काठमाडौं । लण्डनस्थित नेपाली दूतावासले आयोजना गरेको उच्चस्तरीय लगानी सम्मेलनका सहभागीहरूले बेलायती लगानीकर्तालाई नेपालमा लगानी गर्न आहृवान गरेका छन् । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको समृद्धि र आर्थिक रूपान्तरणका लागि ठूलो वित्तीय स्रोतको आवश्यकता रहेको भन्दै त्यसका लागि आन्तरिक स्रोत पर्याप्त नहुने भएकाले वैदेशिक लगानी अपरिहार्य रहेको बताउनुभयो ।
अर्थमन्त्री महतले नेपाल सरकारले लगानीमैत्री वातावरणका लागि आवश्यक ऐन, कानुन निर्माण तथा परिमार्जन एवं संस्थागत व्यवस्था गरेको र यस वर्षको बजेटले लगानीकर्तालाई थप सहजीकरण गर्न विभिन्न सुधारका कार्य सुरु गरेकोसमेत बताउनुभयो । अन्तर्राष्ट्रिय वित्त बजारबाट पुँजी परिचालन गर्न आवश्यक कानुनी पूर्वाधार तयार गरिने जानकारी दिँदै उहाँले आगामी दिनमा बेलायतबाट लगानीमा थप वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।
बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपालले वित्तीय केन्द्र लण्डनबाट लगानीका दीर्घकालीन वित्तीय स्रोतमार्फत् बेलायतबाट नवीकरणीय ऊर्जा, सूचना प्रविधि, शिक्षा तथा पर्यटन क्षेत्रमा प्राथमिकताका साथ लगानी भित्र्याउन चाहेको बताउनुभयो । नेपालले विद्युत् व्यापारका लागि छिमेकी मुलुक भारतसँग द्विपक्षीय सम्झौता गरेको तथा बंगलादेशसमेत निर्यात गर्न तयारी गरेको भन्दै नेपालको जलविद्युत्बाट नेपालमात्र नभई दक्षिण एसियाली क्षेत्रमै जलवायु परिवर्तसम्बन्धी लक्ष्य पूरा गर्न सहयोग पुग्ने बताउनुभयो ।
सिटी अफ लण्डनका अल्डरम्यान तथा सेरिफ ब्रोनेक मसोजादाले सिटी अफ लण्डनमा प्रशस्त वित्तीय स्रोत तथा जोखिम बहन गर्ने बिमा कम्पनी रहेको भन्दै नेपालको दिगो विकासका लागि सिटी अफ लण्डनको सहयोग रहने बताउनुभयो । बेलायती परराष्ट्र मन्त्रालयका निर्देशक बेन मेलरले गत केही वर्षमा ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्टमार्फत् नेपालका विभिन्न क्षेत्रमा लगानी बढ्दै गएको र वैदेशिक लगानीको वातावरण सुधारका लागि बेलायतले सहयोग गर्दै आएको जानकारी गराउँदै नेपालको अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने प्रक्रिया सहज बनाउन निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
बेलायती संसद्मा बेलायत नेपाल संसदीय समूहका अध्यक्ष वीरेन्द्र शर्माले नेपाल-बेलायत ऐतिहासिक सम्बन्धको चर्चा गर्दै नेपालका विभिन्न क्षेत्रमा लगानीको प्रशस्त सम्भावना रहेको बताउनुभयो । युके एक्सपोर्ट फाइनान्सका प्रमुख कार्यकारी अधिकृत टिम रिडले नेपालका विभिन्न क्षेत्रमा १.५ बिलियन पाउण्डसम्म लगानी गर्न युके एक्सपोर्ट फाइनान्स तयार रहेको जानकारी दिनुभयो ।
