जी.पी. कोईराला विश्वविद्यालयको स्थापना गर्नुपर्छः मन्त्री बडू

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाण्डौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले गिरिजाप्रसाद कोईराला विश्वविद्यालय खोल्नुपर्ने बताउनुभएको छ ।

शनिवार स्व. नेता गिरिजाप्रसाद कोईरालाको ९९ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बडूले नेपालमा गिरिजाप्रसाद कोईराला विश्वविद्यालय खोल्नुपर्ने बताउनुभएको हो । उहाँले अरु नेताहरुको नाममा विश्वविद्यालय रहेको उल्लेख गर्दै स्व. नेता कोईराला आदर्श र मूल्यमान्यताको प्रतिक भएकोले उहाँको नाममा जी.पी. कोईराला विश्वविद्यालयको स्थापना आवश्यक रहेको बताउनु भयो ।

मन्त्री बडूले उत्कृष्ट विश्वविद्यालयको रुपमा आफूलाई स्थापित गर्ने उद्देश्यकासाथ विश्वविद्यालय स्थापना हुनुपर्ने बताउनु भयो । उहाँले जी.पी. कोईराला विश्वविद्यालय स्थापनार्थ सरकार सहयोग गर्न तयार रहेको उद्घोष गर्नुभयो । मन्त्री बडूले गिरिजाप्रसाद कोईराला प्रधानमन्त्री हुँदा नै काठमाडौं विश्वविद्यालयको रुपमा पहिलो विश्वविद्यालय स्थापना गरेको र बहु विश्वविद्यालयको नीति अन्तर्गत खोलेका विश्वविद्यालयले आफ्नो प्रतिष्पर्धा परिणाममा देखाइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अब एउटा जीपी कोईराला विश्वविद्यालयको स्थापना आवश्यक छ । जीपी कोईराला एउटा आदर्श, मूल्य, मान्यताको प्रतिक पनि हो । त्यसकारण गिरिजाप्रसाद कोईरालाको नामबाट हामीले एउटा विश्वविद्यालय बनाउन आवश्यक छ । जसले उत्कृष्ट विश्वविद्यालयको रुपमा आफूलाई स्थापित गर्ने उद्देश्यकासाथ स्थापना गर्न सरकार अवश्य पनि सहयोग गर्छ । व्यक्तिगत रुपमा म आफू पनि सहयोग गर्छु ।

गिरिजाप्रसाद कोईरालाको प्रधानमन्त्रीत्वमा रहेको सरकार जसमा म पनि मन्त्रीमण्डलको सदस्य थिएँ । त्यसबेला हामीले पहिलो विश्वविद्यालय काठमाडौं विश्वविद्यालय खोलेका हौँ । त्यसपछिको एउटै उद्देश्य थियो, शिक्षामा अब प्रतिष्पर्धा आवश्यक छ । शिक्षा क्षेत्रको प्रतिष्पर्धाका कारणले आज इन्जिनियरिङ र मेडिकल कजेल कति वटा छन् । व्यवस्थापनका क्षेत्रमा एक सय एक प्रतिष्पर्धा छ । यो नीति नेपाली काँग्रेसको थियो ।

हामीले बहु विश्वविद्यालयको नीति अन्तर्गत खोलेका विश्वविद्यालयले आफ्नो प्रतिष्पर्धा रिजल्टमा देखाइरहेका छन् । त्यसैले क्षमतासहितको प्रतिष्पर्धी, उत्कृष्ट आदर्श र उद्देश्य राखेर हामीले स्थापना गर्ने विश्वविद्यालय अवश्य पनि हामी सबैका निमित्त गौरवको विषय हुन्छ ।’

मन्त्री बडूले जी.पी. कोईराला विश्वविद्यालय स्थापना गर्न सरकार सहयोगका लागि तयार रहेको प्रतिवद्धता जनाउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?