कोलम्बो । श्रीलंकाले साप्ताहिक इन्धन कोटा प्रणाली लगाएको छ । इन्धन अभाव तीव्र भएको र सञ्चालनमा आएका केही पेट्रोल पम्पबाहिर तेल भर्नेको लाइन बढिरहेका बेला सरकारले कोटा प्रणाली घोषणा गरेको हो ।
ऊर्जा मन्त्री कञ्चना विजेसेखेराले राज्य सञ्चालित सिलोन पेट्रोलियम कर्पोरेसनले तेल आयातमा संघर्ष गरिरहेको बताउनुभयो । ‘वित्तीय अवस्था सुदृढ गर्न सक्षम नभएसम्म तेल भर्ने स्टेसनहरूमा ग्राहकको नाम दर्ता गरेर उनीहरूलाई साप्ताहिक कोटा सुनिश्चित गर्नुको विकल्प छैन’, उहाँले भन्नुभयो, ‘म जुलाईको पहिलो सातासम्म यो प्रणाली लागू हुने आशा गर्छु ।’
विदेशी मुद्रा सञ्चितिको अभावका कारण खाद्यान्न, इन्धन र औषधिजस्ता आधारभूत आवश्यकता आयात गर्न नसक्दा श्रीलंका दशकौंयताकै सबैभन्दा खराब आर्थिक संकटसँग जुधिरहेको छ ।
अप्रिलको मध्यतिर सरकारले सबै इन्धन स्टेसनहरूलाई मोटरसाइकलमा चार लिटरभन्दा बढी, तीन पांग्रे्रे सवारीसाधनका लागि पाँच र कारका लागि साढे १९ लिटर पेट्रोल वा डिजेल उपलब्ध गराएको थियो ।
यसैबीच श्रीलंकाले रूससँग इन्धन खरिद गर्न आफू बाध्य हुनसक्ने बताएको छ । एसोसिएटेड प्रेससँगको अन्तर्वार्तामा प्रधानमन्त्री रनिल विक्रमसिंघेले अन्य स्रोतबाट इन्धनको जोहो गर्ने प्रयत्न भए पनि रूसी तेल खरिद गर्न खुला रहेको बताउनुभएको छ । युक्रेन आक्रमणको विरोधमा पश्चिमा राष्ट्रले मस्कोमाथि कडा प्रतिबन्ध लगाएर उसबाट ऊर्जा आयात बन्द गरेका बेला प्रधानमन्त्री विक्रमसिंघेले रूसी तेल किन्न आफू खुला रहेको बताउनुभएको हो ।
बाहृय ऋण बढिरहेको भए पनि उहाँले चीनबाट थप आर्थिक सहयोग प्राप्त गर्न आफू इच्छुक रहेको बताउनुभएको छ । आफ्नै कारणले आर्थिक संकट सामना गरिरहेको श्रीलंकालाई युक्रेन युद्धले अझ प्रभावित पारेको बताउँदै आफ्नो देशले आगामी दुई वर्षसम्म गम्भीर खाद्यान्न अभाव झेल्नुपर्ने सम्भावित परिस्थितिप्रति चिन्ता व्यक्त गनुभयो । विदेशी मुद्रा सञ्चिति लगभग रित्तिएको श्रीलंकालाई आर्थिक संकटबाट पार लगाउन राष्ट्रपति गोटावाया राजपाक्षले प्रधानमन्त्री नियुक्त गर्नुभएका विक्रमसिंघे अर्थमन्त्री पनि हुनुहुन्छ ।
लामो लोडसेडिङ, खाद्यान्न, इन्धन र औषधिको तीव्र अभावले दुई करोड २० लाख जनसंख्या भएको श्रीलंकामा व्यापक पीडा निम्त्याएको छ । सन् १९४८ मा स्वतन्त्रपछि श्रीलंका अहिलेसम्मकै खराब आर्थिक संकटबाट गुज्रिरहेको छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच