प्रतिनिधिसभा बैठक : पहिरोपीडितलाई उद्धार गरी राहत दिन माग

Read Time = 3 mins

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सांसद योगेश भट्टराईले बिहीबार परेको अविरल वर्षाका कारण ताप्लेजुङ जिल्लाको सिरिजङ्गा गाउँपालिका वडा नं ७ खेवाङमा गएको पहिरामा परी घाइते भएकालाई उद्धार गरी राहत प्रदान गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय माग गर्दै उहाँले पहिराले घर बगाउँदा तुलसा अधिकारी र यशोदा अधिकारीको निधन भएको र विष्णु अधिकारीको आज बिहान हेलिकप्टरबाट उद्धार गरी कोसी अस्पतालमा उपचार भइरहेको जानकारी गराउनुभयो ।

उहाँले घाइतेको सम्पूर्ण उपचारको प्रबन्ध गर्न सरकारसँग माग गर्नुभयो । सांसद भट्टराईले ताप्लेजुङमा बाढी पहिराको प्रकोपले जनजीवन त्रसित बनाएको हुँदा पीडितको राहत र उद्धारका साथै काजकिरियाका लागि आवश्यक सहयोग र उपचारका लागि व्यवस्था गर्नसमेत सरकारसँग माग गर्नुभयो । पहिराका कारण विद्युत्, टेलिफोन र यातायात अवरुद्ध भएको र सञ्चालन गर्न सरकारसँग आग्रह गर्नुभयो ।

सांसद एकवाल मियाले बारा जिल्लामा नेकपा (माओवादी) का चित्रबहादुर क्षेत्रीको हत्याको कारण पत्ता लगाउन उच्चस्तरीय छानबिन आयोग गठन गरी सत्यतथ्य पत्ता लगाउन आग्रह गर्नुभयो ।

उहाँले घटना हेर्दा व्यक्तिगत रिसिइवीका कारण भएको जस्तो देखिएको हुनाले सत्य पत्ता लगाई ३८ वर्षीय क्षेत्रीको हत्यामा संलग्न दोषीलाई कारवाही गर्न माग गर्नुभयो ।

निजको हत्या घरभन्दा ५०÷१०० मिटरमा मात्र भए पनि हत्या गरेर परिवारलाई जानकारी नगराई अस्पतालमा लगेर मृत घोषणा गरिएकोप्रति थप शङ्का उत्पन्न भएको र हत्यामा संलग्नको आशङ्कामा १४ जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको जानकारी गराउनुभयो ।

सांसद प्रेम सुवालले भक्तपुरका भूकम्पपीडितलाई पहिलो किस्ताको रकम दिएर दोस्रो र तेस्रो किस्ता नदिएकोप्रति अर्थमन्त्रीको ध्यानाकर्षण गराउँदै तत्काल उपलब्ध गराउन माग गर्नुभयो । उहाँले हनुमन्ते खोलाको दायाँबायाँका डुबान पीडितलाई क्षतिपूर्ति दिन माग गर्नुभयो ।

सांसद कृष्णभक्त पोखरेलले महिलाविरुद्ध हुने हिंसाका विषयमा संविधान र कानुनमा व्यवस्था गरे पनि यौनहिंसाका घटना बढ्दै गएकोप्रति सरकारकोे ध्यानाकर्षण गराउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?