प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि बागलुङलाई

हिमालय टाइम्स
Read Time = 4 mins

-डम्मर बुढा मगर
बागलुङ । प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड २०७८ को उपाधि बागलुङले जितेको हो । २७ पदक हासिल गर्दै बागलुङ जिल्ला राष्ट्रपति रनिङ शिल्ड च्याम्पियन बन्न सफल भएको हो ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा शुक्रबार सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बागलुङले समग्रमा १० स्वर्ण, १३ रजत र ४ कास्यपदक सहित रनिङ शिल्ड हात पार्दा नवलपुरले ९ स्वर्ण, ६ रजतका साथ दोस्रो तथा स्याङजा ६ स्वर्ण २ रजत र २ कास्य पदक सहित तेश्रो स्थान प्राप्त गर्न सफल भएका छन् ।

च्याम्पियन बागलुङले रनिङ शिल्डसहित नगद ३० हजार, दोस्रो हुने नवलपुरले नगद २० हजार र तेस्रो स्थान प्राप्त गरेको स्याङजाले नगद १० हजार प्राप्त गरेका छन् ।

असार २३ गतेबाट पोखरा रंगशालामा सञ्चालन भएको प्रतियोगितामा बागलुङले उसुमा ३ स्वर्ण र २ रजत, कराँतेमा १ स्वर्ण, २ रजत र २ कास्य, तेक्वान्दोमा ३ स्वर्ण र ३ रजत, एथलेटिक्समा २ स्वर्ण ४ रजत १ कास्य, भलिबल छात्र तर्फ एक कास्य कब्बडी छात्रतर्फ एक स्वर्ण पदक हात पारेको छ ।

प्रतियोगितामा समग्रमा दोस्रो हुन सफल नवलपुरले भने एथलेटिक्स खेलतर्फ ९ स्वर्ण ४ रजत र ५ कास्य पदक जितेर सनसनी मच्चाएको छ । नवलपुरले कराँतेमा १ रजत हात पार्दा तेक्वान्दोमा १ रजत र १ कास्य तथा कब्बडी छात्रातर्फ १ कास्य पदक प्राप्त गरेको छ । तेस्रो स्थान प्राप्त गरेको स्याङजाले एथलेटिक्समा ५ स्वर्ण, २ रजत र १ कास्य, कराँतेमा १ कास्य तथा भलिबल छात्र÷छात्रा तर्फ १÷१ स्वर्ण प्राप्त गर्न सफल भएको छ ।

प्रतियोगितामा गण्डकी प्रदेशका १० जिल्लाका ५ सय ७४ जना खेलाडीको सहभागिता रहेको छ । उनीहरुले एथलेटिक्स, भलिबल, कब्बडी, तेक्वान्दो, कराते र उसुमा प्रतिष्पर्धा भएको थियो । यस अघि जिल्ला स्तरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको थियो । उक्त प्रतियोगितामा विजेता बन्न सफल खेलाडीले प्रदेश स्तरमा सहभागिता जनाएका थिए ।

प्रदेश स्तरको प्रतियोगिताबाट राष्ट्रियस्तरको राष्ट्रपति रनिङ शिल्डका लागि विभिन्न ६ खेलका १ सय ११ जना खेलाडी छनौट गरिएको छ । उनीहरुलाई दुई दिन सम्म पोखरामा बन्द प्रशिक्षणमा राखिने उनीहरु यहि असार २७ गते काठमाडौं प्रस्थान गर्ने कार्यक्रम रहेको सदस्य सचिव गुरुङले जानकारी दिए । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही असार २८ देखि ३० गतेसम्म काठमाडौँमा सञ्चालन हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?