बुढीगंगामा ६ वडाको मत गणना सकिँदा कांग्रेसले खाता खोल्यो

Read Time = 3 mins

धनगढी । बाजुराको बुढीगंगा नगरपालिकामा जारी मत गणना अन्तरगत ६ वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । ६ वडाको मतगणना सम्पन्न हुँदा नेपाली कांग्रेसले खाता खोलेको छ ।

नेपाली कांग्रेसले बुढीगंगा नगरपालिका–८ का वडा अध्यक्ष पद जीतेको हो । वडा नम्बर–८ मा नेपाली कांग्रेसका उम्मेदवार रमेश बहादुर रावल विजयी हुनुभयो। नेकपा एमालेका उम्मेदवार बिराज रावललाई पराजित गर्दै रमेश रावल वडा अध्यक्षमा विजयी हुनुभएको हो । मतगणना सम्पन्न भएका अन्य ५ वडामा भने नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

वडानम्बर १ मा एमाले रणबहादुर थापा, वडा नम्बर–२ मा नेकपा एमालेका पदम बहादुर भण्डारी, वडा नम्बर–३ मा नेकपा एमालेका खडबहादुर अधिकारी, वडा नम्बर–९ मा मीनबहादुर सिंह र वडा नम्बर–१० मा एमालेकै दलबहादुर साउद डेभिड विजयी हुनुभयो । अहिले वडा नम्बर–४ र ७ को मतगणना भइरहेको छ ।

बुढीगंगामा हाल सम्म ५ हजार ५ सय मत गणना भइसक्दा मेयर उपमेयरमा एमालेका उम्मेदवार फराकिलो मत अन्तरले अगाडि छन् । जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीका अनुसार बुढीगंगाको मेयरमा एमालेका उम्मेदवार राम बहादुर बानियाँ ३ हजार ३५१ मत सहित अग्र स्थानमा रहँदा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दिनुभएका रंगबहादुर खातीले १ हजार ७८९ मत ल्याउनु भएको छ ।

उप मेयरमा पनि एमालेकी माया कुमारी खड्का (कुँवर) ३ हजार २५८ मत सहित लिड गरिरहनुभएको छ भने कांग्रेसकी उम्मेदवार रिता शाही (शाह)ले १ हजार ८६२ मत ल्याउनु भएको छ। बुढीगंगामा ९ हजार १२८ मते खसेको थियो ।
बुढीगंगा नगरपालिकामा बिहीबार मतदान भएको थियो । गत वैशाख ३० गते भएको निर्वाचन विवादित भएपछि निर्वाचन आयोगले बिहीबार पुनः मतदान गराएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?