कोपोमिसमा विवरण प्रविष्ट नगरे कारबाही हुने

Read Time = 4 mins

काठमाडौं । संघीय सहकारी विभागका रजिस्ट्रार रुद्रप्रसाद पण्डितले सहकारीले सफ्टवेयर चलाउन नजानेर सहकारी तथा गरिबीसम्बन्धी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) मा विवरण प्रविष्ट नगरेको दाबीको औचित्य नहुने बताउनुभएको छ । विभागले सहकारीलाई कोपोमिसमा सामान्य विवरणमात्र प्रविष्ट गर्न आग्रह गरेकाले सहकारीकर्मीको दाबी बहानाबाजीमात्रै भएको उहाँको भनाइ छ । रजिस्ट्रार पण्डितले भन्नुभयो, ‘मोबाइलमा फेसबुक, इन्स्टाग्राम, ट्विटर चलाउन जान्ने, कोपोमिसमा विवरण भर्न नजान्ने ? कर कार्यालयमा करचुक्ता लिन अनलाइन फारम भर्न सक्नेले सहजै कोपोमिसमा विवरण प्रविष्ट गर्न सक्छ ।’

नेपाल सहकारी पत्रकार समाज र सहकारी विभागको संयुक्त आयोजनामा शुक्रबार भएको कोपोमिसमा समष्टिगत विवरण प्रविष्टिमा संघ/संस्थाको भूमिका विषयक कार्यक्रममा उहाँले कोपोमिसमा विवरण प्रविष्ट नगर्ने सहकारीलाई जरिवाना गर्ने चेतावनी दिनुभयो ।

पण्डितले भन्नुभयो, ‘कोपोमिस राज्यको अभियान हो, सहकारीले म विवरण भर्दिनँ यसबाट बाहिर जान्छु भन्ने हो भने हामी कानुनी उपचारको बाटोमा जान्छौँ । जरिवाना गर्नुपर्ने अवस्था आयो भने सहकारी महासंघ, केन्द्रीय संघ, प्रदेश संघ र जिल्ला संघले हामीलाई पक्कै पनि यसो नगर भन्ने छैनन् ।’ उहाँले स्थानीय तहको नियमनमा रहेका सहकारीमा कोपोमिस कार्यान्वयन गर्न सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत् असार १६ गते सबै पालिकालाई अनुरोध गरेको जानकारी गराउनुभयो ।

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले सहकारीको तथ्यांक अनुमानका भरमा भन्नुपर्ने अवस्था विद्यमान रहनु लाजमर्दो भएको बताउनुभयो । सरकारले लागू गरेको कोपोमिसलाई प्रभावकारीरूपमा कार्यान्वयन गरेर सहकारीको वास्तविक तथ्यांक प्राप्त गर्न सकिने उहाँको भनाइ थियो । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) का वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले वित्तीय कारोबार गर्ने सहकारी सुशासनमा बस्न अपरिहार्य भएको बताउनुभयो ।

सरकारले कोपोमिसको अवधारणाबारे प्रारम्भिक छलफल चलाएको समयदेखि नेफ्स्कुनले सहकार्य गर्दै आएको उहाँले जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘स्वायत्त सहकारी संस्थालाई हामीले योभन्दा बढी भन्न मिल्दैन । कोपोमिसमा आबद्ध नहुने भए सहकारीको शीर्षक बन्द गरौँ । सामाजिक संस्थामात्र चलाऔँ ।’

बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष उद्धव सापकोटाले मातहतका सबै सदस्य संघ/संस्थालाई कोपोमिस कार्यान्वयन गर्न परिपत्र गरेको बताउनुभयो । राष्ट्रिय सहकारी बैंकका डिजिएम सुरेश थापाले महासंघका ५० प्रतिशत सदस्यले कोपोमिसमा विवरण भरेको जानकारी गराउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?