सडक व्यवस्थापनसँगै सवारी जाममा कमी

हिमालय टाइम्स
Read Time = 5 mins

धनगढी । केही महिना अघिसम्म कार्यालय समय र कार्यालय सकिने समयमा धनगढीस्थित मुख्य सडकको एल.एलचोकदेखि अस्पताल लाइनसम्म दैनिक सवारी जाम हुने गर्दथ्यो । पछिल्लो पाँच महिनामा भने त्यस्तो समस्या केही कम भएको छ । मुख्य बजार क्षेत्रमा सवारी जाममा पर्ने अवस्था आएको भन्दै नागरिकको गुनासो हुने गरेको भए पनि अहिले सो समस्या केही कम भएको हो । मुख्य बजार क्षेत्रमा मनोमानी पार्किङ गर्ने सवारी धनीलाई कारबाही गर्ने र विद्युतीय रिक्सामा निर्माणका सामग्री बोक्न रोक लगाएपछि अहिले सो समस्या कम भएको प्रहरीको भनाइ छ ।

‘बजारमा जथाभावी सवारी पार्किङ गरेर सडक साँघुरो बनाउने, अनि सडकमै ठेला व्यवसाय सञ्चालन गरेर नागरिकको भिड लगाउने क्रम बढेका कारण सवारी जामको अवस्था आएको थियो,’ जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका इञ्चार्ज वकिल सिंहले भन्नुभयो, ‘तर अहिले हामीले सडकमा जथाभावी सवारी पार्किङ गरे ह्वील लक गर्ने, जरिवाना तिराउने जस्ता काम गरेर जथाभावी पार्किङ गर्न रोक लगाएका छौँ, यसका साथै सडकमा ठेला व्यवसाय सञ्चालन गर्न नदिँदा सवारीजाम केही घटेको छ ।’ विद्युतीय रिक्सामा निर्माण सामग्री बोकेर सडकको क्षेत्र धेरै ओगट्ने गरेका कारण पनि सवारी जाम हुने गरेको भन्दै उहाँले मुख्य सडकका विद्युतीय रिक्सालाई अहिले निर्माण सामग्री बोक्न नपाउने व्यवस्था गरिएको बताउनुभयो ।

सवारी जाम हुनुमा कर्मचारीले राम्ररी ड्युटी पूरा नगर्नु पनि कारण देखिएको उहाँ बताउनुहुन्छ । ‘ड्युटीमा खटिएका कर्मचारी शितलमा गएर बस्ने, कसैसँग गफमा भुलिने गरेको पाइयो,’ ट्राफिक इञ्चार्ज सिंहले भन्नुभयो, ‘अहिले ट्राफिकको ड्युटीमा पनि कडाइ गरिएको छ, कतै समस्या परेमा क्यु आरटी टोलीले तत्कालै त्यहाँ पुगेर समस्या समाधान गर्ने गरेको छ, जसकारण अहिले सडक जाम हुने अवस्था आएको छैन, तर दिन प्रतिदिन बढ्दै गएको सवारी चापलाई यहाँको सडकले धान्ने अवस्था भने छैन ।’

उहाँले ६ लेन सडक खण्डमा विद्युतीय रिक्सा चल्न बन्द गरिनुपर्ने बताउनुभयो । विद्युतीय रिक्साका कारण ६ लेन सडकमा दुर्घटनाको जोखिम बढेको भन्दै उहाँले सो क्षेत्रमा रिक्सा सञ्चालन गर्न नपाइने गरी तत्काल कार्यविधि बनाइनु आवश्यक रहेको बताउनुभयो । बढ्दो सवारी चापलाई व्यवस्थित गर्न नसक्दा सवारी जामसँगै दुर्घटना बढ्न थालेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले धनगढीको मुख्य बजार क्षेत्रमा चल्ने अटो रिक्सामा जोर बिजोर प्रणालीसमेत लागू गरेको थियो । यसैगरी, ६ लेन सडक खण्डको चटकपुर क्षेत्रमा पार्किङ गरिँदै आएका ट्यांकरलाई नेसनल ट्रेडिङ हाउस धनगढीको जग्गामा पार्किङ गर्ने व्यवस्था गरिएको छ ।

सवारी जामको समस्यालाई मध्यनजर गर्दै ६ लेन सडक खण्डको चौराह क्षेत्रमा राखिएका डिभाइडरसमेत प्रहरीले हटाउन लगाएको छ । ‘डिभाइडरको भित्रपट्टि ठेला व्यवसाय सञ्चालन गरिँदा सडक अवरुद्ध हुने स्थिति बन्यो,’ सिंहले भन्नुभयो, ‘डिभाइडर बाहिर सवारीसाधन पार्किङ गरिँदा पूरै सडक जाम हुने देखिएपछि डिभाइडर हटाइएको हो, अब सडकमा ठेला व्यवसाय गर्न पाइने छैन, चौराह क्षेत्रमा यात्रु चढाउने र ओराल्न (पिक एण्ड ड्रप) पार्किङका लागि सार्वजनिक सवारी ५ मिनेट बढी रोक्न नपाइने व्यवस्था गरिएको छ ।’

उहाँले धनगढीमा जथाभावी सवारी पार्किङ गरेको पाइएमा सवारीको ह्वील लक गर्ने गरिएको बताउनुभयो । ट्राफिक इञ्चार्ज सिंहले ६ लेन सडकमा लेनअनुसार सवारी चलाउन पनि अनुरोध गर्नुभएको छ । अहिले सवारी धनीले आफ्नो साइडभन्दा विपरीत दिशाबाट पनि सवारी सञ्चालन गर्ने गरेको भन्दै उहाँले त्यसो गरेको पाइएमा अब कारबाही गरिने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?