कोलम्बोमा कर्फ्यु, सडकमा सेनाका ट्यांक

हिमालय टाइम्स
Read Time = 4 mins

कोलम्बो । श्रीलंकाको कोलम्बोमा कर्फ्यु लगाइएको छ । सुरक्षाका लागि सेनाका ट्यांक सडकमा घुमिरहेका छन् । गोटाबाया राजापाक्षेले पछिल्लो समयसम्म राष्ट्रपति पदबाट राजीनामा दिनुभएको छैन । हाल श्रीलंकाको कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी रनिल विक्रमासिंघेले सम्हाल्नु भएको छ ।

श्रीलंकामा आर्थिक संकटको बीचमा, राजनीतिक संकट पनि गहिरो हुँदै गइरहेको छ । देश छोडर माल्दिभ्स जानुभएका राष्ट्रपति राजापाक्षे त्यहाँबाट सिंगापुर जानुभएको छ । त्यसपछि उहाँ साउदी अरब जाने बताइएको छ ।

उहाँ मंगलबार राति श्रीलंकाबाट बाहिरिनु भएको थियो । यसपछि बुधबार दिनभरजासो श्रीलंकामा चर्को हंगामा भएको थियो भने प्रदर्शनकारीले प्रधानमन्त्री निवास कब्जा गरेका थिए । सभामुखको घर र संसदबाहिर प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको थियो ।

झडपमा एक प्रदर्शनकारी, एक प्रहरी जवान र एक सैनिकको मृत्यु भएको बताइएको छ । पछि शान्ति कायम गर्न सेनाको अपिलपछि बिहीबार आन्दोलनकारीले राष्ट्रपति निवास र प्रधानमन्त्री निवास खाली गर्ने घोषणा गरेका छन् ।

कोलम्बोमा दिउँसो १२ बजेदेखि भोलि बिहान पाँच बजेसम्म कर्फ्यू लगाइएको छ । कार्यवाहक राष्ट्रपतिले नयाँ प्रधानमन्त्रीका लागि छिट्टै सबै दलसँग वार्ता गरी सहमतिमा अनुसार घोषणा गर्न सभामुखलाई सन्देश दिनुभएको छ ।

यता, बेलायत, सिंगापुर र बहराइनले आफ्ना नागरिकहरूलाई श्रीलंकाको गैरआवश्यक यात्रा नगर्न आग्रह गरेका छन् । अभूतपूर्व आर्थिक संकटबीच देशमा ठूलो विरोध प्रदर्शन भइरहेका बेला ती देशले अत्यावश्यक अवस्थामा बाहेक श्रीलंकाको भ्रमण नगर्न आफ्ना नागरिकलाई अनुरोध गरेका हुन् ।

यसैबीच श्रीलंकाका लागि अमेरिकी राजदूत जुली चुङले देशको संवैधानिक ढाँचाभित्र रहेर शान्तिपूर्ण रूपमा शक्ति हस्तान्तरण गर्न आग्रह गर्नुभएको छ । अमेरिकाले सबै हिंसाको निन्दा गर्ने र संकटमा कानुनी शासन कायम गर्न पनि उहाँले आहृवान गर्नुभएको छ । ‘हामी सबै हिंसाको निन्दा गर्छौं र कानूनको शासन कायम गर्न आहृवान गर्दछौं’, उहाँले एक ट्वीट सन्देशमा भन्नुभएको छ । उहाँले श्रीलंकाको लोकतान्त्रिक र संवैधानिक ढाँचाभित्र रहेर शान्तिपूर्ण सत्ता हस्तान्तरणको आवश्यकता औंल्याउनु भएको छ । चुङले श्रीलंकामा आर्थिक र राजनीतिक स्थायित्व कायम गर्न दलहरूलाई मिलेर काम गर्न आग्रह पनि गर्नुभएको छ । ‘हामी सबै पक्षहरूलाई राष्ट्रको उन्नतिका लागि प्रतिबद्धताका साथ यस मोडमा पुग्न र दीर्घकालीन आर्थिक र राजनीतिक स्थिरता ल्याउने समाधान कार्यान्वयन गर्न छिटो काम गर्न आग्रह गर्दछौं’ उहाँले भन्नुभएको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?