पाल्पाका महिला जनप्रतिनिधिको नयाँ जोस, लैङ्गिक हिंसा रोक्ने तदारुकता

Read Time = 5 mins

-रामचन्द्र रायमाझी
पाल्पा । पहिलो पाँच वर्ष विताएका जनप्रतिनिधिको प्राथमिकतामा सडक, विद्युत्, पुलपुलेसा र भौतिक संरचना निर्माणजस्ता एजेन्डा परे । सामाजिक विकृति र समस्याप्रति उनीहरुको ध्यान जान नसकेको स्थानीयको गुनासो छ । तर यस पटक निर्वाचित नयाँ महिला जनप्रतिनिधिहरुले भने नयाँ काम गर्ने अठोट लिएका छन् ।

पाल्पाको तानसेन नगरपालिकाका महिला नवनिर्वाचित जनप्रतिनिधिहरुले समाजका समस्याप्रति चासो देखाएका छन् । उनीहरुले लामो समयसम्म नेपाली समाजमा जरो गाडेको लैङ्गिक हिंसा रोक्ने विषयमा ऐक्यवद्धता जनाएका छन् ।

लैङ्गिक हिंसा बढ्दै गएपछि उनीहरुले कारण पहिचान गरी रोक्न कस्सिएका हुन् । अधिकाश लैङ्गिक हिंसा मादक पदार्थ सेवन तथा लागु औषध सेवनका कारण हुने गरेकाले त्यस्ता गतिविधी नियन्त्रण गर्न यहाँका १४ वटै वडाका महिला जनप्रतिनिधिहरु सक्रिय भएर लाग्ने अठोट गरेका छन् । जिल्ला प्रशासन कार्यालय पाल्पाले तानसेनमा गरेको लैङ्गिक हिंसा तथा लागु औषध नियन्त्रणको विषयक अन्तक्र्रिया कार्यक्रममा यहाँका महिला जनप्रतिनिधीहरुले टोल–टोलमा गएर मादक पदार्थ सेवन तथा नियन्त्रणका लागि जनचेतना जगाउने, कानुनी कुराहरुको बारेमा सचेतना फैलाउने, हिंसाका घटनाका बारेमा प्रहरी, प्रशासनमा जानकारी गराउने बताएका छन् । अधिकांश महिला हिंसा, लैङ्गिक हिंसाका घटनाहरु, लागु पदार्थकै कारण हुने भएकाले नियन्त्रण तथा रोकथामका लागि नवनिर्वाचित महिला जनप्रतिनिधीहरुले साझा ऐक्यवद्धता जनाए ।
महिला जनप्रतिनिधिहरुले लैंङ्गिक हिंसा रोक्न देखाएको सक्रियता र चासो अत्यन्त प्रशंसनीय रहेको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताउनुभयो । घरेलु रक्सी, जाँड जस्ता मादक पदार्थका कारण ९९ प्रतिशत महिला हिंसाका घटना हुने गरेकाले गाउँ, शहरमा लुकी छिपी हुने घरेलु मदिराको उत्पादन, बेचविखन तथा ओसार-पसारमा चनाखो बन्न महिला जनप्रतिनिधीहरुलाई प्रमुख जिल्ला अधिकारी पन्तले आग्रह गर्नुभयो । अहिले पाल्पाका कतिपय स्थानमा आय आर्जनको नाममा अवैध तरीकाबाट महिलाहरुले नै घरेलु रक्सी बनाउने, पसल पसलमा बेच्ने, पुरुषलाई खुवाउने, साँझ त्यही रक्सी खाई श्रीमानले श्रीमती, बालबच्चासँग झगडा गर्ने, कुटपिट गर्ने जस्ता कामहरु हुँदै आएका छन् । घरेलु मदिरा उत्पादन, वेचविखन, ओसार पसार जस्ता गतिविधी नियन्त्रण गर्न सके महिला हिंसा ९० प्रतिशतले घट्ने प्रजिअ पन्तले बताउनुभयो ।

लैङ्गिक हिंसा अन्तर्गत ९० प्रतिशत महिला र १० प्रतिशत पुरुषहरु पिडित भएको उजुरीहरु यहाँ पर्ने गरेका छन् । घरधन्दा देखी कार्यालयका कामहरु, बिहानदेखि साँझसम्मका कामहरु महिलाहरुले गर्नुपर्ने, हिंसामा पनि महिलाहरु परेको अवस्थामा जनप्रतिनिधीहरुले यस्ता विषयमा जानकारी लिई नियन्त्रणको अभियान चलाउनु पर्ने सहायक प्रमुख जिल्ला अधिकारी भक्तीसरा रानाले बताउनुभयो । लागु पदार्थको उत्पादन, कारोवार, सेवन, कानुनी अवस्था, दण्ड सजाय, लागु औषध  दुर्व्यसनीमा फसेका व्यक्तिहरुलाई उद्धार जस्ता विषयमा जनप्रतिनिधिहरुसँग सहकार्य गरी आफुहरु अगाडि बढ्ने जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपेन्द्र थापाले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?