वस्तुगत संघहरूद्वारा महासंघको ध्यानाकर्षण

Read Time = 6 mins

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका सदस्य वस्तुुगत संघको हालै सम्पन्न वार्षिक साधारणसभाबाट निर्वाचित अध्यक्ष एवं पदाधिकारीको सम्मानमा महासंघले बुधबार स्वागत कार्यक्रम आयोजना गरेको छ । महासंघको वस्तुुगत परिषद्द्वारा आयोजित कार्यक्रममा नेपाल हस्तकला महासंघ, नेपाल इँटा उद्योग महासंघ, नेपाल अलैंची व्यवसायी महासंघ, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स, नेपाल चलचित्र संघ, नेपाल दाना उद्योग संघ र नेपाल बिउ व्यवसायी संघका नवनिर्वाचित पदाधिकारीको उपस्थिति रहेको थियो ।

सो अवसरमा महासंघ अध्यक्ष शेखर गोल्छाले नवनिर्वाचित अध्यक्ष एवं पदाधिकारीलाई बधाई दिँदै मुलुकको अर्थतन्त्रमा वस्तुुगत संघको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले उद्योगधन्दा विस्तार, रोजगारी सिर्जना, पुँजी निर्माणमा वस्तुगत संघहरूले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो । उहाँले महासंघले अघि सारेको भिजन पेपरका लक्ष्य पूरा गर्ने कार्यमा पनि महासंघले वस्तुगत संघको सहयोग खोजेको बताउनुभयो ।

अध्यक्ष गोल्छाले भन्नुभयो, ‘अब यसले लिएका लक्ष्य पूरा गर्ने कार्यमा तपाईंहरूले आ–आफ्ना स्थानबाट नेतृत्व लिएर अघि बढ्नुहोस्, तपार्इंहरूलाई के–कस्तो सहयोग चाहिन्छ, महासंघले सहयोग गर्छ ।’

महासंघका उपाध्यक्षद्वय दिनेश श्रेष्ठ र अञ्जन श्रेष्ठले महासंघको शक्ति नै सदस्य संघ भएकाले आफ्ना सदस्यको सहयोग र सहकार्यमा निजी क्षेत्रका चुनौती सामना गर्दै मुलुुकभित्र उद्योग व्यवसाय विस्तार, रोजगारी सिर्जनामा महासंघ लागिरहेको बताउनुभयो । निजी क्षेत्रका अगाडि समस्याका पहाड रहेकाले ती समस्या पन्छाएर काम गर्न निजी क्षेत्रबीच एकता र सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो ।

नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले हस्तकला क्षेत्रको दीर्घकालीन विकासका लागि सार्क हस्तकला विकास केन्द्र सञ्चालन, महासंघले राष्ट्रिय हस्तकला विकास नीतिको मस्यौदा गरी सरकारमा प्रस्तुत गरिसकेको हुँदा सोको कार्यान्वयनमा महासंघलाई सहयोगका लागि आग्रह गर्नुभयो ।

नेपाल इँटा उद्योग महासंघका अध्यक्ष शंकरबहादुर चन्दले लगानी र रोजगारीका हिसाबले उल्लेख्य योगदान दिएको इँटा उद्योगलाई राज्यले उद्योगको मान्यता दिन नसकेको गुनासो गर्दै सहयोगका लागि आग्रह गर्नुभयो ।

नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईले तालिमप्राप्त जनशक्ति अभाव, गुणस्तर पहिचान, मार्केटिङ, प्याकेजिङ, ब्रान्डिङलगायतमा समस्या रहेको भन्दै समस्या समाधानका लागि सहकार्यमा जोड दिनुभयो । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा) का अध्यक्ष रमेश थापाले कोरोनाबाट शिथिल ट्राभल व्यवसायको उत्थानका लागि सम्पदा क्षेत्रमा सार्वजनिक सवारीसाधन निषेध गरिनुुपर्ने, पर्यटन क्षेत्रका लागि छुट्टै बसपार्कको व्यवस्था हुनुुपर्ने, महासंघको पर्यटन समितिमा पर्यटन क्षेत्रका विविध समस्याबारेमा नियमित छलफल गरी समस्या समाधान गरिनुपर्ने बताउनुभयो ।

नेपाल दाना उद्योग संघका अध्यक्ष रविन पुरीले कुखुराको मासु र अण्डामा आत्मनिर्भर भए पनि दाना उत्पादनमा भने अहिले पनि अरू देशकै भर पर्नुपर्ने अवस्था रहेको भन्दै दानाका लागि आवश्यक मकै तथा भटमासको पिनाका लागि नेपालमा मकै र भटमास खेती विस्तारका लागि पहल गर्न आग्रह गर्नुभयो । नेपाल चलचित्र संघका अध्यक्ष वीरेन्द्रनारायण श्रेष्ठले अर्बौंको लगानी गरी हजारौंलाई रोजगारी दिइरहेको चलचित्र व्यवसायी राज्यको प्राथमिकतामा पर्न नसकेको गुनासो गर्दै राष्ट्रिय उद्योगको मान्यता दिने कार्यमा सघाउन आग्रह गर्नुभयो ।

नेपाल बिउ व्यवसायी संघका अध्यक्ष वसन्तचन्द्र मरहठ्ठाले नेपाललाई बिउमा आत्मनिर्भर बनाउने कार्यमा संघ लागे पनि बिउ व्यवसाय ऐन २०४५ का कारण समस्या भएको बताउनुभयो । ऐनका कतिपय प्रावधानका कारण व्यवसायी पलायन हुन थालेको भन्दै संसद्मा दर्ता रहेको बिउ विजन ऐन २०४५ संशोधन गर्न बनेको विधेयकलाई जति सक्दो छिटो पारित गर्ने कार्यमा सघाउन उहाँले आग्रह गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?