लक्ष्मण र लक्ष्मीलाई अपहिलको उपाधि

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । लक्ष्मण मल्ल र लक्ष्मी मगरले ‘माउन्टेन बाइक अपहिल च्यालेन्ज सिरिज २०२२’ को उपाधि जित्नुभएको छ । सात चरणमा सम्पन्न भएको प्रतियोगिताको एलिट पुरुष विधामा लक्ष्मणले सुरज राना मगर र कुमार तामाङलाई पराजित गर्नुभयो । लक्ष्मणले १४५० अंक प्राप्त गर्दा दोस्रो हुनुभएका सुरजले ९४० अंक तथा तेस्रो स्थान प्राप्त गर्नुभएका कुमार तामाङले ८७० अंक पाउनुभयो ।

महिलातर्फको एलिट विधामा लक्ष्मीले १४०० अंकसहित प्रथम स्थान हासिल गर्नुभयो । १३५० अंक पाउनुभएकी उषा खनाल दोस्रो हुँदा इन्द्रकुमारी तामाङले तेस्रो स्थान हासिल गर्नुभयो । दुवै विधामा विजेता, उपविजेता र तेस्रो स्थान हासिल गर्ने खेलाडीले क्रमशः २५ हजार, २० हजार र १५ हजार नगद पुरस्कार प्राप्त गर्नुभयो ।

गत जनवरी ८ बाट सुरु भएको प्रतियोगिताको समापन आइतबार बालुवाटारस्थित ढुकु फुटसल हबमा भएको थियो । २५० भन्दा बढी स्वदेशी तथा विदेशी साइकल राइडर सहभागी प्रतियोगिता पाँच विधाका विभिन्न १३ उमेर समूहमा आयोजना भएको थियो । प्रतियोगिताको हरेक सात संस्करणलाई सातवटा फरक–फरक व्यावसायिक साइक्लिङ संस्थाले आयोजना गरेका थिए । जसमा ट्रेक बाइक नेपाल, हिमालयन सिंगल ट्र्याक, एमटिबी कग्स, इपिक माउन्टेन बाइक, लक्ष्मी साइकल सेन्टर, प्याङ्क बाइक र ट्यापआउट फिटनेस तथा ढुकु स्पोर्ट्स हब रहेका छन् ।

यस्तै, जुनियर पुरुषतर्फ राहुल वाइबा पहिलो, हिमान उपाध्याय दोस्रो तथा तेस्रो स्थान हासिल गर्नुभएका सुसिम चित्रकारले क्रमशः २०, १५ र १० हजार पुरस्कार प्राप्त गर्नुभयो । प्रतियोगिताको युथ (१२) तर्फ पूर्णराज तामाङ विजयी हुनुभयो । मास्टर पुरुषतर्फ टेलर हिवर्व, मास्टर महिलातर्फ गोगी ग्रेवल, भेट्रान (५० माथि) ड्यानियल डेनेस, ग्रान्डमास्टर पुरुषतर्फ पेम्बा शेर्पा, ग्रान्डमास्टर महिलातर्फ निभा श्रेष्ठ र सिनियर पुरुषतर्फ स्टेफन जेम्स किलिङ विजयी हुनुभयो ।

सात चरणसम्म चलेको प्रतियोगिताका विजेतालाई नेपाल साइक्लिङ संघका पूर्वअध्यक्ष छिमि उर्गेन गुरुङले पुरस्कृत गर्नुभयो । सिरिजका आयोजक एवं राष्ट्रिय साइक्लिङ टोलीका प्रशिक्षक प्रयास तामाङले प्रतियोगितामा नेपालको साइक्लिङ समुदायको उत्साहजनक सहभागिता रहेकाले आगामी दिनमा अझै भव्य र परिष्कृत ढंगले अगाडि बढ्ने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?