संजयको संघर्ष : परेवा पालनदेखि वाइल्डलाइफ फोटोग्राफरसम्म (फोटोफिचर)

सन्दीप पौड्याल
Read Time = 10 mins

काठमाडौं । भक्तपुर बोडेका संजय थाः श्रेष्ठ १० बर्ष अगाडीसम्म गाउँ, टोल र साथीभाइबीच मात्र परिचित हुनुहुन्थ्यो । तर उहाँले अहिले आफ्नो परिचय बदल्नु भएको छ । धेरैले उहाँलाई ‘फोटोग्राफर’ वा ‘वाइल्डलाइफ फोटोग्राफर’ भनेर चिन्छन् ।

यो परिचय उहाँलाई कसैले दिएको होइन, यो त रातदिन नभनी उहाँले गरेको मिहेनतको फल हो । अहिले उहाँको अधिकाँश समय मनहरा क्षेत्रमा चराको फोटो खिच्नमै बित्ने गरेको छ । चराको फोटो खिच्ने क्रममै उहाँको क्यामरामा हालसम्म सयभन्दा बढी दुर्लभ प्रजातिका चरा कैद भइसकेका छन् । नेपालमा पहिचान भएका ८९१ प्रजातिका चरामध्ये उहाँले ६१९ प्रजातिका चराको तस्बिर कैद गरिसक्नु भएको छ । जसका लागि उहाँ बिभिन्न संघसंस्थाबाट सम्मानितसमेत भइसक्नु भएको छ ।

यस क्षेत्रमा लाग्नु भन्दा पहिले उहाँलाई परेवा पालक भनेर मान्छेले चिन्थे । हो उहाँ नेपाल परेवा पालक खेल संघमा आवद्ध हुनुहुन्छ । पहिले परेवा पालक संघ हुँदै अहिले खेल संघ भएको छ । तर उहाँले आफ्नो बुवा–बाजेले पालेको परेवा पालनको सोखलाई हालसम्म पनि कायमै राख्नुभएको छ । उहाँका घरमा अहिले पनि सयभन्दा बढी परेवा छन् । ति सबै परेवा उच्च नश्लका विभिन्न देशबाट झिकाइएका हुन् । उक्त परेवा उडानमा प्रयोग हुँदै आएको छ ।

हुन त उहाँ व्यवसायी हो । उहाँको बोडेमा नर्थ पोइन्ट मल, नर्थ पोइन्ट वैक्वेट र सुनसरीमा वर्ड वाचिङ क्याम्प रहेको छ । तर उहाँले व्यवसाय भन्दा पनि आफ्नो सोखलाई पहिलो प्राथमिकता दिनुभएको छ । त्यही सोखले अहिले उहाँलाई समाजमा चिनाएको छ । उहाँ Bird conversation Nepal का आजिवन सदस्यासमेत हुनुहुन्छ । बाल्यकालदेखि चरा प्रजातिमा निक्कै सोख रहेको बताउने संजय शुरुवातमा घरमा पालेको परेवाको फोटो खिच्दा खिच्दै अन्य चराको फोटो खिच्न हौसला मिलेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘मलाई सानैदेखि चरामा बढी नै सोख रहेको थियो । त्यही सोखमा रमाउन शुरुमा सानो क्यामरा किने । घरको छतमा बसेर परेवाको फोटो खिच्न शुरु गरे । त्यसपछि भंगेरा, कौवा, मलेवा, चिल गर्दै चराहरूको फोटो खिच्ने रहर जाग्यो । त्यसपछि राम्रो क्यामरा किने र देशका जंगल जंगल गएर फोटो खिच्न शुरु गरे । त्यहीबाट एउटा, दुईटा गर्दै चराको फोटो खिच्ने रहर बढेको हो ।’

