इन्धनको मूल्य घटेर आए पनि निगमले नघटाउने

Read Time = 2 mins

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पेटोलियम पदार्थको मूल्य निरन्तर घट्दो क्रममा रहे पनि नेपाल आयल निगम भने मूल्य घटाउन तयार छैन । पछिल्लोपटक इण्डियन आयल कर्पोरेसन(आइओसी)बाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ तर निगमले मूल्य नघट्ने जनाएको छ । अझै पनि २७ अर्ब रुपैयाँ घाटामा रहेकाले तत्काल मूल्य घटाउन नसकिने निगमको भनाइ छ ।

आइओसीबाट १५ मंसिरमा प्राप्त खरिद मूल्यअनुसार एलपी ग्याँसको मूल्य केही बढेको छ भने पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलमा घटेर आएको छ । निगमद्वारा जारी प्रेस विज्ञप्तिका अनुसार मंसिर १५ गते प्राप्त खरिद मूल्यसूचीबमोजिम एलपी ग्याँसमा प्रतिसिलिण्डर ४३ रुपैयाँ ९३ पैसा बढेर आएको छ । एलपी ग्याँसमा हाल प्रतिसिलिण्डर २७७.०२ रुपैयाँ घाटा छ । आइओसीलाई हालसम्म तिर्न बाँकी रकम, पुरानो बक्यौता तथा नेपाल सरकारलाई तिर्नुपर्ने ऋणसमेत गरी करिब २७ अर्ब रुपैयाँ तिर्न बाँकी रहेको निगमको दाबी छ ।

ग्याँस सिलिण्डर बिक्रीबाट मात्र निगमलाई १५ दिनमा ३६ करोड ८५ लाख रुपैयाँ घाटा हुने भए पनि पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलमा मूल्य घट्दा पनि यथावत् राख्दा १५ दिनमा करिब ५८ करोड नाफा हुने निगमले जनाएको छ । हाल अन्तर्राष्ट्रिय बजारमा मूल्य पुनः घटबढ हुने क्रममा रहेको अवस्थामा पेट्रोलियम पदार्थको आपूर्ति सञ्चालनमा राख्न र आइओसीको बक्यौता एवं सरकारलाई उपलब्ध गराइएको ऋणको व्यवस्थापन गर्न निगमलाई चुनौती रहेकाले तत्काललार्ई पेट्रोलियम पदार्थको खुद्रा मूल्य यथावत् रहने निगमले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?