राजनीतिक खिचातानी नभएको भए लिपुलेक-लिम्पियाधुरा नेपालको भइसक्थ्यो : ओली

नारायण भण्डारी
Read Time = 5 mins

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा राजनीतिक खचपच (सरकार परिवर्तन) नभएको भए लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूगोल भइसक्ने दाबी गर्नुभएको छ । आफूले प्रधानमन्त्री हुँदा भारतसँग उच्चस्तरीय वार्ता गरेको र राजनीतिक खचपच नभएको भए हालसम्म लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूगोल भइसक्ने जस्तो आफूलाई लाग्ने गरेको ओलीले सुनाउनुभयो । पूर्व-राजदूतहरूको समूहले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले कुनै देशले आफ्नो भूभाग चाहियो भन्नु अर्घेल्याइ नभएको पनि टिप्पणी गर्नुभयो । लिपुलेक, लिम्पियाधुरा र कालापानी सुगौली सन्धिपछि नेपालले भोगचलन गर्दै आएको भूभाग भएकाले त्यो चाहियो भन्नु अर्घेल्याइ नभएको ओलीको भनाइ छ ।

कालापानी क्षेत्रमा हाल भारतीय फौज भएकाले नेपाल त्यहाँ प्रवेश गर्न नपाएको ओलीले उल्लेख गर्नुभयो । ‘हामीले लिम्पियाधुरा, लिपुलेक, कालापानीको कुरा गर्ने हो भने सुगौली सन्धिपछि १४६ वर्ष हामीले भोगचलन गरेको भूभाग हो,’ ओलीले भन्नुभयो,’ त्यसपछि एउटा समय सन्दर्भमा हाम्रो कालापानीमा भारतीय फौज आएर बस्यो । र, ६० वर्षदेखि त्यहाँ छ । ‘कालापानीमा भारतीय फौज भएको हुनाले उता लिपुलेक र कालापानीमा हामी प्रवेशै गर्न पाएनौँ ं। यो बिल्कुल यथार्थ हो ।’ ओलीले छिमेक सम्बन्धनमा कार्ड खेल्दा नेपाल फस्ने बताउनुभयो ।

छिमेकीसँग एउटा कुरा गर्ने र बाहिर अर्को कुरा गर्दै पृथ्वीनारायण शाहले भनेझैँ ‘दुई ढुंगाबीचको तरुल’का रूपमा नै नेपाल रहिरहने उहाँको भनाइ थियो । ‘छिमेक सम्बन्धमा हामीले कार्ड खेल्न सक्दैनौँ । छिमेकीसँग एउटा कुरा गर्ने र बाहिर अर्को कुरा गर्न सक्दैनौँ । छिमेकीसँग भित्री साँठगाँठ गर्ने र बाहिर अर्कै कुरा गर्ने हो भने हामी फस्छौँ,’ ओलीले भन्नुभयो ।

छिमेकी देशसँग रहेका मतभेदहरू कुराकानीबाट सुल्झाउनुपर्ने पनि ओलीले बताउनुभयो । कालापानी, लिम्पियाधुरा र लिपुलेक लगायतका सीमा विवादसम्बन्धी समस्या खुलस्त छलफलबाटै समाधान गरिनुपर्ने पनि उहाँले बताउनुभयो ।

यस्तै, ओलीले राजनीतिक आन्दोलनमा हिंसाको रोजाइको औचित्य पुष्टि नहुने बताउनुभयो । कानुनी र शान्तिपूर्ण रूपमा नै आन्दोलनलाई अगाडि बढाउन सक्ने बाटो हुँदाहुँदै हिंसा रोज्नु गलत भएको उहाँको भनाइ छ । राणा शासन र निरंकुश राजतन्त्रविरुद्ध गरिएका आन्दोलनमा हिंसा जायज भए पनि त्यसपछि भएका आन्दोलनमा भएका हिंसाको औचित्य पुष्टि नभएको ओलीले बताउनुभयो । विशेषगरी १० वर्षे माओवादी सशस्त्र युद्ध र मधेश आन्दोलनमाथि प्रश्न उठाउँदै ओलीले भन्नुभयो, ‘राणा शासनका विरुद्ध र निरंकुश राजतन्त्र र पञ्चायती शासनविरुद्ध फोर्सफुल्ली ब्यारियर खडा गरिएकाले शान्तिपूर्ण र संवैधानिक तवरले आन्दोलन सम्भव थिएन ।’ त्यसपछि भएका हिंसात्मक आन्दोलनको भने औचित्य न्यायोचित रूपमा पुष्टि हुन नसकेको उहाँले बताउनुभयो ।

माओवादी युद्धप्रति इंगित गर्दै ओलीले भन्नुभयोे, ‘त्यो हिंसा गणतन्त्रका लागि थियो भने गणतन्त्र आउनुपूर्व नै २०६३ मा टुंगियो, गणतन्त्रका लागि थियो भन्ने हो भने कसैले पनि यो मितिमा गणतन्त्र दिन्छु त भनेको थिएन । त्यसैले त्यो कसका लागि थियो । कोबाट प्रेरित थियो भन्ने अहिलेसम्म पनि पुष्टि हुन सकेको छैन ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?