राष्ट्रिय गौरवको आयोजना राँके-रवि सडक लथालिंग, न हुन्छ काम, न तोडिन्छ ठेक्का

हिमालय टाइम्स
Read Time = 5 mins

-जितेन्द्र भण्डारी

पाँचथर । राष्ट्रिय गौरवका रूपमा रहेको राँके–रवि ६ नम्बर बुधबारे सडक लथालिंग अवस्थामा पुगेको छ । भारतीय निर्माण कम्पनीको लापरबाहीका कारण उक्त सडक लथालिंग अवस्थामा पुगेको हो ।

पाँचथरको राँकेदेखि रवि ६ नम्बर बुधबारे हुँदै धनकुटाको भेडेटार जोड्ने १०३ किलोमिटर सडक कालोपत्रे गर्न तोकिएको चारवर्षे अवधिको म्याद गुज्रेको सात महिना बितिसक्दासम्म सडकको काम अगाडि बढाउन कसैले चासो दिएको छैन । जसका कारण सडक लथालिंग बन्न पुगेको छ ।

काम सुरु भएको पाँच वर्ष पुग्न लाग्दासम्म वित्तीय प्रगति १७ र भौतिक प्रगति १९ प्रतिशतमात्रै भएको सडक डिभिजन कार्यालयले जनाएको छ । ‘सम्झौता सकिँदासम्म न्यूनतम ३० प्रतिशत काम गरेकै हुनुपर्छ । मापदण्डअनुसार काम नभएकाले म्याद थप्न सक्ने अवस्था नभएको कन्सल्टेन्ट कम्पनी सिम्याटका इन्जिनियर स्वागत महर्जनले बताउनुभयो ।

तीन करोड २६ लाख १८ हजार ५४१ अमेरिकी डलर लागत रहेको उक्त सडक कालोपत्रे गर्न भारतीय निर्माण कम्पनी एप्को इन्फ्रान्टले नेपाल सरकारसँग २०७५ सालमै सम्झौता गरेको थियोे । सम्झौतामा २०७८ साल मंसिर महिनाभित्र काम सक्नुपर्ने उल्लेख छ । सडक निर्माणका लागि भारतीय एक्जिम बैंकले सहयोग गरेको हो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सम्झौतालगत्तै २०७५ साल पुस २१ गते कालोपत्रे गर्ने कामको उद्घाटन गर्नुभएको थियो । म्याद गुज्रेको सात महिना बितिसक्दासम्म कामको प्रगति १९ प्रतिशतमा सीमित छ । निर्माण कम्पनीले श्रमिकलाई नियमित पारिश्रमिक पनि दिएको छैन ।

इन्जिनियर महर्जनका अनुसार निर्धारित समयमा काम नसकिए पहिलोपटक थप्न ३० प्रतिशत काम गरेकै हुनुपर्छ । पूर्ण इकाईको ३० प्रतिशतभन्दा कममात्रै काम गरेकाले म्याद थप्दा दैनिक ०.१ प्रतिशतका दरले जरिवाना नेपाल सरकारलाई तिर्नुपर्छ । एप्को इन्फ्रान्टका सञ्चालकहरू जरिवाना तिरेर म्याद थप्ने मानसिकतामा देखिएका छैनन् । एप्को इन्फ्रान्टका प्रोजेक्ट म्यानेजर राजु सिंह काममा ढिलाइ हुनुको कारक कोभिड–१९ र बेमौसमी झरी नै कारक रहेको दाबी गर्नुहुन्छ । श्रमिकलाई भुक्तानी दिने समस्या ठूलो नभएको भन्दै उहाँले थप कुरा भने गर्न चाहनुभएन ।

कालोपत्रे गर्न जिम्मा लिएको यो कम्पनीले १०३ किलोमिटर लामो सडक १ नम्बर प्रदेशका पाँचथर, इलाम, मोरङ र धनकुटालाई सडक मार्गबाट जोड्ने उद्देश्यअनुसार तीन दशकआगावै सुरु भएको अभिलेख सडक डिभिजन इलामसँग छ । यो सडक मेची राजमार्गअन्तर्गत इलाम फिदिम खण्डमा पर्ने राँके बजारबाट सुरु भएर देउराली, घुर्विसे पञ्चमी, सप्तमी, रवि, चिसापानी पञ्चमी, कम्फुटार, लेकगाँउ, छ नम्बर बुधबारे, सौरे, मुढेवास, समिया, चौकीभञ्ज्याङ, राजारानी, डाँडाबजार, ओख्रे र नाम्जे हुँदै कोसी राजमार्गको धरान धनकुटा सडक खण्डमा पर्ने भेडेटार पुगेर टुंगिन्छ ।

यत्तिका स्थानलाई छोएर अगाडि बढेको यो सडकको पाँचथर खण्डमा माटो ब्याक कटिङ गरेर छोडिएको छ भने रिटनिङ वाल लगाउने र ग्याबिन तारजाली बुन्ने काम अलपत्र छ । माटो उधिनेर छोडिएकाले सडक खण्ड हिलाम्ये छ । सामान्य वर्षा हुनासाथ लेदो माटो र पानी जमेकाले ठाउँ–ठाउँमा सवारी र ढुवानीका साधन फस्ने गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?