जिसस लमजुङमा एमालेको प्यानल विजयी

Read Time = 2 mins

लमजुङ । लमजुङको जिल्ला समन्वय समितिमा नेकपा एमालेको प्यानल विजयी भएको छ । जिल्ला समन्वय समितिको प्रमुखमा एमालेका पूर्णबहादुर गुरुङ निर्वाचित हुनुभयो ।

तीन नगरपालिकाको मेयर, एक गाउँपालिकाको प्रमुखसहित एक गाउँपालिकाको उपाध्यक्ष जितेको नेपाली कांग्रेसले समन्वय समितिको प्रमुख पदमा बाहेक अरू पदमा उम्मेदवारी दिएको थिएन । तीन गाउँपालिका प्रमुख, दुई गाउँपालिका उपाध्यक्ष, एक नगरपालिका प्रमुख र उपप्रमुख, दुई नगरपालिका उपप्रमुख गरी ९ स्थानमा विजयी एमाले मात्र जिससमा उम्मेदवारी दर्ता गराएको थियो ।

जिल्ला समन्वय समिति लमजुङको प्रमुखमा नेकपा एमालेबाट पूर्णबहादुर गुरुङ र गठबन्धनबाट नेपाली कांग्रेसका मुरली कुमालको उम्मेदवारी परेको थियो । गुरुङले १० मत ल्याए भने कुमालले ६ मत प्राप्त गर्नुभयो ।

जिल्ला समन्वय समिति लमजुङको उपप्रमुखमा भने नेकपा एमालेको तर्फबाट बुनाकुमारी रिमाल निर्विरोध निर्वाचित हुनु भयो । सदस्यमा पनि एमालेको मात्र उम्मेदवारी परेपछि सबै सदस्य निर्विरोध भएका छन् ।

समन्वय समितिको खुला सदस्यमा मध्यनेपालका मोहनबहादुर गुरुङ, बेसीशहरका केशरबहादुर खत्री, दोर्दीका शेरबहादुर बोगटी, महिला सदस्यमा मर्स्याङ्दीबाट वविता मजाकोटी, सुन्दरबजारबाट विमला खड्का, मध्यनेपालबाट शारदा साखी र अल्पसंख्यकबाट सुन्दरबजारका गमबहादुर दुराको मनोनयन मात्र परेको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?