चीनको ल्याण्डर चांगे-५ले पत्ता लगायो चन्द्रमामा पानी

हिमालय टाइम्स
Read Time = 4 mins

बेजिङ । वैज्ञानिकहरूले चन्द्रमामा पानी भेटाएका छन् । तर, यो पानीको बहाव भने छैन । जमिनमुनि अँध्यारो भागमा रहेको क्रेटर अर्थात् खाडलहरूमा जमेको बरफमा छ वा हाइड्रेटेड ढुंगाहरूमा छ । चीनको लुनार ल्याण्डर चांगे-५ ले चन्द्रमामा पानी पत्ता लगाएको हो । यससँगै यसको स्रोत पनि पत्ता लागेको छ ।

चीनको यो खोज रिपोर्ट नेचर कम्युनिकेसन्स जर्नलमा प्रकाशित गरिएको छ । चीनको लुनार ल्याण्डर चांगे-५ चन्द्रमामा हुँदा पानी पत्ता लगाउने पहिलो प्रयोगशाला हो । चन्द्रयान-१ वा एलआरओले चन्द्रमाको परिक्रमा गर्दा पानी पत्ता लगाएको थियो । जबकि, चांगे-५ लुनार ल्याण्डर चन्द्रमाको त्यो क्षेत्रमा छ, जहाँ हालसम्म कुनै पनि ल्याण्डर वा रोभर गएको छैन ।

चांगे-५ लुनार ल्याण्डरबाट प्राप्त तथ्यांकअनुसार चन्द्रमामा पानी हाइड्रोक्सिल ग्रुपको रूपमा रहेको छ । अर्थात् हाइड्रोजन र अक्सिजनका परमाणुहरू आपसमा फसेका छन् । यो पानीका लागि सबैभन्दा सामान्य रासायनिक प्रक्रिया हो । चिनियाँ वैज्ञानिकहरूले पानीका थोपाहरू फेला पारेनन्, तर ढुंगामा रासायनिक मिश्रण भेटिएको छ । चांगाई–५ लुनार ल्याण्डर हाल चन्द्रमाको ओशनस प्रोसेलेरम अर्थात् आँधीबेहरीको महासागरमा रहेको छ ।

ओशनस प्रोसेलेरममा हाइड्रोक्सिल को मात्रा प्रतिमिलियन ३० भाग छ । चाइनिज एकेडेमी अफ साइन्सेसको नेशनल एस्ट्रोनोमिकल अब्जर्भेसनका वैज्ञानिक तथा यस प्रतिवेदनका लेखक ली चुनलाईले भन्नुभएको छ, ‘विश्वमा पहिलोपटक हामीले चन्द्रमाबाट फर्किएको नमुनाको परीक्षण गरेका छौं । चन्द्रमामा रहेको ल्याण्डर चंगाई-५ को तथ्यांक पनि विश्लेषण गरिएको छ । दुवै तथ्यांकले चन्द्रमामा पानी रहेको बताइरहेको छ । अब यो पुष्टि भएको छ । त्यहाँ पानीको रूपमात्र फरक छ ।’

ली चुनलाईले यस समयमा चन्द्रमामा सौर्य हावाको गति कम रहेको बताउनुभयो । लगातार आउने सौर्य हावाका कारण चन्द्रमामा हाइड्रोक्सिल पनि बन्न सक्छ । यो कुरा दशकौंदेखि थाहा थियो तर चीनको चांगे-५ लुनार ल्याण्डरले चन्द्रमामा रहेको पानी यसको सतह मुनिबाट निस्कने ढुंगामा रहेको पुष्टि गरेको छ । कुनै समयमा ज्वालामुखी विष्फोटमा यी ढुंगाहरू बाहिर आए पनि । चन्द्रमाको ढुंगाको अध्ययन गरेर चन्द्रमा, यसको उत्पत्ति र रासायनिक मिश्रणको बारेमा जानकारी पाइरहेको लीले बताउनुभएको छ ।

सौर्यमण्डलको पाँचौं ठूलो उपग्रह चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक छ । नासाका अनुसार चन्द्रमा पृथ्वीबाट करिब तीन लाख ८४ हजार ३९८ किलोमिटरको दूरीमा छ । यसको धरातल असमथल छ ।

यसको व्यास तीन हजार चार सय ७६ किलोमिटर छ । यसको परिक्रमा पथ दीर्घ वृत्ताकार छ । सूर्यबाट परावर्तीत यसको प्रकाश पृथ्वीसम्म आइपुग्न १.३ सेकेण्ड लाग्छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?