विशेषगरी नेपालको नवीकरणीय ऊर्जा, सूचना प्रविधि एवं शिक्षा क्षेत्रमा लगानी भित्र्याउनेबारेमा केन्द्रित सम्मेलनमा नवीकरणीय ऊर्जा तथा सूचना प्रविधिसम्बन्धी विषयमा सम्बन्धित क्षेत्रसँगका व्यक्तिहरूसँग छुट्टाछुट्टै प्यानलमा छलफल भएको थियो भने शिक्षा क्षेत्रमा नेपालमा रहेका अवसरबारेमा ब्रिटिस कलेजका अध्यक्ष राजन कँडेलले प्रस्तुति गर्नुभएको थियो ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले वैदेशिक लगानी स्वीकृति तथा विदेशी कम्पनीको लाभांश फिर्ता लैजाने प्रक्रिया सरलीकरण गर्न राष्ट्र बैंक प्रतिबद्ध रहेको बताउनुभयो । लगानी बोर्ड नेपालका सहसचिव अमृत लम्सालले वैदेशिक लगानीका लागि नेपालको विभिन्न क्षेत्रमा रहेका अवसरबारेमा प्रस्तुति दिँदै वैदेशिक लगानी स्वीकृति तथा परियोजना कार्यान्वयन अवधिभर विदेशी लगानीकर्तालाई सहजीकरण गर्न लगानी बोर्ड प्रतिबद्ध रहेको बताउनुभयो । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सन्दीप देवले नेपालको ऊर्जा क्षेत्र विशेषगरी कार्यान्वयनमा रहेका जलविद्युत् परियोजना, भारत तथा चीनसँग विद्युत् विकास तथा खरिदका लागि भएका सम्झौता एवं जलविद्युत् विकासका लागि नेपालको आगामी योजनाबारे उल्लेख गर्दै सो क्षेत्रका लागि ठूलो पुँजीको आवश्यकता रहेकाले लगानीकर्ताका लागि सो क्षेत्रमा ठूलो अवसर रहेको बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीमैत्री वातावरण भएको हुँदा वैदेशिक लगानीकर्तालाई निर्धक्क भएर लगानी गर्न आग्रह गर्नुभयो । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपालका अध्यक्ष गणेश कार्कीले नेपालमा जलविद्युत् तथा अन्य नवीकरणीय ऊर्जा क्षेत्रमा लगानीका अवसरबारेमा जानकारी दिँदै नेपाल सरकारको भूमिका सकारात्मक रहेकाले वैदेशिक लगानीकर्तालाई नेपालमा लगानी गर्न आहृवान गर्नुभयो । ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्टका प्रबन्ध निर्देशक कोलिन बक्ली तथा डोल्मा इम्प्याक्ट फण्डका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत टिम गोचरले नेपालमा आफूहरूले गरेको लगानी फलदायी रहेको भन्दैै उत्तरदायी लगानीका लागि नेपाल उपयुक्त मुलुक भएको बताउनुभयो ।
सम्मेलनमा नेपालमा लगानी गरिरहेका विकास वित्तीय संस्थातर्फबाट इन्भेस्ट फर इम्प्याक्ट नेपालका प्रमुख कार्यकारी अधिकृत विवेक श्रेष्ठले विकास वित्तीय संस्थाको लगानीबारेमा प्रस्तुति दिनुभएको थियो भने अर्थ मन्त्रालय तथा नेपालमा लगानी गरिरहेका छवटा विकास वित्तीय संस्था ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्ट, बेलायत, एफएमओ, नेदरल्याण्ड, बायो, बेल्जियम, फिनफण्ड, प्रोपार्को, फ्रान्स एवं साइफेम, स्वीजरल्याण्डबीच नेपालमा विकास वित्तीय संस्थाहरूको लगानी सहजीकरण गर्ने सम्बन्धी एक समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको थियो ।
नेपाल र संयुक्त अधिराज्यबीच सन् १९२३ मा सम्पन्न मैत्री सन्धि हस्ताक्षर भएको एक सय वर्ष पूरा भएको अवसरमा नेपाली दूतावासले सिटी अफ लण्डनको म्यान्सन हाउसमा उच्चस्तरीय लगानी सम्मेलनको आयोजना गरेको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच