आत्मनिर्भर संस्कृत शिक्षा दिइरहेको काफलटारीको वेद विद्याश्रम विद्यालय

युवराज पौडेल स्याङ्जा, संवाददाता
Read Time = 8 mins

स्याङ्जा . स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिका वडा नं २ काफलटारीमा संस्कृत भाषा पढाइ हुने श्री गुरूकुल वेद विद्याश्रम माध्यमिक विद्यालय छ । उपल्लो आँधीखोलाको उत्तरी भेगमा यो अवस्थित छ । संस्कृत व्याकरण र साहित्य, कर्मकाण्ड, वेद, संस्कृत भाषाका अतिरिक्त आधुनिक नेपाली, अङ्ग्रेजी, गणित जस्ता विषयहरू पढाइ हुने यस विद्याश्रममा आवासीय सुविधासहितको पढाइ भइरहेको छ ।

स्याङ्जा, कास्की, पर्वत लगायत विभिन्न जिल्लाबाट समेत संस्कृत अध्ययनको लागि विद्यार्थीहरू आउने गरेका छन् । कक्षा ६ देखि १० सम्मको अध्ययन गर्ने यस विद्याश्रममा निजी, अस्थायी र स्थायी दरबन्दीका गरी ९ जना शिक्षकहरू कार्यरत छन् ।

यो विद्याश्रम रहेको ठाउँ काफलटारी प्राचीन गुरूकुल संस्कृत परम्परामा अध्ययन गरेका विद्वान् पण्डितहरूको कहलिएको स्थलका रूपमा चिनिन्छ । यहाँका पुरानो पुस्ताका थुप्रै व्यक्तिहरू भारतका विभिन्न ठाउँमा पुगेर संस्कृत भाषाको अध्ययन गरी अहिले कर्मकाण्डमा ख्याति कमाइरहेका छन् । यस क्षेत्रका अगुवा पुण्यप्रसाद उपाध्यायको नेतृत्वमा संस्कृत भाषा, साहित्य र सनातन हिन्दू परम्पराको संरक्षण गर्ने अभियान स्वरूप २०६० सालमा सबै गाउँलेहरूको भेला बोलाई यस क्षेत्रमा विद्याश्रम स्थापना गर्ने निर्णय गरिए बमोजिम २०६१ मा यसलाई जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएको हो । त्यसपछि २०६२ पौष १५ गते क्षेत्रीय शिक्षा निर्देशनालय पोखराबाट गुठीका रूपमा स्वीकृति लिई कक्षा ६ को पढाइ सुरू गरी क्रमशः १० सम्म पुर्याइएको हो ।

सुरूमा कक्षा ६ बाट सुरू गरिएको विद्याश्रम हाल कक्षा १० सम्म विस्तारित भएर एसइइमा ३ पटकसम्म पुरस्कृत भएको विद्यालयका प्रधानाध्यापक रामचन्द्र तिमिल्सिनाले बताउनुभयो । 'जिल्ला, गाउँपालिका लगायत विभिन्न निकायबाट एसईईमा सम्मानित भएका छौं । शिक्षा विभागका सबै विभागीय निर्देशनहरूलाई पालना गरिएको छ ।'

यहाँका विद्यार्थीहरूलाई भोजन, लत्ता कपडा, आवास सबै निशुल्क रहेको छ । आर्थिक रूपले विपन्न परिवारकादेखि मध्यम आय भएका परिवारका विद्यार्थीहरू यस आश्रममा अध्ययनका लागि आएका छन् ।

संस्कृत पढाइबाट व्यक्तिमा अनुशासन, सदाचार कायम हुनुका साथै सिपयुक्त र आत्मनिर्भर जनशक्ति उत्पादन गर्ने उद्देश्यमा विद्यालय लागि परेको छ । यहाँ पढ्दै गरेका विद्यार्थीहरू प्रत्येक क्रियाकलाप नियमानुसार नियमित रूपमा गर्छन् । 'बिहान ४: ३० भित्रै उठिसक्नुपर्छ । उठ्नेबित्तिकै शौच, स्नान, जप ध्यान गर्नुपर्छ । नियमित रूद्राभिषेक गर्नुपर्छ ।' शिक्षक सुदीप ढकालले भन्नुभयो ।