उहाँ फोटो खिच्नकै लागि कोशी टप्पु, चितवन राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रि निकुञ्ज, इलामको सन्दकपुर, अन्नपुर्ण वेश क्याप, विराटनगरको बर्जु तला, उपत्यका आसपासका डाडाँहरूलगायत देशका बिभिन्न स्थानमा पुगिसकेको बताउनुहुन्छ । विश्वबाटै हराएको काँडे भ्याकुर नेपालमा मात्रै पाइन्छ । नगरकोटमा उहाँले काँडे भ्याकुरको पनि फोटो लिनुभएको छ । १४ सयदेखि १८ सय मिटरमा पाइने काँडे भ्याकुर उहाँले ककनीमा पनि फेला पार्नुभएको थियो ।

फोटो खिच्ने क्रममा गैंडाले लखेटेको, जंगली हात्तीले घेरेको, सर्पले टोक्न लागेकोदेखि फोटो खिच्न चरालाई कुर्दा निदाएर भीरबाट लडेकोसम्मको अनुभव उहाँसँग छ । दिनभर क्यामरा बोक्दा उहाँको हातभरी ठेला उठेको छ । एउटा चराको फोटो खिच्न एक सिजनमा नभेटेर अर्को सिजनसम्म कुरेको अनुभव उहाँको छ । संजयलाई शैलेन्द्र भासिङ, विकि अदुवा, चन्द्र चक्रधर, कृष्ण प्रजापति र अम्बर लिम्बुले साथ दिइरहनु भएको छ । उहाँहरू सबै जना संजयका साथी हुन् ।

संजयले पछिल्लो समय चितवन राष्ट्रिय निकुञ्जमा पुगेर चिनियाँ चरा ‘चाइनिज पोन्ड हेगन’को तस्बिर खिच्नु भएको छ । जुन चरा यसअघि नेपालमा रेर्कड भएको थिएन । उहाँका अनुसार उक्त चरा खिच्न रातारात गरेर आफू चितवन पुगेपनि दिनभर कुर्दा पनि चरा नदेखिएपछि काठमाडौं फर्किएर आएको र दोस्रो पटकको प्रयासमा सफल भएको हो । उक्त चरा चीन र भारतमा देखिएपनि नेपालमा भने कम मात्र आउने गरेको छ । संजयले अब एभरेष्ट वेश क्याम्पमा पुगेर चरा खिच्ने ठूलो रहर भएको पनि हिटासंगको कुराकानीमा बताउनुभयो । ‘नेपालको चरा विश्वले हेरुन्’ उहाँ भन्नुहुन्छ, ‘त्यहीं चरा हेर्न विश्वभरबाट मानिस नेपाल आउन् । मेरो चाहना त्यही हो ।’ संजयले दुर्लभ चराको साथै जंगली जनावरको फोटोसमेत खिचिरहनु भएको छ ।

हुन त संजयको यस काममा उहाँको श्रीमतिको पनि ठूलो हात रहेको छ । श्रीमतिको सहयोगले नै आफू यो स्थानसम्म पुग्न सफल भएको उहाँ बताउनुहुन्छ । श्रीमति राजेश्वरी श्रेष्ठले पूरै घर सम्हाल्दा आफू देशका जंगल जंगल जान पाएको उहाँ बताउनुहुन्छ । उहाँको घरमा बृद्ध वुवा, श्रीमति र दुई छोरी हुनुहुन्छ । उहाँको घरको कुरा गर्ने हो भने घरको पूरै जिम्मेवारी संजयमाथि नै छ । त्यस्तोमा पनि उहाँले आफ्नो पेशालाई भने निरन्तरता दिइरहनु भएको छ । संजय उमेरले ४० बर्ष लागनुभएको छ ।

वाइल्डलाइफ फोटोग्राफर आफैंमा कठीन पेशा हो । यसमा सिकेर आएकालाई समेत बन्यजन्तुको फोटो खिच्न कठीन हुने गर्दछ । त्यस्तोमा बिना सिकाई आफ्नै अनुभवले शुरु गुर्नभएको संजयको यस कामको प्रशंशा गर्नै पर्छ ।

संजयको क्यामरामा कैद भएका केही तस्वीर –

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?