कर्णालीमा विपद्मा परी ३०५ जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 3 mins

-विजय रावत

जुम्ला कर्णाली प्रदेशभर विभिन्न विपदमा परी ३०५ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको ११ महिनामा बाढी, पहिरो, आगलागी, हिमपहिरो, सडक दुर्घटना लगायतका घटनामा परी कर्णाली प्रदेशमा ३०५ जनाले ज्यान गुमाएका हुन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको तथ्यांकअनुसार प्रदेशका १० जिल्लामध्ये सबैभन्दा बढी सुर्खेतमा ६८ जनाको मृत्यु भएको छ । साँघुरो सडक, अव्यवस्थित संरचना, बढ्दो सवारी चापले दुर्घटना बढेका हुन् ।

कानुन मन्त्रालयका विपद् शाखाका प्रमुख कृष्णबहादुर रोकायाका अनुसार जुम्लामा २८, कालिकोटमा २३, मुगुमा ३९, डोल्पामा ६ र हुम्लामा सात जनाको मृत्यु भएको छ । त्यस्तै जाजरकोटमा ३० जना, दैलेखमा २२ जना रुकुम पश्चिममा २० जना, सल्यानमा ६२ जना गरी चालु आवको ११ महिनामा जम्मा ३०५ जनाले विभिन्न विपद्मा परी ज्यान गुमाएको विपद् शाखा प्रमुख रोकायाले जानकारी दिनुभयो । कर्णालीमा प्राकृतिक प्रकोपपछि सबैभन्दा बढी सडक दुर्घटनामा ज्यान गुमाउनेको संख्या अत्यधिक रहेको छ । जसमा सडक दुर्घटनाबाट मात्रै कर्णाली प्रदेशका १६१ जनाले ज्यान गुमाएका छन् ।

जसमध्ये जुम्लामा १०, सल्यानमा ३६, मुगुमा ३४, सुर्खेतमा २८, जाजरकोटमा २२, दैलेखमा ११, कालिकोटमा नौ, रुकुम पश्चिममा नौ र डोल्पामा दुई जनाको सडक दुर्घटनामा परी ज्यान गएको मन्त्रालयको तथ्यांक छ ।

विपद् जोखिम न्यूनीकरण, मजबुद पूर्व–तयारी र ठोस प्रतिकार्य योजना नभएका कारण कर्णालीमा विपद्का घटनासँगै मृत्यु हुनेको संख्या बढेको छ । सुर्खेतमा आयोजित विपद् पत्रकारिता तालिमको उद्घाटनमा कानुन मन्त्रालयले विपद्को वर्तमान अवस्था र भएको क्षतिबारे प्रतिवेदन सार्वजनिक गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?