संस्कृति जगेर्ना गर्न ‘संस्कृति रक्षा दौड’ 

हिमालय टाइम्स
Read Time = 3 mins

रुपन्देही । रुपन्देहीमा नयाँ वर्ष २०८१ को अवसरमा ‘संस्कृति रक्षा दौड’ आयोजना गरिएको छ । भैरहवामा १३ वर्षदेखि नयाँ वर्षमा सो दौड आयोजना गरिँदै आएको छ ।

हिन्दु स्वयम सङ्घ नेपालले सो दौडमा दौडमा गैडहवा गाउँपालिका-८ का उमेश बरई प्रथम भइ रु १५ हजार एक सय पुरस्कार प्राप्त गर्नुभयो । यस्तै सियारी गाउँपालिका-३ का सन्दीप कुर्मी दोस्रो भइ रु ११ हजार एक सय, सियारी-४ का मनोज केवट तेस्रो भई रु सात हजार एक सय तथा सियारी-१ का दिपक पासी, सोही ठाउँका अरुण चौधरी, रोहिणी-५ का सैफ अलि अन्सारी र शुद्धोधन-४ का ग्रिजेश यादवले रु एक हजार नगदसहित सान्त्वना पुरस्कार पाउनुभयो । उक्त दौडमा पाँच सयभन्दा बढी व्यक्ति सहभागी भएका सङ्घका राष्ट्रिय सङ्घचालक भीम शर्मा आचार्यले जानकारी दिनुभयो ।

“नेपालको संस्कृति संसारकै लागि अनुकरणीयण् रहेको छ, यसलाई अनुसरण गर्न विदेशी नागरिक पनि यहाँ आउने गरेका छन्,” उहाँले भन्नुभयो-“हाम्रो संस्कृतिमा पारिवारिक पद्धति छ, सँगै मिलेर बस्ने संस्कृतिलाई जोगाएर राख्नु हाम्रो दायित्व हो ।” यसकै लागि भैरहवामा संस्कृति रक्षा दौड आयोजना गरिँदै आएको उहाँको भनाइ छ ।

नेपालमा पश्चिमी संस्कृति हावी हुँदै गएकामा सङ्घ चिन्तित बनेको  छ । “हाम्रो संस्कृति, संस्कार र पहिचान मध्येको एउटा विक्रम सम्वत पनि हो, यसको रक्षाका लागि प्रत्येक वर्ष संस्कृति रक्षा दौड आयोजना गर्दैआएका छौँ”, सङ्घचालक आचार्यले भन्नुभयो ।

दौडमा बालबालिकादेखि वृद्धवृद्धासम्म सहभागी भएका थिए । विद्रोही चोकबाट सुरु भएको दौड बुद्धचोक, कान्छीबजार, पिपरहिया चोक, गल्लामण्डी, मिलनचोक हुँदै पुनः विद्रोही चोकमा समापन भएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाली राष्ट्रिय गीतका रचनाकार व्याकुल माइला (प्रदीपकुमार राई) रहनुभएको थियो । रचनाकार माइलाले राष्ट्रप्रेम महत्वपूर्ण कुरा भएको उल्लेख गर्दै अरुको संस्कार संस्कृतिको देखासिखी गर्ने पराम्परा तोडिनुपर्ने बताउनुभयो । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?