सीमित स्रोत साधनबीच सशस्त्र प्रहरीको उत्कृष्ट काम : गृहमन्त्री खाँण

Read Time = 4 mins

मुग्लिन । गृहमन्त्री बालकृष्ण खाँणले सीमित स्रोत र साधनका बीच पनि सशस्त्र प्रहरीले उत्कृष्ट कार्य गरिरहेको बताउनुभएको छ ।

चितवनको इच्छाकामना–४ स्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा आज गोताखोर तालिमको समापन कार्यक्रममा उहाँले सीमित स्रोत साधनबीच पनि छोटो समयमै सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन शिक्षालयले सयौँ मानिसको ज्यान बचाउन सफल भएको बताउनुभएको हो ।

गृहमन्त्री खाँणले भन्नुभयो, “यस विपद् तालिम शिक्षालयले छोटो समयमै सयौँ नागरिकको जीवन बचाउने काम गरिरहेको छ, तथापि साधन र स्रोतको सीमाका कारणले पूर्ण क्षमताको काम गर्न सकेको छैन ।”

उहाँले आवश्यक स्रोत साधनका साथै प्रशिक्षकलाई थप सेवा–सुविधा उपलब्ध गराउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “विपद् व्यवस्थापन शिक्षालयका लागि आवश्यक स्रोत साधन उपकरण, प्रशिक्षकलाई थप सेवा–सुविधा बढाउनुपर्ने देखिएको छ, त्यसका लागि मन्त्रालय र प्राधिकरणले आवश्यक कार्य गर्नुपर्छ ।”

गृहमन्त्री खाँणले स्थापनाकालदेखि नै सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीले प्राकृतिक विपद्मा नागरिकको जीवनरक्षा गर्नेजस्ता महत्वपूर्ण काम गर्दै आएकामा धन्यावाद दिनुभयो । साथै उहाँले कुरिनटारस्थित त्रिशूली नदीमा गोताखोर तालिमको डेमो र यस शिक्षालयमा रहको ट्रमा सेन्टरको अवलोकन गर्नुभएको थियो ।

सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले विपद् व्यवस्थापन कार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले १० वर्षअघि स्थापना गरिएको यस शिक्षालयमा पेशागत तालिमका साथै विपद् व्यवस्थापनसम्बन्धी आधारभूत तालिम सञ्चालन गर्दै आइरहेको बताउनुभयो । यसै सिलसिलामा राष्ट्रिय विपद् प्राधिकरणको सहयोगमा विपद् व्यवस्थापन तालिम आयोजना गरिएको उहाँको भनाइ छ । नेपालमा नदी तालमा भइरहने विपद्मा उद्धारका लागि गोताखोर परिचालन अपरिहार्य रहेको महानिरीक्षक अर्यालको भनाइ छ ।

राष्ट्रिय विपद् प्राधिकरण र सशस्त्र प्रहरी बल प्रधान कार्यालयबीचको सहकार्यमा सम्पन्न उक्त तालिममा २० सशस्त्र प्रहरीका जवान प्रशिक्षार्थीका रूपमा सहभागी भएका थिए । तालिम गत वैशाख २५ गतेदेखि सुरु भएको थियो ।

तालिमको समापन कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डे, चितवनका प्रमुख जिल्ला अधिकारी आशमान तामाङ, धादिङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, अनुसन्धान निर्देशक हरिहर पौडेल, इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङलगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?