तीनदिने भ्रमणका लागि प्रचण्ड भारत प्रस्थान, दिल्लीमा चौथाइवालेद्वारा स्वागत

Read Time = 5 mins

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) भारतको तीनदिने औपचारिक भ्रमणका क्रममा शुक्रबार दिउँसो नयाँदिल्ली पुग्नुभएको छ । शुक्रबार दिउँसो उहाँ नेपाल एयरलाइन्सको विमानमार्फत स्वकीय सचिवहरू छोरी गंगा दाहाल र रमेश मल्लसहित नयाँदिल्ली पुग्नुभएको हो । स्वकीय सचिव मल्लका अनुसार दाहाललाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय जनता पार्टी (भाजपा) विदेश विभाग प्रमुख विजय चौथाइवालेले स्वागत गर्नुभएको थियो । त्यस्तै, दाहालको स्वागतमा भारतका लागि नेपाली राजदूत शंकर शर्मा, नेपाली राजदूतावासका अधिकारी तथा भारत सरकारका उच्च अधिकारीहरू र नेपाली समुदायका प्रतिनिधिको पनि उपस्थिति थियो ।

अध्यक्ष दाहाल भाजपा अध्यक्ष जेपी नड्डाको औपचारिक निमन्त्रणामा भारत भ्रमणमा जानुभएको हो । भ्रमणका क्रममा दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर, विदेश सचिव विनयमोहन क्वात्रा, भारतीय सुरक्षा सल्लाहकार अजित डोभल र भाजपा अध्यक्ष जेपी नड्डासहितका नेतासँग भेटघाट गर्नुहुनेछ । भाजपानिकट थिंक ट्यांक इण्डिया फाउन्डेसनले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम पनि छ । आइतबार बिहान प्रधानमन्त्री मोदी र त्यसलगत्तै भाजपा अध्यक्ष जेपी नड्डालाई भेट्ने तयारी छ । दाहाल साउन १ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

आकस्मिक नभई पूर्व-निर्धारित कार्यक्रम अनुसारकै भ्रमण हो : दाहाल
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो भारत भ्रमण आकस्मिक नभएको बताउनुभएको छ । शुक्रबार भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्नुअघि दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै पूर्व–निर्धारित कार्यक्रमअनुसार नै आफ्नो भ्रमण हुन लागेको बताउनुभएको हो ।

‘बाहिर आउँदा आकस्मिक जस्तो देखिए पनि मेरा लागि र हाम्रो पार्टीका लागि भने यो भ्रमण आकस्मिक होइन । तत्कालीन भारतीय राजदूत विनयमोहन क्वात्राले नै मलाई भारत भ्रमणको निम्तो दिनुभएको थियो । क्वात्राजी विदेश सचिव भएर गएपछि पनि मलाई भ्रमणको उपयुक्त समय कुन हुन्छ ? भनेर सोध्नुभएको थियो । मैले जुलाई दोस्रो साता हुन सक्छ भनेको थिएँ । अहिले भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको औपचारिक निमन्त्रणामा भ्रमण हुन लागेको हो,’ दाहालले भन्नुभयो ।

त्यस्तै, आफ्नो भ्रमण नेपाल-भारत सम्बन्धलाई अझ कसरी बलियो बनाउने भन्ने विषयमा केन्द्रित हुने पनि दाहालले दाबी गर्नुभयो । भाजपा र माओवादी केन्द्रबीचको सम्बन्ध सुदृढका लागि पनि आफ्नो भ्रमण भएको उहाँले बताउनुभएको छ । ‘भाजपा उताको सत्तारूढ पार्टी हो । अहिले हामी पनि यता सत्ता घटक हौँ । यो भ्रमण दुई पार्टीबीचको सम्बन्ध मात्र नभएर दुई देश र जनता-जनताबीचको सम्बन्ध सुदृढका लागि पनि हो,’ दाहालले भन्नुभयो । दाहालले नेपाल-भारतबीचमा देखिएका सीमा विवाद पनि कूटनीति र वार्तामार्फत समाधान हुनुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै, चिनियाँ नेताको भ्रमणलगत्तै आफ्नो भारत भ्रमण हुन संयोग मात्र भएको दाहालले बताउनुभयो । चिनियाँ नेताको भ्रमणपछि भारत भ्रमण हुन लागेको विषयलाई प्रष्ट पार्दै दाहालले भन्नुभयोे, ‘सिपिसी अन्तर्राष्ट्रिय विभागका प्रमुखको नेपाल भ्रमण र मेरो भ्रमणबीच कुनै सम्बन्ध छैन । जुन बेला भारतीय विदेश सचिवसँग भारत भ्रमणको कुरा हुँदा सिपिसीका नेताको भ्रमणको बारेमा जानकारी नै थिएन ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?