अफगानिस्तानमा भूकम्पका कारण मृत्यु हुनेको संख्या एक हजार भन्दा बढी

Read Time = 2 mins

काबुल । अफगानिस्तानमा भूकम्पका कारण एक हजार भन्दा बढीको मृत्यु भएको छ । बुधबार बिहानै आएको भूकम्पमा परी अफगानिस्तानमा कम्तीमा एक हजार जनाको मृत्यु भएको छ । प्रकोप व्यवस्थापन अधिकारीहरूका अनुसार ६.१ रेक्टर स्केलको भूकम्पमा परी छ सयभन्दा धेरै घाइते भएका छन् । पहाडी इलाकामा भूकम्प गएका कारण हताहतीको संख्या अझै बढ्ने अनुमान गरिएकोे छ ।

भूकम्पपछिको दृश्यहरू सार्वजनिक भइरहेका छन् जहाँ मानिसका घरहरू भग्नावशेषमा परिणत भएको र जमिनमा शवहरू असरल्ल छन् । घाइतेको उद्धारका लागि, मेडिकल सामग्री आपूर्तिका लागि हेलिकप्टर परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ ।

‘केही गाउँहरू पहाडी दुर्गम स्थानमा रहेकाले मर्ने र घाइते हुने संख्या बढ्नसक्नेछ’, गृह मन्त्रालयले भनेको छ । सनाखत भएको मृत्यु धेरैजसो पूर्वी प्रान्त पक्तिकाका रहेको बताइएको छ । त्यहाँमात्रै २५५ मानिसको मृत्यु र दुई सय बढी घाइते भएका थिए ।

त्यस्तै खोष्ट प्रान्तमा २५ जनाको मृत्यु र ९० जनालाई अस्पताल लगिएको बताइएको छ । बुधबारको भूकम्प सन् २००२ यताकै विनाशकारी रहेको बताइएको छ । अमेरिकी भौगर्भिक सर्वेका अनुसार १ः५४ बजे (पिएसटी) खोष्ट शहरबाट ४४ किमि दूरीमा पाकिस्तानसँगको सीमानजिकै भूकम्प गएको थियो ।

पाकिस्तान र भारतमा समेत थाहा हुनेगरी भएको भूकम्प पाँच सय किमिमा झण्डै ११ करोड ९० लाख मानिसले थाहा पाएका थिए । अफगानिस्तानमा प्रायः भूकम्प जाने गरेको छ । पछिल्लो १० वर्षमा मात्र भूकम्पका कारण अफगानिस्तानमा सात हजारभन्दा धेरैको मृत्यु भइसकेको बताइन्छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?