शुभमुहूर्तमा गरिने शुद्ध र स्वच्छ क्रियाकलापले विद्यार्थीहरूमा दिनभर ऊर्जा छाइरहने हुनाले आलस्यपन नहुने ढकालले बताउनुभयो । दिनभर नियमित कक्षामा पढाइ हुन्छ भने बेलुका ४ बजेपछि खेलकूद, अतिरिक्त क्रियाकलाप, सरसफाई, गायत्री, सन्ध्यामा पूजा, जप, ध्यान हुन्छ ।

त्यतिमात्र नभई यहाँका विद्यार्थीहरूलाई विभिन्न क्षेत्रमा आयोजना गरिने कर्मकाण्ड, व्रतबन्ध, विवाह, सोह्र श्राद्ध लगायतमा निम्ताइन्छ जसबाट उनीहरूले गुरू दक्षिणाका रूपमा आर्थिक उपार्जन समेत गर्ने गरेका छन् । आफूले कमाएको यस्तो पैसाले उनीहरूलाई कापी, कलम लगायत शैक्षिक सामग्री जुटाउन मद्दत मिलेको छ । यसले संस्कृत शिक्षा आत्मनिर्भर समेत छ भन्ने विद्यालयले व्यावहारिक रूपमा पुष्टि गरेको छ ।

विद्याश्रममै पढेका विद्यार्थीहरू नै गुरूका रूपमा अहिले नयाँ विद्यार्थी उत्पादनमा लागिरहेका छन् । गुरू चेला उत्पादनको परम्परागत गुरूकूल पद्दतिलाई विद्यालयले अनुसरण गरिरहेको छ ।

विद्यालयले सुरूका केही वर्ष आर्थिक सङ्कट बेहोरिरहेको थियो । विद्यालयको आम्दानी थिएन । समस्यै समस्या थियो । यही बेलामा संस्थापक अध्यक्ष पं.पुण्यप्रसाद उपाध्यायले महायज्ञ लगाउने सोच गर्नुभयो । उहाँको निर्णयलाई समुदायले साथ दियो । तत्कालीन उपराष्ट्रपति कार्यालयका उपसचिव डा.महेश्वर शर्मा पौडेलले उपाध्यायलाई साथ दिनुभयो । उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यमा महायज्ञ सम्पन्न भयो । महायज्ञमा सबैले सहयोग गरे । विद्यालयको जग बस्यो ।

ब्राह्मण समाज स्याङ्जाका अध्यक्ष समेत रहेका प.पुण्यप्रसाद उपाध्यायको व्यक्तिगत प्रतिष्ठा र सम्पर्कका कारण विद्याश्रममा धेरै सहयोगी मनहरू जुटिरहेका छन् । काफलटारी आश्रम भन्नेबित्तिकै धेरैले उनै संस्थापक अध्यक्ष गुरूलाई सम्झिन्छन् ।

उहाँकै नेतृत्वमा विद्याश्रको स्थापना र विकास भएको हो । आफूपछि यस विद्याश्रमको अवस्था बिग्रन्छ कि भन्ने चिन्ता उहाँलाई छ । 'म बूढो भएँ । नयाँ पुस्ताले यसको महत्वलाई बुझेर यसको संरक्षण र विकासमा लाग्छ कि लाग्दैन होला भन्ने पिरलो लाग्छ ।'

अहिले विद्यालयमा बिल्डिङहरू बनेका छन् । शौचालय, आवास कोठा,कम्प्युटर ल्याब, पुस्तकालय, भोजन गृह लगायतका सुविधा उपलब्ध छन् । विद्याश्रमको गेटमा शिवालय मन्दिर निर्माण गरिएको छ । विद्याश्रमको परिसरमै गायत्री मन्दिर बनाइएको छ ।

अहिले विद्यार्थी सङ्ख्या कम भइरहेको छ । 'कहिले ६०-६५, कहिले ५०-५५, कहिले ४०-४५ यस्तै सङ्ख्या विगत थुप्रै वर्षदेखि छ, कहिले केही बढी कहिले केही कम भइरहेको छ ।' व्यवस्थापन समितिका अध्यक्ष पुण्यप्रसाद उपाध्यायले भन्नुभयो ।

अझै एउटा छुट्टै प्रवचन हलको आवश्यकता छ । विद्यार्थीहरूलाई भोजनको व्यवस्था समस्या बनेको छ । घेराबार छैन । व्यवस्थित भोजनालय नहुँदा समस्या छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?