गोरखामा संरक्षण क्षेत्रभित्र बढ्यो ‘जडीबुटी’तस्करी

हिमालय टाइम्स
Read Time = 3 mins

गोरखा । मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) को म्याद थप नहुँदा जडीबुटीको चोरीतस्करी बढेको छ । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकामा पर्ने संरक्षण क्षेत्रको वनबाट जडीबुटी तस्करी हुने गरेको हो । यस संरक्षण क्षेत्रभित्र पाइने सेतो चिनी, यार्सागुम्बा, सतुवा, वनलसुनलगायतका बहुमूल्य जडीबुटीहरूको खुलेआम चोरीतस्करी हुने गरेको स्थानीयहरू बताउँछन् ।

‘अहिले त कतैबाट अनुमति पनि नलिई संरक्षण क्षेत्रबाट धमाधम जडीबुटी चोर्ने काम भइरहेको छ । यहाँका प्रहरी, प्रशासन जनप्रतिनिधि सबै मौन छन् । उनीहरूको मौनताले यहाँ आर्थिक चलखेल भएको सहजै अनुमान गर्न सकिन्छ,’ नाम नबताउने शर्तमा एक स्थानीयले भने, ‘यदि त्यहाँ आर्थिक चलखेल नभएको भए किन तस्करी हुँदा पनि मौन छन् ?’ म्याद सकिनुअघि एमक्यापले नै यस क्षेत्रबाट जडीबुटी उत्खनन् तथा ओसारपोसार गर्न अनुमति दिन्थ्यो । तर, एमक्यापको म्याद थप नहुँदा अहिले अनुमतिबिनै जडीबुटीको चोरीनिकासी भएको हो ।

‘अहिले हामीले अनुमति दिएका छैनौँ । हाम्रो आयोजनाको म्याद सकिसकेको छ । तर, म्याद थप भएको छैन । हाम्रो म्याद सकिएपछि हामीसँग अनुमति दिने अधिकार छैन,’ एमक्यापका सूचना अधिकारी अचित तुम्बाहाम्फेले भन्नुभयो । उहाँका अनुसार १३ असार २०७७ देखि एमक्यापको म्याद सकिएको छ ।

तर, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभाग गोरखाका प्रमुख पशुपति अधिकारी भने एमक्यापका पदाधिकारीहरूको कमजोरीका कारण जडीबुटीको चोरीनिकासीमा मद्दत पुगेको बताउनुहुन्छ । ‘एमक्यापको म्याद त त्यहाँका पदाधिकारीले सकियो भनेर हुन्छ ? सरकारले भनेको छैन । उहाँहरूको म्याद नै सकिएको छैन । एमक्यापभित्रका पदाधिकारीबीचको आन्तरिक समस्याका कारण उहाँहरू बन्द भयो भन्दै बसिराख्नुभएको छ,’ अधिकारीले भन्नुभयो, ‘उहाँहरू बन्द भयो भन्ने पैसा उठाउन नछाड्ने तर काम नगर्ने भएकै कारण चोरीनिकासी भएको हो ।’

संरक्षण क्षेत्रमा जडीबुटीको उत्खनन् तथा ओसारपसारको जिम्मा एमक्यापलाई नै भएको अधिकारी बताउनुहुन्छ । ‘एमक्यापले नै त्यहाँको सबै व्यवस्थापन हेर्ने हो । त्यहाँ अनुमति दिनेदेखि सबै काम एमक्यापले नै गर्ने हो । हामीले त त्यहाँ केही उजुरी पर्यो, मुद्दा पर्यो भने हेर्ने हो,’ उहाँले भन्नुभयो ।

  • रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?