एसियाली खेलकुदको विशेष प्रशिक्षण सुरु

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । चीनको हाङझावमा हुने एसियाली खेलकुदलाई लक्षित गरी खेलाडीको पहिलो चरणको विशेष प्रशिक्षण बुधबारदेखि सुरु भएको छ । मंगलबारमात्रै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङले त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आयोजित एक कार्यक्रमबीच सो विशेष प्रशिक्षणको उद्घाटन गर्नुभएको थियो ।

खेलाडीको क्षमता र कौशल अभिवृद्धि गर्नुका साथै वैज्ञानिक विधिबाट प्रशिक्षण प्रदान गर्दै नतिजामूलक उपलब्धि हासिल गर्न प्रशिक्षणको सुरुवात गरिएको हो । प्रशिक्षणमा विभिन्न २३ खेलका ५१४ खेलाडी र ६६ प्रशिक्षक गरी ५८० जना समावेश हुनेछन् ।

खेलाडीमा २३० पुरुष र २८४ महिला छन् । खेलहरूमा तेक्वान्दो, कराँते, बक्सिङ, एथलेटिक्स, साइक्लिङ, फुटबल, गल्फ, जुडो, पौडी, ट्रायथालन, उसु, कुस्ती, भारोत्तोलन, आर्चरी, बास्केटबल (थ्री बाई थ्री), फेन्सिङ, हृयान्डबल, कबड्डी, टेबलटेनिस, भलिबल, ब्याडमिन्टन, क्रिकेट र सुटिङ रहेका छन् । यी खेलका खेलाडी छनोट गर्न प्रारम्भिक छनोट प्रतियोगिता पनि आयोजना भएको थियो ।

पहिलो चरणको विशेष प्रशिक्षण असार २३ गतेसम्म सञ्चालन हुनेछ । दोस्रो चरणको छनोट असार २४ देखि २७ गतेसम्म हुनेछ । प्रशिक्षणका लागि विज्ञहरू पनि परिचालन गरिनेछ ।

कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य-सचिव घिसिङले राष्ट्रिय टिमलाई बलियो र व्यवस्थित बनाउन विशेष प्रशिक्षणको सुरुवात गरिएको बताउँदै ३६५ दिन नै खेलाडीलाई प्रशिक्षणमा सामेल गराउन परिषद्ले तयारी गरिरहेको बताउनुभयो । उहाँले एसियाली खेलकुदमात्र नभई प्रशिक्षण अन्य अन्तर्राष्ट्रिय प्रतियोगितको तयारीलाई पनि सहज हुने बताउँदै खेलाडीहरूकै उपलब्धिका कारण खेलकुदका निकायमात्र नभई सिंगो राज्यले गर्व महसुस गर्ने वातावरण बनेको धारणा व्यक्त गर्नुभयो ।

प्रशिक्षकका तर्फबाट भारोत्तोलनका प्रमुख प्रशिक्षक राम पौडेलले प्रशिक्षणले निरन्तरता पाउनुपर्नेमा जोड दिनुभयो । १३औँ दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता एथलेटिक्सकी सन्तोषी श्रेष्ठले देशलाई केही दिनुपर्छ भन्ने जोस खेलाडीमा पनि भएकाले प्रशिक्षण सुरु भएकोमा खुसी व्यक्त गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?