नबिल र एनबी बैंकद्वारा एकीकृत कारोबार सुरु

Read Time = 3 mins

काठमाडौं । नबिल बैंक र नेपाल बंगलादेश बैंक (एनबी बैंक) बीच भएको प्राप्तिको सम्पूर्ण कार्य समापन भई एकीकृत कारोबार सुरु भएको छ । नबिल बैंकको ३८औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा एक कार्यक्रमबीच मुख्य सचिव शंकरदास बैरागी, बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेल र उपाध्यक्ष निर्वाण चौधरीले संयुक्तरूपमा एकीकृत कारोबारको शुभारम्भ गर्नुभएको हो ।

दुई बैंकको मर्जपछि ‘नबिल बैंक लिमिटेड’ नामबाट एकीकृतरूपमा वित्तीय कारोबार सञ्चालन भएको छ । सो अवसरमा मुख्य सचिव बैरागीले पुरानोमध्येको एक नेपाल बंगलादेश बैंक प्राप्तिपछि नबिल बैंक अझ ठूलो भएको भन्दै मर्जरले देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्नुभयो ।

अध्यक्ष पौडेलले प्राप्तिपछि नबिलले बैंकिङ प्रणालीलाई थप सुशासित, सुरक्षित, स्वच्छ, कुशल तथा सक्षम बनाई बैंकिङ क्षेत्रको स्थायित्वमा टेवा पु¥याउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यस बैंकले वास्तविक अर्थतन्त्रलाई सहयोग पुर्‍याउने लक्ष्यसहित नबिलले दिगो बैंकिङको सुरुवात गरेको छ र अझ सशक्तरूपमा अघि बढ्नेछ ।’ प्राप्तिसँगै अब एनबी बैंकको सम्पूर्ण सम्पत्ति तथा दायित्वको अभिभारा नबिल बैंकले प्राप्त गरेको छ ।

बैंकका प्रमुख कार्यकारी निर्देशक ज्ञानेन्द्र ढुंगानाले नेपालको वित्तीय क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएका सम्मानित संस्थाहरू एक भई अझै विस्तारित र सशक्त भएर राष्ट्र निर्माणमा अग्रसरता लिने उद्देश्यसाथ दुई बैंकबीच समझदारी भएको बताउनुभएको छ । बैंकका अनुसार प्राप्तिपछि चुक्ता पुँजी २२ अर्ब ८३ करोड, कुल पुँजी ५६ अर्ब दुइ करोड, कुल निक्षेप तीन खर्ब २८ अर्ब तथा कुल कर्जा तीन खर्ब आठ अर्ब पुगेको छ । देशभरि दुई सय ६७ शाखा सञ्जाल र एटिएम संख्या दुई सय ७४ पुगेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?