पलेशा र प्रिन्ससहित १३ खेलाडीलाई प्रोत्साहन पुरस्कार

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विभिन्न ६ खेलका १३ खेलाडीलाई सोमबार खेलाडी प्रोत्साहन पुरस्कार प्रदान गरेको छ । पारा तेक्वान्दोका ४, ब्याडमिन्टन र भलिबलका १-१, बक्सिङका ३, एथलेटिक्स र ट्रायथलनका २-२ गरी १३ खेलाडीलाई जम्मा १० लाख ५० हजार नगद पुरस्कारसहित प्रशंसापत्र प्रदान गरियो ।

पारा ओलम्पियन तेक्वान्दोकी पलेशा गोवद्र्धन र ब्याडमिन्टनका प्रिन्स दाहालले समान एक लाख ५० हजार नगद पुरस्कार पाउनुभयो । टोकियो पारा ओलम्पिकमा २ ‘बाउट’ जितेर इतिहास रच्नुभएकी पलेशाले एसियाली युथ पारा गेम्समा स्वर्ण जित्नुभएको थियो । हाल विश्व जुनियर वरीयताको सातौँ स्थानमा रहनुभएका प्रिन्स केही महिनाअघि शीर्ष वरीयतामा हुनुहुन्थ्यो ।

बक्सिङका नारिका राई, स्वस्तिका तिरुवा र छिरिङ शेर्पा र पारा तेक्वान्दोकी सिर्जना घिसिङले एक/एक लाख नगद पाउनुभयो । बक्सिङका तीनैजनाले युएइमा भएको एसियाली युथ तथा जुनियर बक्सिङ प्रतियोगितामा कास्य जित्नुभएको थियो । सिर्जनाले इरानमा भएको वल्र्ड प्रेसिडेन्ट कप च्याम्पियनसिपमा नेपाललाई रजत दिलाउनुभएको थियो ।

एथलेटिक्सकी राजपुरा पछाई र पुष्पा भण्डारी, ट्रायथलनका सोनी गुरुङ र वसन्त थारु, पारा तेक्वान्दोका रञ्जना धामी र विशाल गर्बुजा तथा भलिबलकी अरुणा शाहीले ५०-५० हजार नगद पुरस्कार पाउनुभयो । राजपुराले भारतमा भएको दक्षिण एसियाली क्रस कन्ट्री तथा पुष्पाले ढाका म्याराथनमा रजत जित्नुभएको थियो ।

पोखरामा भएको नवौँ दक्षिण एसियाली ट्रायथलनमा सोनी र वसन्तले कास्य हासिल गर्नुभएको थियो । रञ्जनाले एसियाली खेलकुदको छनोट तथा विशालले युथ एसियन गेम्सको छनोटमा कास्य हात पार्नुभएको थियो । एसियन सेन्ट्रल जोन महिला भलिबलमा नेपालले स्वर्ण जित्दा अरुणा टोलीकी कप्तान हुनुहुन्थ्यो ।

उहाँहरूलाई युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला, राखेपका सदस्य-सचिव टंकलाल घिसिङ, कार्यक्रम संयोजक एवं राखेपकी सदस्य चन्द्रबदना राईले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?