असार १५- रोपाइँ र दही चिउरा

हिमालय टाइम्स
Read Time = 5 mins
A A- A+

काठमाडौं । आज असार १५, अर्थात किसानहरूको पर्व । आजको दिनलाई सरकारी तवरबाटै राष्ट्रिय धान दिवसको रूपमा समेत मनाइँदै आइएको छ । यस अवसरमा बिभिन्न संघ संस्थालेसमेत देशभर विभिन्न कार्यक्रम गरी धान दिवस मनाउने गरेका छन् ।

विशेषगरी असार १५ मा असारे गीत गाँउदै धान रोप्ने, हिलो खेल्ने र दहि चिउरा खाने पुरानो परम्परा रहि आएको छ । दहि चिउरा खाने परम्परा कहिलेदेखि सुरू भयो भन्ने एकिन नभएपनि धान रोप्ने चलन सुरू भएदेखि नै यो परम्परा रहेको मानिन्छ ।

विशेषत रोपाइँ सकेको खुसीयालीमा भोजस्वरुप दही र चिउरा खाने पुरानो प्रचलन हो। तर पछिल्लो समय बल्ल शुरु भएको रोपाइँको चटारोको समयमा यो पर्व मनाउने गरिन्छ । यसको कारण मधयेको एक मौसम परिवर्तन पनि हो ।

असार १५ मै किन खाइन्छ दही चिउरा ? प्रायः को एउटै उत्तर हुने गर्छ, पहिलेदेखि खाँदै आएको त्यसैले । आखिरमा किन असार १५ को सांस्कृतिक महत्व छ त ? संस्कृतिकर्मीका आधारमा असारमा समयमै रोपाइँ सकिएको खुसीयालीमा दही चिउरा खाइन्छ । परापूर्वकालदेखि नै यो प्रचलन चल्दै आयो । तर समयक्रमले यसलाई असार १५ मा पुर्‍याएको संस्कृतिकर्मीको तर्क छ ।

उनीहरूका अनुसार रोपाइँ नसकिएसम्म दहीचिउरा खाइँदैन तर अहिले रोपाइँ सकियोस् या नसकियोस् प्रत्येक वर्षको असार १५ मा दहीचिउरा खाने गरिन्छ ।

संस्कृतिकर्मीका अनुसार उसवेला सबैसँग अहिलेजस्तो माछामासुलगायतका पौष्टिक आहार खाने क्षमता थिएन । रोपाइँले थाकेका किसानहरूलाई माछामासु पकाएर बस्ने फुर्सद पनि हुँदैनथ्यो । तर, सबैजसो किसानका घरमा गाईभैंसी पालिएका हुन्थे । जसले गर्दा घरघरमा दूधसँगै दही, मही र घ्यू खाली हुँदैनथ्यो ।

त्यस्तै खेतीकिसानी गर्ने भएकाले चिउरा पनि घरमै हुन्थ्यो । किसानहरूको घरमा असारमा हुने रोपाइँका लागि वैशाखमै चिउराको जोहो गर्ने प्रचलनसमेत थियो । यसरी घरमै हुने दही-चिउरालाई महत्व दिएर असारमा रोपाइँ सकिएको खुशीयालीमा भोज गर्ने प्रचलन रहेको हो ।

स्वादिलो र स्वस्थबर्धक हुने भएकाले पनि १५ असारमा विशेष खाजाको रूपमा दहि चिउरा खाने चलन बसेको मानिन्छ । दहि चिउराको खाजाले रोपाइ गर्दाको थकान मेटाउने र शरिरमा उर्जा भर्ने विश्वास रहि आएको छ ।

असारको मध्यमा यो पर्व पर्ने भएकाले खेतमा काम गर्न्र लाठे, रोपारहरूले खाजाको रूपमा दहि, चिउरा, केरा खाने गर्छन् । गर्मीमा दहिले शित्तलता पनि प्रदान गर्ने गर्छ ।

आफ्नो खेतिपाती नभएका मानिसहरू समेत १५ असारको दिनमा मात्रै भएपनि अरूकै खेतमा गएर खेतको काम गर्ने, हिलो खेल्ने र दहि चिउरा खाँदै रमाइलो गर्ने गर्छन् ।

तन्नेरी लाठे र रोपारबीचमा हिलो छ्यापाछ्याप गर्ने र असारे भाकाको गीत गाउने चलन पनि छ । असार १५ मा दहि चिउरा खाएर खेतमा काम गर्ने पुरानो परम्परालाई सम्झँदै आजभोली नेपालका गाउँमा मात्रै होइन शहरबजारमा समेत आजको दिनलाई दहि चिउरा खाने पर्वका रुपमा पनि लिइन्छ ।

खेतीपातीबाहेक अन्य पेशा र व्यवसायमा लागेका र विदेशमा भएका नेपालीले पनि आज दहि चिउरा खाई असार १५ मनाउँछन् ।

दहि वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यबर्धक मानिन्छ । दहीले हाम्रो शरीरको पाचन शक्ति पनि बढाउँछ ।

वैद्यराज सुवर्ण वैद्यकाअनुसार दही र चिउराले शरीरमा ऊर्जा र शीतलता प्रदान गर्नुका साथै दही पाचन प्रणालीका लागि निकै राम्रो खाद्य पदार्थ भएकाले अरू बेला पनि दही खानु स्वास्थ्यवर्दक हुने बताउनुहुन्छ ।

सरकारले २०६२ सालदेखि यो दिनलाई धान दिवसका रूपमा मनाउन थालेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?