प्रकोपबाट क्षति भएका पशुपक्षीका लागि प्रदेश सरकारबाट आठ लाख राहत

हिमालय टाइम्स
Read Time = 3 mins

-विजय रावत

जुम्ला । जुम्लामा प्राकृतिक प्रकोपबाट क्षति भएका पशुपक्षीका लागि कर्णाली प्रदेश सरकारबाट आठ लाख राहत वितरण गरिने भएको छ । जिल्लास्तरीय राहत वितरण समितिको बैठकमा प्रदेश सरकारबाट प्राप्त भएको राहत कार्यविधिअनुसार आठ लाख उपलब्ध गराइने प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले जानकारी दिनुभयो ।

जिसस प्रमुख गौरी नन्द आचार्यको प्रमुख आतिथ्यमा बसेको जिल्लास्तरको बैठकले पशुसेवा तथा पशु अस्पताल कार्यालय जुम्लाले कार्यविधिअनुसार तयार पारेको राहत उपलब्ध गराउने निर्णय भएको प्रजिअ प्रसाईले भन्नुभयो, ‘पशुसेवा कार्यालय जुम्लाले आर्थिक वर्ष २०७८/०७९ मा गत २०७८ साउनदेखि हालसम्म क्षति भई प्रहरीको मुचुल्काअनुसार पुष्टि भई आएका भेडा, पाठापाठी, बाख्रा खसी, गाईगोरू, कुखुरा, माछापोखरीमा क्षति भएका जिल्लाका किसानलाई राहत दिइने प्रजिअ प्रसाईंले बताउनुभयो ।’

राहत मापदण्डअनुसार कार्यालयलाई आएको नौ लाखमध्ये आठ लाख वितरण गर्ने निर्णय भएको छ । एक लाख भने असार अन्तिमसम्ममा केही क्षति भएमा वितरण गरिने पशु सेवा कार्यालयका प्रमुख गोविन्दबहादुर महतले जानकारी दिनुभयो । कार्यालय प्रमुख महतका अनुसार २०७८ कात्तिक २ गते प्राकृतिक प्रकोपले सबैभन्दा बढी क्षति भएका तातोपानी गाउँपालिका–७ का किसानका भेडाको क्षति भने संघीय सरकारले राहत दिने भएको छ ।

ताम्ती क्षेत्रका नौजना किसानका १४३ भेडा अविरल वर्षा र बाढीले बगाएर नष्ट भएका थिए । जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले किसानलाई सानो राहत भए पनि उपलब्ध गरिने बताउनुभयो । लामो समयदेखिको प्रयासमा किसानले पाउने पशुपक्षीको राहतका लागि निर्णय भएको र चाँडै किसानको खातामा हाल्न कार्यालयलाई निर्देशन गरेको प्रशासनले जनाएको छ । पशुसेवा कार्यालयले गत आर्थिक वर्षमा १४ लाख राहत वितरण गरेको कार्यालयले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?