदेखि नै लालीगुराँस फुल्नुका साथै जंगली फलफूल र कन्दमूल पाक्न थालेका थिए । यसरी बेमौसममा नै लालीगुराँस फुल्नु र जंगली फलको मौसमी चक्र परिवर्तन हुनुमा तापमान अर्थात् जलवायु परिवर्तनको प्रत्यक्ष असर परेकोे वातावरण संरक्षणकर्मी चन्द्रमणि सापकोटाले बताउनुभयो ।

वातावरणविद् सापकोटाका अनुसार स्वाभाविक समयअगाडि नै गुराँस फुल्नु र बेमौसमी फल फल्नु स्वाभाविक प्राकृतिक गुण नभएर वातावरणीय असर हो । विश्वमा बढ्दो तापक्रम वृद्धि र जलवायु परिवर्तनका कारण कतिपय देखिने र धेरै नदेखिने परिवर्तन भइरहेका छन् । अन्य फूलसमेत बेमौसममा फुल्न थालेको र अन्नबालीमा समेत यसको असर देखिएको मंगला गाउँपालिकाका हरिकृष्ण पौडेलले बताउनुभयो । ‘अहिले बेमौसममा नै काफल, तीजुलगायत जंगली फल पाकेको र अन्नबालीको फल लाग्ने र खेती गर्ने समयमा समेत नजाँनिदो गरी परिवर्तन आएको छ,’ उहाँले भन्नुभयो ।

वातावरण संरक्षणकर्मी सापकोटाका अनुसार स्वाभाविक समयअगाडि नै फूल फुल्नु र बेमौसमी फल फल्नु स्वाभाविक प्राकृतिक गुण नभएर वातावरणीय असर हो । विश्वमा बढ्दो तापक्रम वृद्धि र जलवायु परिवर्तनका कारण कतिपय देखिने र धेरै नदेखिने परिवर्तन भइरहेका छन् । उहाँका अनुसार जलवायु परिवर्तनका कारण हिमाल, वनस्पति, मानव स्वास्थ्य र महिलाको प्रजनन् प्रक्रियामा समेत धेरै परिवर्तन देखिएका छन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?