भारतीय दूतावासले मनायो योग दिवस

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले अन्तर्राष्ट्रिय योग दिवस मनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा आठौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइएको दूतावासले जनाएको छ । कार्यक्रममा प्रधानमन्त्री देउवाले योग अभ्यासले शरीर र दिमाग दुवैलाई सकारात्मक ऊर्जा दिने भएकाले योगलाई दैनिक जीवनको एक हिस्सा बनाउनुपर्ने बताउनुभयो ।

सञ्चार तथ सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सबैलाई नियमित योग गर्न सुझाव दिनुभयो । दूतावासका कार्यवाहक राजदूत नामग्य सी खम्पाले योगको प्राचीन परम्परा दुई देशको साझा सभ्यता सम्पदा रहेको चर्चा गर्दै योगलाई सम्पूर्ण मानव जातिको कल्याणका लागि विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

दूतावासका अनुसार कार्यक्रम जारी आजादीका अमृत महोत्सवअन्तर्गतको उत्सव कार्यक्रममध्येको एक हो । योग अभ्यासका फाइदाबारे जोड दिँदै यस वर्षको योग दिवसको नारा ‘मानवताका लागि योग’ रहेको थियो । कार्यक्रममा भारत सरकारको आयुष मन्त्रालयद्वारा स्वीकृत व्याख्यानसहितको साधारण योगविधि प्रस्तुत गरिएको थियो ।

करिब छ सयजना उक्त योग सत्रमा सहभागी भएको दूतावासले जनाएको छ । योग दिवसको पूर्वसन्ध्यामा दूतावासले काठमाडौं विश्वविद्यालयको स्कुल अफ मेडिसिनसँगको सहकार्यमा विशेष योग सत्र आयोजना गरेको थियो । भारतीय राजदूतावास, स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका योगगुरुहरूले महिला र बालबालिकाका लागि विशेष योग कार्यक्रम काठमाडौंको बौद्घनाथ स्तुपामा आयोजना गरेको बताइएको छ ।

सन् २०१४ मा संयुक्त राष्ट्रसंघ महासभामा एक सय ७७ सदस्य राष्ट्रले भारतको प्रस्ताव समर्थनपछि सन् २०१५ देखि हरेक वर्ष जुन २१ मा अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै आएको दूतावासद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?