धरानका जनताले सामाजिक अभियन्ता साम्पाङलाई दिए लोकप्रिय मत

Read Time = 4 mins

धरान । धरान उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (साम्पाङ)  विजयी हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता किशोर राईलाई चार हजार ७६२ मतान्तरले पराजित गर्दै उहाँ निर्वाचित हुनुभएको हो । उहाँले २० हजार ८२१ लोकप्रिय मत प्राप्त गर्नुभएको छ । उहाँ निकटतम प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार राईले १६ हजार ६९ मत प्राप्त गर्नुभयो ।

निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको अन्तिम मत परिणामअनुसार एमालेबाट उम्मेदवार रहनुभएकी मञ्जु भण्डारीले १२ हजार ८२५ मत मात्र प्राप्त गर्नुभयो । सामाजिक अभियान्ता साम्पाङले धरानमा भएको खानेपानी समस्या, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको बेथितिबारे एक्लै आवाज उठाउँदै आउनुभएको थियो ।

उहाँले राजनीतिक दलप्रति नकारात्मक सन्देश फैलाउँदै एक्लै घरदैलो गर्नुभएको थियो । एक्लै भए पनि मुद्दा जायज भएको देखेर धराने जनताले उहाँलाई लोकप्रिय मत दिएर जिताउनुभएको छ । उहाँले विसं २०७४ को उपनिर्वाचनमा पनि प्रमुखमा उम्मेदवारी दिँदा ४२२ मत ल्याउनुभएको थियो । विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापनापछि धरानमा वामपन्थीले एक छत्र शासन गर्दै आएका थिए । पहिलो पटक स्वतन्त्र उम्मेदवार नगर प्रमुखमा निर्वाचित हुनुभएको छ ।

धरानको राजनीतिक इतिहासलाई फर्केर हेर्दा २०१७ सालमा नगरपालिका घोषणा भएसँगै वामपन्थी उम्मेदवार नै लगातार प्रमुख भएका छन् । विसं २०४६ को जनआन्दोलनपछि संवैधानिक राजतन्त्रको पालामा २०४८ र २०५४ सालमा भएको निर्वाचानमा वामपन्थी उम्मेदवार नै प्रमुखमा हुनुभएको थियो । विसं २०४८ मा ध्यानबहादुर राई, २०५४ मा मनोज मेन्याङ्बोले जित्नुभएको थियो । उहाँ दुवै जना एमालेबाट चुनाव जित्नुभएको थियो । वामपन्थी जीतलाई निरन्तरता दिनुभयो । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा एमालेका तारा सुब्बाले एमालेबाट जित्नुभएको थियो । धरानको कूल मतदाता एक लाख ३२४ रहेकामा ६२ हजारले मतदान गर्नुभएको थियो ।

उपप्रमुखमा लोकतान्त्रिक वाम गठबन्धनबाट अइन्द्रविक्रम बेघा निर्वाचित हुनुभएको छ । बीस हजार ५१० मत प्राप्त गरेर निर्वाचित हँुदा उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका पदम इस्वोलाई दुई हजार ९०४ मतान्तरले पराजित गर्नुभएको छ । इस्वोले १७ हजार ६०६ मत प्राप्त गर्नुभएको छ । अघिल्लो २०७४ सालको निर्वाचनमा प्रमुख र उपप्रमुखमा १४ वडा जितेको एमाले यसपटक निकै खुम्चेको छ । २, ४, ५, ७, ८, १०, १२, १३, १५, १९ नं वडा विजयी भएको छ । प्रमुख र उपप्रमुखमा मत नआए पनि वडाध्यक्षमा उत्कृष्ट मतले एमाले विजयी भएको छ ।

कांग्रेसले १, ३, ९, ११, १६, १८, २० नं विजयी भएको छ । १७ नं वडामा माओवादी केन्द्रका नगर अध्यक्षसमेत रहनुभएका मनोज भट्टराई विजयी हुनुभएको छ । गत निर्वाचनमा पनि भट्टराई विजयी हुनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?